काठमाडौँ, चैत १७ गते । गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सिप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु गर्नुभएको छ । यसका लागि उहाँले सशस्त्र प्रहरी बल (एपिएफ) लाई आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालसँगको छलफलका क्रममा गृहमन्त्री गुरुङले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी उक्त कार्यक्रम कार्यान्वयन गर्ने योजना अघि सार्नुभएको हो । बालबालिकालाई प्राकृतिक विपद्का समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गर्ने सरकारको लक्ष्य छ ।
यस कार्यक्रममार्फत विद्यार्थीलाई केवल सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञानसहित आपत्कालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ । सम्बन्धित निकायबिच आवश्यक सहकार्य गरी यो परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल विपद्को उच्च जोखिममा रहेको मुलुक भएकाले विद्यालयस्तरदेखि नै सुरु गरिने यस्तो सचेतनाले भविष्यमा जनधनको क्षति न्यूनीकरण गर्न ठुलो सघाउ पुग्ने विश्वास लिइएको छ ।
