सिराज खान 
नेपालगन्ज, फागुन १२ गते । बाँके जिल्लामा सञ्चालन भइरहेको ट्राफिक सप्ताह अन्तर्गतका विभिन्न कार्यक्रमहरू गर्ने क्रममा विभिन्न यातायात समितिका गाडी चलाउने चालक र सह-चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने काम गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र जनसेवा फार्मेसीको संयुक्त आयोजनामा स्वास्थ्य शिविरको आयोजना गरेर नेपालगन्जका यातायात मजदुरहरू खास गरेर गाडीका चालक र सह-चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुबेदीले बताउनुभयो । उहाँले सो शिविरमा नेपालगन्ज बसपार्कबाट छुट्ने लामो दुरीका चालक तथा सहचालक गरी १५५ जनाको सुगर, प्रेसर, कान र आँखा निःशुल्क जाँच गरिएको बताउनुभयो ।
उहाँले सो निःशुल्क शिविरमा नेपालगन्ज अप्टिकल एण्ड भिजन सेन्टरले आँखा जाँच, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्जले कानको जाँच र जनसेवा फार्मेसीले सुगर तथा प्रेसर जाँच गरेको बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीका अनुसार उक्त शिविरमा ८२ जना चालक, ५५ सहचालक र १८ जना विभिन्न समितिका कर्मचारीलाई जाँच गरिएकोमा ९ जनामा प्रेसर देखिएको थियो ।
प्रेसर देखिएका चालक र सहचालकलाई तत्काल औषधी सेवन गर्न तथा नियमित स्वास्थ्य जाँच गराइराख्न सुझाव दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।
ट्राफिक सप्ताह अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण गर्न चालकको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य अवस्था पत्ता लगाउन स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चालकहरूसँग स्वास्थ्य परीक्षण गर्ने समय कम हुने भएकाले उनीहरूलाई स्वास्थ्य बारे सजग गराउन यो कार्यक्रम राखेका हौँ ।’
दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको ट्राफिक सप्ताह अन्तर्गत बाँकेको नेपालगन्ज, कोहलपुर, राँझा र खजुरा लगायत विभिन्न राजमार्गमा ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यसअघि ट्राफिक सप्ताहको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थितिमा नेपालगन्जमा गर्नुभएको थियो ।
.jpg) 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                