• ६ जेठ २०८१, आइतबार

बागमती गोल्डकप : सेमिफाइनल समीकरण पूरा

blog

आइतबार भएको खेलमा म्यान अफ दि म्याच घोषित आर्मीका फत्तेमान घले ।

राममणि दाहाल

हेटौँडा, फागुन ६ गते । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आइतबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई ४–० गोलले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल खेलको समीकरण पूरा भएको हो । 

बागमती गाउँपालिका ८ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा आर्मीको तर्फबाट जिलेस्पी जङ्ग कार्कीले खेलको पहिलो हाफको २६औँ मिनेटमा, रास बुढा मगरले दोस्रो हाफको आठौँ, फत्तेमान घलले १८औँ मिनेटमा र कमल थापाले ३०औँ मिनेटमा समान एक एक गोल गर्नुभएको थियो  । 

खेलको म्यान अफ दि म्याच आर्मीका फत्तेमान घोषित हुँदै नगद १० हजार रुपियाँ प्राप्त गर्नुभएको छ । सेमिफाइनल प्रवेशसँगै आर्मीले अब फाइनल प्रवेशका लागि मङ्गलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

यसअघि एपीएफसहित मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) सेमिफाइनल प्रवेश गरिसकेका छन् । प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिमबिच हुने भएको छ ।

प्रतियोगिताको फाइनल खेल यही फागुन १० गते हुने भएको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपियाँसहित शिल्ड र  उपविजेता टिमले पाँच लाख रुपियाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपियाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपियाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।