• १२ साउन २०८१, शनिबार

सुनथराली विमानस्थलको औपचारिक उद्घाटन हुने

blog

बनेको एक वर्षपछि औपचारिक उद्घाटनको पर्खाइमा रहेको सुनथराली विमानस्थल तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, फागुन ११ गते ।
कालीकोटको नररहीनाथ गाउँपालिका–१ कोटवाडामा निर्माण भएको सुनथराली विमानस्थल औपचारिक रुपमा उद्घाटन हुने भएको छ । पटक–पटक औपाचारिक उद्घाटनका लागि मिति तय भए पनि स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ गते सोमबार हुने भएको हो ।

नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँतीसहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र मन्त्रीहरुको सहभागीमा औपचारिक रुपमा विमानस्थलको उद्घाटन हुने जानकारी गराउनुभयो ।

फागुन १४ गते कोटवाडामा आएर विमानस्थलको औपचारिक उद्घाटनमा सहभागी हुन आम नागरिकलाई पनि निम्तो दिइएको छ । यस अघि विमानस्थल उद्घाटनका लागि चार पटक सूचना भएको थियो । पटक–पटकको सूचना भएर स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ मा पनि हुन्छ कि हुन्न भन्ने आशङ्का नागरिकमा छ । तर गाउँपालिका प्रवक्ता बोहोराले भने यो पटक तोकिएकै समयमा विमानस्थल उद्घाटन हुने जानकारी दिनुभयो ।

‘‘फागुन १४ गते सोमबार बिहान १० बजे नै कार्यक्रम राखेका छौं । प्रधानमन्त्रीज्यूले उद्घाटन गर्ने कार्यक्रम भएकाले समयमै सबै सहभागी भइदिन अनुरोध गर्दछु,’’ प्रवक्ता बोहोराले लेखेको निमन्त्रणमा उल्लेख छ ।

ब्यानर छाप्ने काम जारी रहेकाले स्थगित हुँदैन भन्नेमा विश्वास गर्न उहाँले आग्रह गर्नुभयो । गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले पनि फागुन १४ गते औपचारिक रुपमा विमानस्थलको उद्घाटन हुने बताउनुभयो । २०४२ सालमा तत्कालीन जिल्ला विकास समितिको निर्णय अनुसार सुरुमा एक लाख बजेट विनियोजन गरेर निमार्ण कार्य सुरु गरेको विमानस्थल ३८ वर्ष लगाएर निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको एक वर्षसम्म औपचारिक उद्घाटनको पर्खाइमा छ ।