• २ वैशाख २०८१, आइतबार

आर्थिक शक्ति बन्दै जर्मनी

blog

जापानले अर्थतन्त्रमा सुधारको प्रयास गर्दा पनि सफलता मिलेन । कमजोर घरेलु उपभोगका कारण लगातार दुई त्रैमाससम्म अर्थतन्त्र सङ्कुचित भएपछि जापान आर्थिक मन्दीमा फसेको छ । जसका कारण यसको अर्थतन्त्र ४.२९१ ट्रिलियन डलरमा झरेर विश्वको तेस्रो स्थानबाट चौथो स्थानमा पुगेको छ । जर्मनी ४.७३० ट्रिलियन डलरसहित विश्वको तेस्रो ठुलो अर्थतन्त्र बनेको छ ।

जापान अहिले कमजोर मुद्रा, बढ्दो उमेर र घट्दो जनसङ्ख्यासँग सङ्घर्ष गरिरहेको छ । अमेरिकी डलरको तुलना गर्दा येन ९ प्रतिशतले कमजोर हुँदा जापानको अर्थतन्त्र खस्किएको हो । यसअघि सन् २०१० मा चीनको अर्थतन्त्र वृद्धिका कारण जापान दोस्रोबाट तेस्रो स्थानमा झरेको थियो । अहिले अमेरिकाको अर्थतन्त्र २७.९७४ ट्रिलियन डलरसहित विश्वकै पहिलो स्थानमा छ । चीन १८.५६६ ट्रिलियन डलरसहित दोस्रो ठुलो अर्थतन्त्र बनेको छ । 

जापानको अर्थतन्त्र अपेक्षाभन्दा ०.४ प्रतिशतले घटेको छ । जापान सरकारका अनुसार एक वर्षअघिको तुलनामा यसको कुल गार्हस्थ उत्पादन २०२३ को अन्तिम तीन महिनामा अपेक्षाभन्दा ०.४ प्रतिशतले सङ्कुचित भएको हो । अघिल्लो त्रैमासमा जापानको अर्थतन्त्र ३.३ प्रतिशतले सङ्कुचित भएको थियो । अर्थविद्हरूले गत वर्ष जापानको कुल गार्हस्थ उत्पादनमा १ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण गरेका थिए । कुनै पनि देशको अर्थतन्त्र लगातार दुई त्रैमाससम्म सङ्कुचित भएमा त्यसलाई प्राविधिक रूपमा मन्दी मानिन्छ । गएको अक्टोबरमा अन्तर्राष्ट्रिय मुद्रा कोषले जर्मनी छिट्टै विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्न सक्ने प्रक्षेपण गरेको थियो । 

पछिल्लो समय जापानी मुद्रा येन डलरको तुलनामा निरन्तर कमजोर भएको छ । कमजोर येनका कारण निर्यातको नाफामा कमी आएको छ । श्रमिक अभाव र घट्दो जन्मदर अर्को चिन्ताको विषय बनेको छ । यद्यपि येनको कमजोरीले जापानका केही ठुला कम्पनीको सेयर मूल्य बढाउन मद्दत गरेको छ किनभने यसले विदेशी बजारमा देशको निर्यात सस्तो बनाएको छ । स्टक एक्सचेन्ज निक्केई पनि सन् १९९० पछि पहिलो पटक ३८ हजार नाघिसकेको छ । कुल गार्हस्थ उत्पादनमा गिरावट आएसँगै केन्द्रीय बैङ्कले ऋणको ब्याजदर हेरफेर गर्ने सङ्केत गरेको छ । खर्चलाई बढावा दिने उद्देश्यले केन्द्रीय बैङ्कले सन् २०१६ मा ब्याजदर नकारात्मक दरमा राखेको थियो । यसले गर्दा येनप्रति विश्वव्यापी लगानीकर्ता कम आकर्षित भए र यसले मुद्रालाई कमजोर बनायो ।

