जयकृष्ण यादव
इनरुवा, असार ९ गते । सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड नौ लाख ३७ हजार एक सय सात रुपियाँको बजेट प्रस्तुत गरेको छ ।
कोशी गाउँपालिकाको १९ औं गाउँसभा अध्यक्ष ऐयुब अन्सरीले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा भत्ता बाहेक विभिन्न विकासात्मक योजनाका लागि रकम विनियोजन गर्नुभएको छ ।
यसैगरी, अध्यक्ष अन्सारीले विभिन्न विधामा उत्कृष्टलाई सम्मानित गर्नुभएको छ । सभामा राजस्व सङ्कलनमा उत्कृष्ट काम गरेको भन्दै कोशी गाउँपालिका १ नम्बर वडा कार्यालयलाई सम्मानित गरिएको छ । सुनसरीको कोशी गाउँपालिकाका ८ वटा वडामध्ये सबैभन्दा धेरै राजस्व सङ्कलन गरेकाले कोशीको १ नम्बर वडा कार्यालयलाई सम्मानित गरिएको हो ।
कोशी गाउँपालिकाको १९ औं गाउँसभामा सम्मान पत्रसहित कोशी १ नम्बर वडा कार्यालयको सम्मान पत्र वडा अध्यक्ष सोभितलाल यादवलाई प्रदान गरिएको छ ।
सभामा वडा नम्बर १ वडा कार्यालयसहित उत्कृष्ट कर्मचारी सम्मानबाट जिन्सी शाखा प्रमुख अधिकृत श्यामकिशाेर मण्डल, नियमित अनुशासित कर्मचारीतर्फ सुशीला साह, निर्माण कम्पनीतर्फ थोमस कन्ट्रक्सन एण्ड सप्लायर्सलाई पनि सम्मान गरेको छ ।
यसैगरी, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले १८ औं गाउँसभाबाट वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षको बजेट ६० करोड ३६ लाख ५० हजार रुपियाँ रहेको गाउँ सभामार्फत सार्वजनिक गरेको छ ।
गाउँ सभा मार्फत बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले आर्थिक वर्ष २०८२/०८३ का लागि विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक संरचना र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
अध्यक्ष आजादले “कृषि पेसामा आधारित किसानहरुलाई कृषिकरणमा थप मदतका लागि कृषि मोटर बोडिङ्ग , निःशुल्क स्वास्थ्य बिमा, सडक तथा बाटो कालोपत्र, मर्मत, महिलाको उद्यमशीलता र क्षमतामा अभिवृद्धि, ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता, पोलबती जडान लगायत गाउँपालिका समृद्धि” भन्ने नीति, कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
सभामा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेस गाउँ एकाइ सभापति युवराज दाहाल, गाउँपालिकाका उपाध्यक्ष सुनिता उराँव, प्रमुख प्रसासकिय अधिकृत विनोद अधिकारी , वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मी मेहता, वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी ,वडा नम्बर ३ का वडा अध्यक्ष धीरेन्द्र यादव, वडा नम्बर ४ का वडा अध्यक्ष हारुण अन्सारी, वडा नम्बर ५ का वडा अध्यक्ष हबिब मन्सुरी, वडा नम्बर ६ का वडा अध्यक्ष सेराजुद्धिन अंसारी,७ का वडा अध्यक्ष बौवालाल यादव र ८ का वडा अध्यक्ष उषमान मियाँ , वडा सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिति थियो ।
यसैबिच भोक्राहा नरसिंह गाउँपालिकाको १८ औं गाउँसभाको अवसरमा स्थानीय पत्रकार सुरेन्द्र मेहतासहित गाउँपालिकाका उत्कृष्ट पाँच जना कर्मचारीलाई सम्मान गरेको छ ।
नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला कार्यक्रम समिति सदस्यसमेत रहनुभएका मेहतालाई सञ्चार क्षेत्रबाट निरन्तर सेवामा समर्पित भई समाज परिवर्तनमा प्रभावकारी योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीमा हीरा साहसहितलाई दोसल्ला ओडाइ, सम्मान पत्रसहित भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनीताकुमारी उराँव र प्रमुख प्रसासकीय अधिकृत विनोद अधिकारीले सम्मान गर्नुभएको थियो ।