गोरखापत्र अनलाइन
काठमाडौँ, असार ९ गते । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । असार ८ देखि १४ गतेसम्म गरिने कार्यक्रममा प्राज्ञिक विमर्श, सामाजिक सेवा, स्वास्थ्य शिविर, कला प्रदर्शनी र राष्ट्रिय सम्मेलनजस्ता विविध गतिविधिहरू समावेश गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
२०५८ सालमा स्थापित कलेजले हालै मात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको थियो । यही खुसियाली र वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका कार्यक्रमहरू स्थानीय समुदाय, अभिभावक, विद्यार्थी र प्राज्ञिक क्षेत्रलाई लक्षितगरी आयोजना गरिएको क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिनुभयो।
कार्यक्रमको आकर्षणको रूपमा सोमबार (आज) आयोजना हुने बृहत् स्वास्थ्य शिविर रहेको आयोजकले जनाएको छ। कलेज प्राङ्गणमा हुने शिविरमा ब्लड डोनर्स एसोसिएसन नेपाल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम, समाज डेन्टल अस्पतालद्वारा दन्त परीक्षण, भेनस अस्पतालद्वारा सामान्य स्वास्थ्य तथा स्त्रीरोग परीक्षण, तिलगंगा आँखा प्रतिष्ठानद्वारा आँखा परीक्षण र ‘मेक थिङ्स ह्यापन’ नामक संस्थाद्वारा मनोसामाजिक परामर्श सेवा प्रदान गरिनेछ।
कलेजले आफ्नो शैक्षिक यात्रामा महत्त्वपूर्ण फड्को मार्दै भविष्यमा एआई, साइबर सेक्युरिटी र डेटा साइन्सजस्ता अत्याधुनिक विषयहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ। हाल कलेजमा पत्रकारिता, समाजशास्त्र, व्यवस्थापन, विज्ञान, कानुनलगायत स्नातक र स्नातकोत्तर तहमा अध्यापन गराइन्छ । ११ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिसकेको यस कलेजमा ४ हजारभन्दा बढीले उपाधि हासिल गरी देश–विदेशमा विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्टता प्रस्तुत गरिरहेको क्याम्पस प्रमुख डा. अधिकारीले बताउनुभयो ।
विद्यार्थीको व्यावहारिक ज्ञान र व्यावसायिक क्षमता अभिवृद्धिका लागि कलेज परिसरमै ‘रेडियो श्वेत शार्दूल ९३.६ मेगाहर्ज’ सञ्चालनमा छ। साथै, अनुसन्धानमा आधारित पठनपाठनलाई प्रवर्द्धन गर्न ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स’ र विद्यार्थीको सिर्जनात्मक लेखनलाई प्रोत्साहित गर्न वार्षिक पत्रिका ‘श्वेत शार्दूल’ प्रकाशन गर्दैआएको छ।
वार्षिकोत्सव सप्ताहअन्तर्गत कला प्रदर्शनी, राष्ट्रिय सञ्चार सम्मेलन, साहित्यिक क्याफे, ‘प्रहरीसँग विद्यार्थी’ अन्तरक्रिया र विभिन्न खेलकुद तथा सृजनात्मक प्रतियोगिताहरू पनि आयोजना हुने जनाइएको छ । साताव्यापी कार्यक्रमको समापन असार १४ गते शनिबार राष्ट्रिय सभागृहमा आयोजना हुने ‘मदन जयन्ती समारोह’ तथा कलेजको ‘मूल वार्षिकोत्सव समारोह’ बाट हुनेछ। सोही समारोहमा वर्षभरि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिने क्याम्पस प्रमुख डा. अधिकारीले बताउनुभयो ।