अर्थतन्त्रको आधा हिस्साका रूपमा रहेको जापानको निजी उपभोग ०.२ प्रतिशतले घटेको छ । जापानी उपभोक्ताले खाना, इन्धन र अन्य सामानका लागि उच्च मूल्यहरूको सामना गरिरहेका कारण उपभोग खर्च घट्न पुगेको हो । जापानले आफ्नो आधारभूत ऊर्जा आवश्यकताको ९४ प्रतिशत र खाद्यान्न आवश्यकताको ६३ प्रतिशत आयात गर्ने गर्छ । त्यसैले येनको मूल्य कमजोर बन्दा जीवनयापन महँगो भएको छ । 

पछिल्लो पटक जापानमा सन् २०२१ को अक्टोबर ३१ मा संसदीय आमनिर्वाचन भयो । निर्वाचित प्रधानमन्त्री फुमियो किसिदाले नयाँ आर्थिक कार्यक्रम ल्याउनु भयो । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका तर्फबाट उहाँले मुलुकको अर्थतन्त्रमा सुधार, राष्ट्रिय सुरक्षा र आमनागरिकको जीवनरक्षा प्रमुख प्राथमिकता भएको बताउनुभएको थियो । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) भित्रै नेतृत्वको कडा आलोचना भएसँगै योसिहिदे सुगालाई विस्थापित गरी किसिदालाई नेतृत्व प्रदान गरिएको थियो । 

तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि सन् २०२० को सेप्टेम्बरमा सुगा प्रधानमन्त्री बन्नुभयो । मुलुकमा व्याप्त कोरोना महामारी नियन्त्रण गर्न उहाँले छ महिना सङ्कटकाल लगाउनुभयो । यही महामारीबिच ओलम्पिक खेलकुद सम्पन्न भयो तर कोरोना व्यवस्थापनमा कमजारी भयो भनी सुगाको व्यापक आलोचना भयो । त्यही भएर उहाँले प्रधानमन्त्रीबाट राजीनामा गर्नुभयो । एलडिपीकै प्रभावशाली नेताका रूपमा किसिदा चुनिनुभयो । प्रधानमन्त्री किसिदामा लामो राजनीतिक अनुभव भएका कारण उहाँले मुलुकलाई सहजै निकास दिनुहुने अपेक्षा गरिएको थियो तर परिस्थिति सोचे जस्तो सहज भएन । 

जापान विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको औद्योगिक मुलुकबाट चौथो अर्थतन्त्रमा झर्नुलाई सरकारको कमजोरीका रूपमा हेरिएको छ । तैपनि जापान विश्वकै प्रमुख दाताकै रूपमा चिनिएको छ । त्यहाँका तीन चौथाइ मानिस सहरमा बस्छन् । १२ करोड ६५ लाख जनसङ्ख्या रहेको जापानको क्षेत्रफल तीन लाख ७७ हजार ८६४ वर्ग किमी छ । त्यहाँको मुख्य भाषा जापानी, धर्म सिन्तो र बौद्ध हो । औसत आयु पुरुषको ८१ वर्ष र महिलाको ८७ वर्ष रहेको छ । जापानी शान्तिप्रिय र सहयोगी छन् । राष्ट्रप्रमुखका रूपमा सम्राट् नारुहितो हुनुहुन्छ । त्यहाँको संविधानले प्रधानमन्त्री नै कार्यकारी हुने व्यवस्था गरेको छ । मानार्थ सम्राट् आस्थाको केन्द्रबिन्दु हो । सन् २०१९ मा तत्कालीन सम्राट् अकिहितोले राजगद्दी त्यागेपछि नारुहितो सम्राट् बन्नुभएको हो ।

दोस्रो विश्वयुद्धसम्म जापान आक्रामक रूपमा प्रस्तुत हुँदै आएको थियो । आक्रामक बन्दा जापानले छिमेकी मुलुकमाथि कब्जा जमाए पनि छिमेकीको विश्वास गुमाएको थियो । आक्रामक जापानी सेनाले चीन र कोरियालगायतका मुलुकमाथि कब्जा जमाएर जापान निकै शक्तिशाली भएको थियो । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा, नागासाकी, टोकियोलगायत स्थानमा अणुबम प्रहार गरी व्यापक जनधनको क्षति पु¥याएपछि यो मुलुक चरम सङ्कटमा फस्यो । मुलुक तहसनहस भयो अनि मात्र जापान युद्ध परित्याग गरी विकासनिर्माणका साथै शान्ति र मेलमिलापमा केन्द्रित भयो । फलस्वरूप जापानले छोटो अवधिमै अकल्पनीय प्रगति ग¥यो । जापानको विस्तारवादी इतिहासका कारण चीन र उत्तर कोरियासित राम्रो सम्बन्ध कायम हुन सकेको छैन । अझै पनि तुस र प्रतिशोध कायमै छ । 

