• ११ मंसिर २०८२, बिहिबार

मोटरसाइकल चोर पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सर्लाही । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, मङ्सिर ११ गते । सर्लाहीको चन्द्रनगरमा बिहीबार बिहान मोटरसाइकल चोरी गरेर भाग्दैगरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

चन्द्रनगर गाउँपालिका –७, नाढी टोल बस्ने रोहन कापरको प्रदेश २–०३–०११ प ९१३० नम्वरको मोटरसाइकल चन्द्रनगर गाउँपालिका –६, लोदवा टोलबाट चोरी भएको थियो । कापर ब्रह्मपुरी गाउँपालिकाको पडरिया गाउँमा जन्ती गएर घर फर्कदै गर्दा बिहीबार बिहान साढे ४ बजेतिर लोदवा गाउँनजिक बाटोमा मोटरसाइकल रोकेर शौच गर्न जाँदा मोटरसाइकल चोरी भएको हो । 

उक्त मोटरसाइकल चोरी गरेर भाग्दैगर्दा चन्द्रनगर गाउँपालिका –३, कोरियाही टोल बस्ने २५ वर्षीय बिनकुमार महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहले जानकारी दिनुभयो । इन्स्पेक्टर सिंहका अनुसार मोटरसाइकल चोरीमा संलग्न महतोलाई थप अनुसन्धानका लागि बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखिएको छ । 

जताततै मोटरसाइकल चोरीको घटना बढेर हैरान भइरहेको अवस्थामा प्रहरीले बिहीबार चन्द्रनगरमा मोटरसाइकल चोरी गरेलगत्तै चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।