• १० मंसिर २०८२, बुधबार

बजारबाट गाउँ फर्किएर सुन्तला खेतीमा योगेन्द्रमान शेरचन

blog

सुन्तला खेतीमा योगेन्द्रमान शेरचन। तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर १० गते। एकदशक भन्दा बढी बेनी बजारमा बसोबास गर्दै आउनुभएका मंगला गाउँपालिका ४ बरंजाका योगेन्द्रमान शेरचन गाउँ फर्किएर व्यवसायिक सुन्तला खेती सुरु गर्नुभएको छ। 

बरंजाको अर्भल्याङमा करिब ७ रोपनी क्षेत्रफलमा उहाँले सुन्तला खेती विस्तार गर्नुभएको हो। बेनीमा बसेर निर्माण व्यवसायीका रुपमा समेत काम गर्नुभएका शेरचन सो पेसा समेत छाडेर गाउँमा सुन्तला खेती थाल्नुभएको छ। 

सहरबजारमा वस्नुभन्दा आफ्नै गाउँठाउँमा बसेर कृषि तथा फलफूल खेती गर्दा आत्मसन्तुष्टी हुने भएकाले गाउँ फर्किएर सुन्तला खेती सुरु गरेको उहाँले बताउनुभयो। गहुँ,मकै र कोदो बाली लगाउने बारीमा नगदे बाली सुन्तला लगाउँदा राम्रो आम्दानी हुने भएकाले व्यवसायिक रुपमा सुन्तला खेती सुरु गरेको शेरचनले बताउनुभयो। 

सिँचाई हुने खेतमा धान खेती र कोदो मकै हुने खेतबारीमा सुन्तलाका बोट लगाएको उहाँको भनाई छ। सुन्तला खेतीका लागि बरंजा उर्वरभूमि भएकाले यहाँका अधिकांश किसान पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका छन्। 

नयाँ पुस्तालाई कृषि पेसाप्रति आकर्षित गर्न पनि आफू बजारबाट गाउँ फर्किएको उहाँले बताउनुभयो। सडक सुविधासँगै सुन्तलाले सहज बजार र उचित मूल्य पाउन थालेपछि यहाँका अधिकांश किसानहरु सुन्तला खेती तर्फ आकर्षित भएका छन्। सुन्तलाको बगानबाट अग्रिम रुपमा पेश्की दिएर व्यवसायीले लैजाने गरेको उहाँले बताउनुभयो। ६० देखि ८० रुपियाँ सम्ममा बिक्री हुने गरेको कृषक शेरचनले बताउनुभयो। 

सुन्तला खेती विस्तारका लागि किसानले ‘सोलिघोप्टे कृषक समूह’ मा आबद्ध भएर स्थानीयले सुन्तलाको व्यावसायिक खेती विस्तारमा लागेको शेरचनले बताउनुभयो।