दोस्रो विश्वयुद्धमा अमेरिकासित हारेको जापानले युद्धबाट हात झिकेको अमेरिकासितै मैत्रीपूर्ण सम्बन्ध स्थापना ग¥यो । फलस्वरूप यी दुई देशबिचको सम्बन्ध अहिले सुमधुर छ । हिन्द–प्रशान्त क्षेत्रमा युद्ध र द्वन्द्व बढाउने गतिविधि बन्द गराउन चीन र उत्तर कोरियासित पनि सम्बन्ध सुधार गरी सहमतिको बिन्दुमा पुग्नु पर्छ । अहिले कमजोर भएको जापानको अर्थतन्त्र पुनः लयमा फर्काउन सरकार र जनताबिच सहकार्य जरुरी भएको छ । 

उता अर्थतन्त्रमा सुधार गरी तेस्रो ठुलो अर्थतन्त्र बन्न सफल जर्मनी उत्साहित देखिएको छ । त्यहाँ संयुक्त सरकारको संस्कृति मौलाएको छ । २०२१ सेप्टेम्बर २६ मा सम्पन्न संसदीय आमनिर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि फेरि पनि संयुक्त सरकार बनेको हो । दोस्रो विश्वयुद्धयता जर्मनीमा कुनै पनि दलले एकल बहुमत ल्याउन सकेका छैनन् । 

निर्वाचनमा सत्तारूढ क्रिस्चियन डेमोक्रेटिक पार्टीभन्दा विपक्षी सोसल डेमोक्रेटिक पार्टीले बढी सिट जितेसँगै सो पार्टीका नेता ओलफ स्कोल्जाले अन्य साना दुई दल ग्रिन पार्टी र लिबरल पार्टीसँग मिलेर संयुक्त सरकार बनाउने बताउनुभएको हो । धेरै सिट जितेर ठुलो पार्टी बनेको सोसल डेमोक्रेटिक पार्टीले निर्वाचनमा जलवायु परिवर्तनलाई मुख्य मुद्दा बनाएको थियो । विश्वकै लागि प्रमुख समस्या भएको जलवायु परिवर्तनलाई सन्तुलित बनाउन प्रमुख भूमिका निर्वाह गर्ने सो पार्टीले प्रतिबद्धता व्यक्त गरेको छ । जर्मनी युरोपमा सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हो । 

जर्मनीका पहिलो महिला चान्सलर एन्गेला मर्केलले १६ वर्ष शासन गरेर राजनीतिबाट बिदा लिनुभयो । त्यहाँ भएको संसदीय निर्वाचनमा उहाँले उम्मेदवारी दिनु भएन । सन् २००५ पछि लगातार १६ वर्षसम्म चान्सलरले निर्वाचनअघि नै राजनीतिबाट बिदा लिने घोषणा गर्नुभएको थियो । मर्केलले गठबन्धन संस्कृतिको विकास गरी तीन कार्यकाल शासन गर्नुभयो । उहाँको कार्यकालमा मुलुकलाई थप शाक्तिशाली बनाउने काम भयो । जर्मनीको प्रभाव विश्वमै बढ्यो । 

जर्मनी विभिन्न उतारचढाव पार गरी आजको सम्पन्न अवस्थामा आएको मुलुक हो । सन् १८७१ मा पहिलो पटक जर्मनी एकीकरण भएको थियो । मध्य युरोपका प्रसा, बवेरिया, स्याक्सोनीलगायत ३९ वटा स्वतन्त्र राज्य एकीकरण गरी जर्मनी निर्माण गरिएको हो । तत्कालीन चान्सलर विस्मार्क र सम्राट् विलियम प्रथमको नेतृत्वमा यो चुनौतीपूर्ण कार्य सम्पन्न गरिएको थियो । 

