रामकृष्ण बोहरा
बागलुङ, असार ९ गते । पश्चिम बागलुङको ताराखोला गाउँपालिकाले ‘गुरिल्ला ट्रेकिङ पदमार्ग’ बनाउने भएको छ । ६३ किलोमिटर दूरीको गुरिल्ला ट्रेकिङ पदमार्गमा जनयुद्धताका तत्कालीन माओवादी लडाकु हिँडेका गोरेटो बाटो, तालिम लिएका सेल्टर र भीडन्तका घटना भएका स्थानहरु समेटिने छन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ४० लाख रुपियाँ बजेटबाट पदमार्ग रेखाङ्कनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइसकेको छ । पदमार्गमा पाँच दिनसम्म यात्रा गरेर सकिने गरी विभिन्न स्थानमा घरबासको समेत व्यवस्थापन र टेन्ट टाँगेर भए पनि बस्न मिल्ने स्थान बनाइनेछ । उक्त बजेटबाट पालिका प्रशासनिक केन्द्र रहेको अर्गलस्थित भातखाने डाँडादेखि दन्थुगरास्थित शहिद स्मृति पार्क जोड्ने पदमार्गमा स्लेट ढुङ्गा बिछ्याउने काम भएको छ ।
भात खाने डाँडादेखि सहिद स्मृति पार्क हुँदै थामी, म्याग्दीको बरंजाधुरी, ताराखोलाकै तीनचुले, मालारानी, देउराली नयाँवन, चिनार, तिनचुले, डुडेलेकसम्म पदमार्गको रेखाङ्कन गरिएको छ । डुडेलेकबाट जुल्फे, गाईघाट झरना, मोतीमारे, माझखर्क, धम्जा देउराली, सोलीघोप्टेबाट पुनः अर्गललाई पदमार्गले समेट्नेछ । यो पदमार्गमा ताराखोलाकै सबैभन्दा अग्लो डुडेलेक र होचो गाईघाट झरना समेटिने छन्।
‘‘जनयुद्वका सहिदहरुको सम्झना र युद्वकालीन अवशेषहरुको सङ्ग्रह गर्ने लक्ष्यसहित गुरिल्ला ट्रेकिङ पदमार्ग बनाउने योजना छ’’ गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले भन्नुभयो । पदमार्गमा समेटिएको मेतीमारे र चिनार माओवादीका तालिम केन्द्र थिए । अर्गलको दन्थुगरामा भने सहिद स्मृति पार्क निर्माण भैसकेको छ । तीनचुले र ठूलो हिलेमा घरबासमार्फत पर्यटकलाई खानेबस्ने व्यवस्था भैरहेको छ ।
पुराना गोरेटा भएको स्थानमा सोही गोरेटा मर्मत गर्ने, नभएको स्थानमा ढुङ्गा छापेर पदमार्ग बनाउने गरी योजना बनेको छ । गोरेटोको रुपमा मात्र काम सम्पन्न गर्दा १५ करोड ६४ लाख २६ हजार रुपियाँ लाग्ने लागत अनुमान छ । ढुङ्गा बिछ्याएर पदमार्ग सम्पन्न गर्न ४७ करोड ८१ लाख ५० हजार रुपियाँ लाग्ने डिपिआर बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल विकले बताउनुभयो । संघ सरकारको बजेटमा साझेदारी गरेर पदमार्ग निर्माण गर्ने पालिकाको लक्ष्य छ ।
आमा समूहहरुले पर्यटकको वासस्थानको व्यवस्थापन गर्नेगरी पालिकाले उनीहरुलाई तालिम प्रदान गरेको छ । ताराखोलामा उत्पादित भाँगो, टिमुर, सिमी, आलु, मुला, रातो च्याउ, कोदो र फापरको ढिँडोलगायतका अर्गानिक खाना खुवाइनेछ । यो पदमार्गमा मौलिक बस्तीहरु घुम्न पाइने, भेडीगोठदेखि खर्कको अवलोकन, रैथाने खाना तथा सांस्कृतिक विविधतामा रमाउन सकिनेछ । पदमार्गलाई व्यावसायिक बनाएर ताराखोलाले प्रशस्त पर्यटक भित्र्याउने लक्ष्य राखेको विकले बताउनुभयो ।