• १२ पुस २०८१, शुक्रबार

फागुन ७ को आयाम

blog

जनस्तरबाटै हर्षोल्लासका साथ मनाइँदै आएको राष्ट्रिय दिवसको नाम लिनुपर्दा फागुन ७ गते विशेष स्मरणीय दिन हुन आउँछ । १०४ वर्षदेखि निरन्तर चल्दै आएको जहानियाँ हुकुमी राणा शासन अन्त्य गरी प्रजातन्त्र घोषणा गरिएको दिनको स्मरण राजनीतिक कालखण्डका हरेक चरणमा गरिँदै आएको छ । २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्रको उद्घोष भएको दिन हो । यो दिनसम्म आइपुग्न नेपाली जनताले धेरै ठुलो त्याग, तपस्या र बलिदान गरेको इतिहास साक्षी छ । तत्कालीन राजा त्रिभुवनको समेत साथ पाएर राणा शासनको अन्त्य गरिएकाले प्रजातन्त्र स्थापनार्थ तत्कालीन राजाको भूमिकालाई पनि नकार्न सकिँदैन । यद्यपि प्रजातन्त्र घोषणा गरिँदै विधान सभाको निर्वाचन र सोही सभाले विधिविधान बनाई देशको शासन व्यवस्था चल्ने मार्गचित्रमै गणतन्त्रको बीज निहित थियो । सात सालपछि मार्गचित्र अनुरूप राजनीति विकासक्रम अगाडि बढेन ।

सङ्क्रमणकालीन अवस्था लम्बिँदै गएर आठ वर्षपछि मात्र २०१५ फागुन ७ गते संसदीय निर्वाचन भयो । जननिर्वाचित नेपाली कांग्रेसको दुई तिहाइको सरकारलाई २०१७ सालमा अपदस्थ गरी प्रधानमन्त्री बिपी कोइरालासहित नेताहरूलाई काराबास राखेर एकतन्त्रीय पञ्चायती व्यवस्था लादियो । यसपछिका तीन दशक प्रजातान्त्रिक हक अधिकारबाट विमुख नेपाली जनताको निरन्तर सङ्घर्षको बलले २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना त भयो तर पूर्ण प्रजातन्त्रप्रतिको जनचाहना अधुरै थियो । जनअधिकारमा राजतन्त्र बाधक बनेपछि बाधा पन्छाउनैपर्ने भयो । राजनीतिक कालखण्डका यिनै आयामहरूको जगबाट २०६२/६३ को जनआन्दोलनको बलले राजतन्त्र अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्भव भयो । 

पछिल्लो राजनीतिक परिवर्तन हुनुभन्दा अघिसम्म ‘प्रजातन्त्र’ शब्दलाई निकै लोकप्रिय मानिँदै आएकोमा पछिल्लो चरणमा आएर ‘लोकतन्त्र’ शब्दले ज्यादा महत्व पाएको देखिन्छ । यद्यपि लोकतन्त्र र प्रजातन्त्रमा तात्त्विक भिन्नता नभएको राजनीतिक विश्लेषकहरूको गहन मत छ । २००७ सालमा स्थापित प्रजातन्त्रको सोपानबाटै लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा सफल भएका कारण यस दिनको महिमालाई नेपाली नागरिकले कदापि भुल्ने छैनन् ।

निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आवाज उठाउनु भनेको आफ्नै काललाई निम्त्याउनु थियो । पुस्तकालय, धार्मिक संस्था तथा पाठशाला खोल्नेसमेत कारबाही गरिएको अवस्था प्रजापरिषद् नामको राजनीतिक संस्था खोलेर राणा शासनको विरुद्धमा जेहाद छेड्ने वीर सपुतहरूको योगदान अविस्मरणीय छ । यसै पृष्ठभूमिमा नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गरेर राणा शासनलाई घुँडा टेकाएकै कारण दिल्ली सम्झौताले राणा युग अन्त्य भयो । राजा त्रिभुवनलाई राणाहरूको आँखा छलेर २००७ कात्तिक २१ गते भगाएर भारतीय दूतावासमा राखी कात्तिक २६ गते दिल्ली पु¥याउन सफल हुनुले कांग्रेसको आन्दोलनलाई थप बल पुगेको स्पष्ट छ । 

तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेर दिल्ली पुग्न बाध्य भए र फागुन ७ का निम्ति नयाँ राजनीतिक विकासक्रम आरम्भ भयो । फागुन ४ गते राजा त्रिभुवन स्वदेश फर्किनुहुँदा हजारौँ जनताले स्वागत गरेका थिए । सोही दिन नै नेपाली कांग्रेसका नेताहरू विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर, जिबी याक्थुम्बा, पुरणसिंह खवासलगायत प्रवास जान बाध्य बनाएका नेता स्वदेश फर्किए । सहमति अनुसार फागुन ७ गते राजा त्रिभुवनद्वारा शाही सम्बोधनमार्फत प्रजातन्त्रको घोषणा भएको इतिहास छ ।

मुलुकको राजनीतिक, सामाजिक तथा शैक्षिक इतिहासमा फागुन ७ गतेको महत्व विशेष किसिमको रहिआएको छ । यथार्थमा भन्नुपर्दा २०६२–६३ को जनआन्दोलनबाट स्थापित उपलब्धिको जग भनेकै जनक्रान्तिको बलमा स्थापित फागुन ७ को त्यो ऐतिहासिक दिन हो । सात सालको क्रान्तिबाट प्राप्त राजनीतिक उपलब्धि केही वर्षमै खोसिएको भए पनि मुलुकको शैक्षिक, सामाजिक तथा चेतनास्तरमा भएको परिवर्तनले थप क्रान्तिको जग बस्यो । सामाजिक जागरणका कारण निरङ्कुश शासन लामो समयसम्म टिक्न सकेन । फागुन ७ ले ल्याएको जागरण नै अहिलेको राजनीतिक उपलब्धिको जग भएको तथ्यलाई राजनीतिक वृत्तमा नकार्न सकिँदैन । 

लोकतन्त्रको विकल्पमा अर्को कुनै उन्नत व्यवस्था विश्वमा कतै स्थापित छैन । यस कारण पनि फागुन ७ गतेको विशेष महत्व भएको हो । राजनीतिक उतारचढावका बिच यदाकदा यस दिनको महिमा कम गर्ने गरेको देखिए पनि जनआकाङ्क्षा अनुसार प्रजातन्त्र दिवस पुनः भव्य रूपमा मनाउने गरी प्रधानमन्त्रीको अध्यक्षतामा ‘प्रजातन्त्र दिवस मूल समारोह समिति’ नै गठन गरिएर जनअभिमतको कदर भएको छ । राष्ट्रिय पर्वको रूपमा मुलुकभर मनाउनुले यस दिनको गरिमा थप वृद्धि गर्न लोकतन्त्रलाई अझ जनजीवनको हरेक आयाममा प्रतिविम्बित गर्दै लैजानु वाञ्छनीय छ ।