• ८ असार २०८२, आइतबार

३१ दिनको पैदल यात्रापछि प्रधानमन्त्रीसँग भेट : नयाँ स्वरूपमा अघि बढ्ने प्रतिबद्धता

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुँदै सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुग्नु भएका नवराज बोहरा। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, असार ८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेट्नुभएको छ।  

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गर्नुभएका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुग्नुभएको थियो। 

सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण भेट नपाउनुभएको हो। 

बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराउनुभयो। 

प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिई आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गर्नुभयो।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुरा सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताउनुभयो।