• ९ असार २०८२, सोमबार

प्रदेश सभामा उठाउने विषयवस्तुबारे ध्यानाकर्षण

blog

प्रदेशमा आयोजित कार्यशालाका सहभागी । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, असार ९ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतका सरोकार पक्षले  त्यहाँका प्रदेश सभा बैठकमा उठाउनुपर्ने विषयवस्तुबारे प्रदेश सभा सदस्यलाई ध्यानाकर्षण गराएका छन् । प्रदेश सभामा दलित, जनजाति, महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको आर्थिक, सामाजिक सवाललाई कम प्राथमिकता दिएको हुँदा अबका बैठकमा उनीहरूका सवाललाई प्राथमिकता दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका हुन् । 

संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश र कर्णाली प्रदेश सभा सचिवालयले आइतबार आयोजना गरेको ‘संसदीय निगरानी र सार्वजनिक सुनुवाइका लागि सवाल पहिचान’ विषयक कार्यशालामा सरोकारवाला पक्षले कर्णाली प्रदेश सभा बैठकमा उठाउनुपर्ने सवाल पनि बुँदा प्रस्तुत गरेका छन् । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका विजय विकले यौनिक अल्पसङ्ख्यकको पक्षमा प्रदेश सभा बैठकमा कहिल्यै आवाज नउठेको बताउनुभयो । समाजमा त्रास र लाजका कारण समाजमा खुल्न नसकेको उनीहरूलाई सहज बनाइदिन प्रदेश सभा बैठकमा आवाज उठाइदिनुपर्ने र उनीहरूलाई आत्मनिर्भर बनाउनका लागि कार्यक्रम तथा बजेटको पनि व्यवस्थापन गर्न माग उहाँले गर्नुभयो । 

सुर्खेत उद्योग वाणिज्य सङ्घका उपमहासचिव पूर्णदेव अधिकारीले प्रदेश सरकारले दिने गरेको अनुदान दुरुपयोग भइरहेको आरोप लगाउनुभयो । उहाँले कर्णाली प्रदेशमा लगानी भित्र्याउन न नीति बनाइएको छ, न त सहज वातावरण छ भन्दै प्रदेश सभा बैठकमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालको योजना नआएको गुनासो गर्नुभयो ।  

मुस्लिम समुदायका अकबर खाँले बजेट तथा कार्यक्रममा मुस्लिम समुदायलाई  विभेद गर्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेश सभा बैठकमा पनि मुस्लिम समुदायको सवालको विषयमा छलफल नभएको बताउनुभयो । मानव अधिकार रक्षक सञ्जालका प्रदेश अध्यक्ष पीताम्बर ढकालले मानव अधिकार रक्षकको संरक्षण गर्ने विधेयक तयार पारिए पनि पारित हुन नसकेको जनाउनुभयो । उहाँले प्रदेश सभा सदस्यलाई कानुन बनाउँदा मानव अधिकार मैत्री बनाउनसमेत सुझाव दिनुभयो ।

 आदिवासी जनजाति महासङ्घका प्रदेश अध्यक्ष वीरबहादुर रावत भोटेले प्रदेश सरकारले गरेको लगानीको अनुगमन गर्न आग्रह गर्नुभयो भने द्वन्द्वपीडित ममता नगालले एकल महिला सुरक्षा कोष स्थापनामा प्रदेश सरकारले चासो नदिएको उल्लेख गर्नुभयो । दलित अगुवा टेकेन्द्र विश्वकर्माले कर्णालीमा जातीय विभेद र छुवाछुत हुने गरे पनि त्यसको रोकथामा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । 

कार्यक्रममा कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेले प्रदेश सभा सबै जनताको पक्षमा आवाज उठाउने थलो भएको जनाउनुभयो । उहाँले प्रदेश सभा सदस्यले बैठकमा सबैलाई न्याय हुने गरी सवाल पहिचान गरेर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । कांग्रेस सचेतक हिक्मतबहादुर विष्ट, एमाले सचिव टेकराज पछाईं, माओवादी केन्द्रका सचेतक कृष्णबहादुर जिसीलगायत विषयगत समितिका सभापतिले जनताका सवाललाई प्रदेश सभा बैठकमा उठाउने प्रतिबद्धता जनाउनुभयो । उहाँहरूले विगतमा पनि जनताका सवाललाई प्राथमिकताका आधारमा उठाइरहेको स्मरण गर्दै आगामी दिनमा पनि जनताले गुनासो नगर्ने गरी आवाज उठाउने बताउनुभयो । प्रदेश सभा भनेको कानुन बनाउने थलो भएकोले प्रदेश सभा सदस्यले पनि यस कामलाई प्राथमिकता दिएको उहाँहरूको भनाइ छ ।