भक्तिविलास पोखरेल
गाईघाट, चैत २३ गते । उदयपुरको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद सूर्यबहादुर तामाङले मुलुकमा विधिको शासन स्थापना र सुशासनका लागि आफूले प्रतिनिधि सभामा आवाज उठाउने बताउनुभएको छ । अघिल्ला निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी माओवादी र नेपाली कांग्रेसले पालैपालो चुनाव जित्ने गरेका थिए ।
पहिलो पटक उम्मेदवारी दिएका तामाङले उदयपुर निर्वाचन क्षेत्र नं. २ मा १४ हजार ८०२ मत प्राप्त गरेर निर्वाचित हुनुभयो । तामाङले समृद्ध देश बनाउन बेरोजगार युवालाई सिपमा आधारित कृषि, लघु उद्योगसँग जोड्न सके मात्र रोजगारीका लागि हुने युवा पलायन रोक्न सकिने बताउनुभयो ।
मुलुकमा रहेको प्राकृतिक स्रोतको उपभोगबाट देशको समग्र विकास गर्न सकिने सम्भावना औँल्याउँदै कानुन अभावका कारण भएका समस्याको गाँठो संसद्मा फुकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सडक निर्माणदेखि पुल पुलेसा निर्माण, विद्युत् लाइन विस्तार र अन्य विकास निर्माणका काममा वनको नियमले धेरै कानुनी झन्झट देखिएको र योजना समयमा सम्पन्न हुन नसकेको अवस्था छ अब यस्तो कुरा हटाइनु पर्छ ।”
हामीले वातावरणमा खलल नगरी पर्यावरणलाई जोगाएर विभिन्न खानी उत्खनन गर्न र उद्योग सञ्चालन गर्न सकिने उल्लेख गर्दै उहाँले कानुनको अभावमा रोकिएका कुनै पनि विकासनिर्माणका काम अब नरोकिने दाबी गर्नुभयो । उहाँले विधायकको काम कानुन निर्माण गर्ने भए पनि उदयपुर क्षेत्र नं. २ मा रहेका अनेकौँ समस्याको समाधान गर्दै विकासनिर्माणमा आफूकेन्द्रित हुने र चुनावी अभियानका व्रmममा वाचा गरेका मात्र हैन सबै क्षेत्रमा परिणाम देखाउने गरी आमजनताका जनजीविकाका सवालमा इमानदार र पारदर्शी ढङ्गले आफूले काम गर्ने बताउनुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै समस्या देखेको बताउँदै उहाँले कानुन निर्माणसँगै ती समस्या समाधान गर्न सदन र सरकारमा जोडदार रूपले कुरा उठाउने बताउनुभयो । उदयपुर क्षेत्र नं. २ अत्यन्तै विकट भौगोलिक धरातल भएको क्षेत्र भएकाले हाल आमजनताले सास्ती खेपिरहेको सडक यातायातलाई आपूmले पहिलो प्राथमिकतामा राखेर योजना बनाउन लगाउने बताउनुभयो ।
जस अनुसार कटारी घुर्मी सडक, घुर्मी कुमाल्टार कुनाही रसुवाघाट कोशी कोरिडोर सडक, मुर्कुची पुवारे लिम्चुङबुङ सडक, कटारी बाहुनिटार घट्टा हँुदै ताप्लिपोखरी जाने सडक र बेतिनी नुनथला माझखर्क सडकलाई स्तरोन्नति गरी कालोपत्रे सडकमा परिणत गराउन आफूले अहम् भूमिका निभाउने बताउनुभयो । यसबाहेक प्रत्येक पालिकामा एमबिबिएस डाक्टरसहितको अस्पताल सञ्चालन गर्ने, प्राविधिक धारका कृषि पशु र वनसँग सम्बन्धित विषयको अध्ययन अध्यापन हुने विद्यालयमा थप सहयोगको व्यवस्था मिलाउन र गुणस्तरीय शिक्षालाई आफूले जोड दिने बताउनुभयो ।
बुवा पदमबहादुर तामाङ र आमा नन्दकुमारी तामाङका एकल छोरा सूर्यबहादुर तामाङ उदयपुर जिल्लाको कटारी नगरपालिका–७ स्थित मर्जेतपुरगाउँमा जन्मनुभएको हो । मध्यम परिवारमा जन्मिनुभएका सांसद तामाङले स्थानीय त्रिवेणी माध्यमिक विद्यालयबाट अङ्ग्रेजी विषय लिएर १२ कक्षा उत्तीर्ण गर्नुभएको छ ।
यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजय हुनुभएका तामाङले परम्परागत राजनीतिक प्रभावलाई चुनौती दिँदै नेकपा (एमाले) का अम्बरबहादुर रायमाझीलाई सात हजार १५४ को मतान्तरले पराजित गर्दै १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उदयपुर क्षेत्र नं. २ मा जम्मा ९६ हजार १२२ मतदाता रहेकोमा ३९ हजार ५९५ मत मात्र खसेको र तीन हजार ३५७ मत बदर भएको थियो ।
भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना, सडक पूर्वाधारको विकास, वैज्ञानिक तथा व्यावहारिक शिक्षामा जोड र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने उहाँका प्रमुख प्राथमिकता हुन् । उहाँले भन्नुभयो, “नयाँ सोच र स्पष्ट विचारका साथ विकासमा केन्द्रित भएर काम गर्ने मेरो प्रतिबद्धता छ ।”
आफू कुरामा भन्दा कामलाई बढी प्राथमिकता दिने मानिस भएकाले मतदाताले आफूलाई गरेको विश्वास खेर जान नदिने उहाँको भनाइ छ । तामाङले यस क्षेत्रको समग्र विकासलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । सांसद तामाङले यहाँका समस्या र विकासे मुद्दा समाधानका लागि संसद्मा आवाज उठाउने र कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय र बजेट विनियोजनका लागि प्रयास गर्ने बताउनुभयो ।