एकीकरणपछि क्रमशः शक्तिशाली बनेको जर्मनीले प्रथम र दोस्रो विश्वयुद्ध लड्यो । दुवै युद्धमा पराजित भयो । युद्धमा अकल्पनीय क्षति भोग्नु प¥यो । पहिलो विश्वयुद्ध सन् १९१४ देखि १९१९ सम्म भयो । यो युद्ध हारसँगै जर्मनीमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भयो । सन् १९३३ मा एडोल्फ हिटलर नाजी पार्टीका तर्फबाट जर्मनीका चान्सलर बने । उनले तानासाही शासन चलाए । हत्या, हिंसा र आतङ्कले मुलुक जर्जर बन्यो । उनको कार्यकालमा ६० लाख यहुदी मारिए । उनको लहडले दोस्रो विश्वयुद्ध झन् घातक बन्यो । यो युद्धमा जर्मनी पराजित भएसँगै हिटलरले आत्महत्या गरे । मुलुक विभाजित भयो । पूर्वी जर्मनीमा कम्युनिस्ट शासन र पश्चिम जर्मनीमा प्रजातान्त्रिक शासन स्थापना भयो । सन् १९५५ मा पूर्वी जर्मनी वार्सामा र पश्चिम जर्मनी नेटोमा आबद्ध भए । 

सन् १९५७ मा पश्चिम जर्मनी युरोपेली आर्थिक सङ्घको संस्थापक सदस्य बन्यो । दुई जर्मनीबिच तनाव बढ्दै गएपछि सन् १९६१ मा बर्लिन पर्खाल निर्माण गरियो । यो पर्खालले पूर्वी जर्मनीका नागरिक पश्चिम जर्मनीमा जान रोक लगायो । सन् १९७० मा पश्चिम जर्मनीका चान्सलर बिली ब्रान्टले पूर्वी जर्मनीसँगको तनाव कम गर्ने प्रयासस्वरूप वार्ता आरम्भ गर्नुभयो । विभिन्न चरणमा वार्ता भए । तनाव कम हुँदै गयो । 

सन् १९८९ मा सोभियत सङ्घ विघटन भयो । त्यसलगत्तै बर्लिन पर्खाल पनि ढल्यो । त्यसको एक वर्षपछि सन् १९९० मा हेल्मुट कोलको नेतृत्वमा जर्मनीको पुनः एकीकरण भयो । जर्मनीको पुनः एकीकरणले युरोपलाई बलियो बनायो । कोल एकीकृत जर्मनीको चान्सलर बन्नुभयो । उहाँले सन् २००५ सम्म जर्मनीको नेतृत्व गर्नुभयो । 

जर्मनी तीन लाख ५७ हजार २७ वर्ग किमी क्षेत्रफलमा फैलिएको युरोपको ठुलो औद्योगिक मुलुक हो । यहाँको जनसङ्ख्या आठ करोड ३० लाख छ । मुख्य भाषा जर्मन र मुख्य धर्म इसाई रहेको यो मुलुकको औसत आयु पुरुषको ७८ वर्ष र महिलाको ८३ वर्ष छ । जर्मनीको लामो संस्कृति, परम्परा, भाषा र इतिहास छ । जर्मनहरू आफूलाई विश्वमै अब्बल ठान्दछन् । महिला नेतृत्व झन् अब्बल हुन्छ भनेर मर्केलले प्रमाणित गर्नुभयो । 

जर्मनीमा प्रधानमन्त्रीलाई चान्सलर भनिन्छ । त्यहाँ चान्सलर नै कार्यकारी हुने र राष्ट्रपति मानार्थ हुने व्यवस्था छ । वर्तमान चान्सलर ओलफ स्कोल्जाको प्रभावकारी नीति तथा कार्यक्रमको सफलताले तेस्रो ठुलो अर्थतन्त्र भएको मुलुक बन्न सफल जर्मनीले यो ताज कायम राख्न थप मेहनत गर्नुपर्ने छ ।