• ९ असार २०८२, सोमबार

बागलुङ नगर स्ट्रिट नम्बरको काम अलपत्र

blog

बानपा-१ रामरेखामा १० महिनादेखि स्ट्रिट नम्बरका लागि गाडिएर छोडिएको पोलहरू । तस्बिर : नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), असार ९ गते । बागलुङ बजारलाई पर्यटकमैत्री बनाउन थालिएको योजना अलपत्र परेको छ । नगरभित्र गल्ली ‘स्ट्रिट’ नम्बर राख्ने योजना १० महिनादेखि अधुरै रहेको छ । 

नामकरणको पर्खाइमा रहेका पोलहरू कतै सडक विस्तार तथा संरक्षणको अभावमा क्षति भएपछि नगरपालिकाले काम सम्पन्नतामा चासो नदिएको हो ।

नगरपालिकाले स्ट्रिट नम्बरको नाममा पोल निर्माण र गाड्ने काममा तीन लाख १८ हजार भुक्तानी भइसकेको छ भने स्ट्रिट नम्बर राख्ने विषयमा नगरपालिका एक वर्षदेखि अन्योलमै रहेको छ ।

बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक साउनमै स्ट्रिट नम्बरका पोल गाड्न थालिएको थियो । नगरपालिकाले स्ट्रिट नम्बरको नाममा एक सय स्थानमा गाडेका पोलहरू प्रयोगविहिन भएका छन् । प्राविधिक रूपमा अध्ययन नगरी पोल गाड्दा नगरपालिकालाई पोलले गिज्याइरहेको मात्रै छैन आर्थिक क्षति समेत भएको छ । विशेषगरी पर्यटकहरुलाई गन्तव्य पहिल्याउन सहजताका लागि बागलुङ बजारका एक सय स्थानमा स्ट्रिट नम्बर राख्न थालिएको थियो ।

बागलुङ नगरपालिकाले नगर पर्यटन विकास समितिमार्फत बागलुङ बजारका चोक तथा गल्लीमा स्ट्रिट नम्बर राख्न थालेपनि १० महिना बित्दा समेत नम्बर राख्न नसकिएको हो ।

प्राविधिक रूपमा अध्ययन नगरी हचुवाको भरमा नगरपालिकाले नगरका चोक तथा गल्लीमा गाडेका बेनामे पोलहरूले अहिले स्थानीयलाई गिज्याइरहेको छ। स्थानीय थानेस्वर सुवेदीले नगरपालिकाको अदुरदर्शीता झल्काउने योजनाहरू बारम्बर दोहोइरहेको बताउनुभयो । बास्कोटाले सस्तो लोकप्रियताका नाममा नगर पर्यटन विकास समितिले नगरपालिका मार्फत पोल गाडेर १० महिनासम्म अलपत्र छोडेको बताउनुभयो ।

उहाँले असारमा सडक कालोपत्र गर्ने, नाली बनाउने र झण्डापार्कमा झण्डा फेर्ने कामले नगरपालिका सस्तो लोकप्रियतामा हिँडेको उदाहरण पेस गरेको बताउनुभयो । “अध्ययन गरेर पोल गाड्नुपर्ने हो, केही पोलहरू त हराउन थालेका छन्, नम्बर नराख्ने पोलहरूको काम भएन, बर्खामा बागलुङ बजार कालोपत्र गर्न थालिन्छ, सडक नाली बनाउन थालिन्छ, वर्षभरी के काम गर्छ र असारमा आएर नगरपालिका कस्सिन्छ,” सुवेदीले भन्नुभयो “नगरपालिका दिगो विकास र अध्ययन पश्चात योजना नल्याएर सस्तो लोकप्रियताका लागि योजनाहरू ल्याउने गरेको नमूना स्ट्रिट नम्बरका पोलहरू हुन् ।”

झण्डापार्क हेर्दा राम्रो देखिएपनि वर्षै पिच्छे झण्डा फेर्दा नगरपालिकाको खर्च बढेको उहाँको भनाइ छ । उहाँले बर्खामा झण्डा झिकेर हिउँदमा राख्नुपर्ने सुझाव समेत दिनुभयो । प्राविधिक रूपमा स्ट्रिट नम्बर राख्न समस्या भएको बागलुङ नगरपालिकाका उपप्रमुख तथा नगर पर्यटन विकास समितिका संयोजक राजु खड्काले बताउनुभयो ।

“पोखराको लेकसाइडमा राखिएको स्ट्रिट नम्बर जस्तै व्यवस्थित रूपमा बागलुङ बजारमा स्ट्रिट नम्बर राख्न थालिएको थियो, गल्ली, उप र सहायक गल्लीका कारण प्राविधिक रूपमा नम्बर राख्न सकिएन, टोल र मार्गको नामकरण गर्ने योजनामा छौं” खड्काले भन्नुभयो “पर्यटकहरू अलमलिएको अवस्थामा टोल–टोल पहिचानका लागि स्ट्रिट नम्बर राख्न खोजिएपनि असफल भएको हो, बागलुङ बजारलाई पर्यटकी सहर बनाउने योजना अनुसार अब पोलहरूमा मार्गको नामाकरण गरिने छ ।”

खड्काले जिल्लाको कालिका मन्दिर, लामो झोलुङ्गे पुल र पञ्चकोट आएका पर्यटकलाई बागलुङ बजार भित्राउने हाम्रो मुख्य लक्ष्य भए पनि गल्ली धेरै हुँदा समस्या भएको थियो । स्थानीय समुदायको सुझाव र समन्वयका आधारमा स्ट्रिट नम्बर राख्दा बागलुङ बजारलाई पर्यटकीय नगरी बनाउने कामलाई सहज बन्ने खड्काको भनाइ छ । स्ट्रिट नम्बरका लागि पोल निर्माण र पोल गाड्ने कार्यका लागि तीन लाख २२ हजार बजेटमध्ये तीन लाख १८ हजार भुक्तानी भइसकको छ । पोलमा स्ट्रिट नम्बर नामाकरणका लागि भने स्टमेट र भुक्तानी नभएको बागलुङ नगरपालिकाले जनाएको छ ।