• १२ साउन २०८१, शनिबार

दुग्ध पदार्थ नबिकेपछि कृषक चिन्तित

blog

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापन पत्र बुझाउँदै। तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), फागुन ११ गते। दुग्ध पदार्थ नबिकेपछि कपिलवस्तुका कृषक चिन्तित बनेका छन्। व्यावसायिक रुपमा पशुपालन गर्दै आइरहेका कपिलवस्तुका किसान विगत ६ महिनादेखि दुग्ध पदार्थ नबिकेपछि चिन्तित बनेका हुन्। 

जिल्ला प्रशासन कार्यालयमार्फत विभिन्न निकायमा ज्ञापनपत्र समेत बुझाएका छन्। कृषकले राखेको माग तत्काल सम्बोधन भएन भने कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

कृषकले हाल दुग्ध संकलन बन्द रहेको (मिल्क होलिडे)ले तुरुन्त दुग्ध संकलन गर्नु पर्ने, दुग्ध विकास संस्थान लुम्बिनी आयोजनाले तुरुन्तै दुग्ध पदार्थ खरिद गर्नुपर्ने, दुग्ध विकास संस्थान लगायत निजी डेरीले करिब ६ महिनादेखि भुक्तानी नदिएको दुग्धको रकम तुरुन्तै भुक्तानी दिनुपर्ने माग राखेका छन्। 

त्यस्तै जिल्ला भित्र सञ्चालित दुग्ध डेरीमा गैर नेपाली नागरिकको दुग्ध संकलन गरेको हुनाले तुरुन्तै सबै दुग्ध संकलन केन्द्रमा अनुगमन गर्नुपर्ने, खुला सिमानाले गर्दा चोरी निकासीबाट आएको पाउडर दुधको तुरुन्तै अनुगमन गरी कारवाही गर्नु पर्ने भारतबाट आयतित दुग्ध तथा दुग्ध जन्य पदार्थको आयात तुरुन्तै बन्द गर्नुपर्ने लगायतका माग रहेको छ। 

कृषकले जिल्ला प्रशासन कार्यालय मार्फत कृषि मन्त्रालय तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलवस्तु, कृषि ज्ञान केन्द्र कपिलवस्तु र दुग्ध विकास संस्थान आयोजना, बुटवललाई ज्ञापनपत्र दिइएको छ। 

भुवानीप्रसाद पराजुलीको संयोजकत्वमा धर्मराज पौडेल, केशव पोखरेल, यमलाल पौडेल लगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो।