• १२ साउन २०८१, शनिबार

भीमसेनको पूजाअर्चना

blog

काठमाडौँ, फागुन १० गते । नेवार समुदायले भीमसेनको पूजाअर्चना गरी बुधबार ‘भिं द्वादशी’ (माघ शुक्ल द्वादशी) मनाएको छ । 

भीमा द्वादशी पनि मानिने यस दिन भीमसेनको पूजा गरी ‘समयबजी’ खाने चलन छ । भिन्द्यः र भीमसेन एकै हुन् वा फरक भन्ने विषयमा दुई मत रहे पनि यस दिन सबैले समान रूपमा पूजा गर्ने गर्छन् ।

विशेष गरी व्यापार तथा समृद्धिका लागि पुजिने भिन्द्यः (भीमसेन) भीमा एकादशीमा व्रत बस्ने मान्यता रहेको संस्कृतिविद् ओम धौभडेलले जानकारी दिनुभयो । भीमा एकादशीका दिन भीमसेनको मन्दिरमा विशेष पूजा गरी भोलिपल्ट अर्थात् भिं द्वादशीका दिन घर, मन्दिर तथा पसल चोखो गरी ‘समयबजी’ राखेर भव्य पूजा गरी घरमा प्रसाद खाने चलन रहेको जानकारी उहाँले दिनुभयो । 

धौभडेलका अनुसार भीमसेनको पूजा गरेमा व्यापार व्यवसाय वृद्धि हुने, घरमा सुखशान्ति हुने, रोगबाट मुक्त हुने तथा घरमा शुभ हुने जनविश्वास छ । यस दिन परम्परागत रूपमा टोखा, भीमसेनस्थानलगायतका ‘भिं द्यः’ मन्दिरमा विशेष घुइँचो लाग्ने गर्छ । एकदशीका दिन बेलुका ‘भिं द्यः’ को मूर्तिलाई विशेष आभूषणले सजाइन्छ । भीमा द्वादशीका दिन बिहानदेखि भक्तजनको ठुलो घुइँचो लाग्छ । यस दिन दाफा भजन खलःहरूले विशेष भजनकीर्तनसमेत गर्ने गर्छन् । ललितपुरमा रहेको भीमसेन मन्दिरमा पूजा परिक्रमा गरी प्राचीन नगरभित्रका सबै भीमसेनस्थान घुम्ने गरिन्छ । 

यसै गरी दक्षिण ललितपुरका ठेचो, चापागाउँ, सुनाकोठी, धापाखेल आदि बस्तीमा देवपूजा अर्थात् कुलपूजा मनाइने गरिन्छ । ठेचो क्षेत्रमा कुलपूजा मात्र नभई माधवनारायण जात्रा पनि हुने गर्छ । पिङ्गल क्षेत्रबाट सुरु हुने यस जात्रामा सहस्रधारा बगाई शरीरमा बत्ती बालेर दीप दानसमेत गर्ने गरिन्छ ।