• १० मंसिर २०८२, बुधबार

पाण्डेको अध्यक्षतामा एनसीएनसी गठन

blog

अमेरिका, मङ्सिर १० गते । ददिन पाण्डेको अध्यक्षतामा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को मंगलवार नयाँ कार्यसमिति गठन भएको छ । एनसीएनसी नर्थ क्यारोलाइनास्थित नेपालीहरुको सर्वाधिक ठूलो संस्था हो ।नवगठित कार्यसमितिको कार्यकाल दुइ वर्ष (२०२६–२०२७) रहनेछ ।

कार्यसमितिका सम्पूर्ण पदाधिकारीको चयन सर्वसम्मत रुपमा भएको एनसीएनसी निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. युवराज कँडेल, उपाध्यक्षमा ईश्वरी ढकाल र महासचिवमा डा. अञ्जु गिरी निर्वाचित हुनुभएको छ । 

त्यसैगरी, संस्थाको सहसचिवमा सुष्मा केसी र कोषाध्यक्षमा अभिषेक पोखरेल निर्वाचित हुनुभएको छ । संस्थाको कार्यसमिति सदस्यमा गीता बस्नेत, दिवाकर जैसवाल, निरज अधिकारी, सुमन गौतम र शेलेष्टा न्याछ्योन सर्वसम्मत नियुक्त हुनुभएको छ । नवगठित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोह भने डिसेम्वर २८ मा आयोजना हुनेछ ।

स्वास्थ्य बीमा प्रदायक संस्थामा वरिष्ठ लेखा विशेषज्ञका रुपमा कार्य गरिरहनु भएका नवनिर्वाचित अध्यक्ष पाण्डेले नेपाली समाजलाई अझ मजबुत र एकजुट बनाएर अगाडि बढाउन आफू हरतरहले लाग्ने विश्वास व्यक्त गर्दै स्थानीय सिनेटरहरुसँग मिलेर नेपालीले भोग्दै आएका विविध समस्याको समाधानतर्फ पाइला अघि बढाउने बताउनुभयो । उहाँले सामुदायिक भवन निर्माणको प्रयासलाई मूर्तरुप दिने विश्वास पनि व्यक्त गर्नुभयो । 

निवर्तमान कार्यसमितिले नयाँ समितिलाई हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सहयोगको लागि आभार पनि व्यक्त गरेको छ । 

Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।