हरिकृष्ण ऐडी
मुगु, असार ९ गते । जिल्लाको खत्याड गाउँपालिका वडा नं–४ पैखुमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुको जानकारी अनुसार दुर्घटनामा परि खत्याड गाउँ पालिका वडा नं–४ की ५२ वर्षीया सारदा थापाको घटनास्थलमै मृत्यु भएको छ। माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब सात सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक सरोज गरीले बताउनुभयो ।
घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेकोले थप उपचारका लागि छिमेकी जिल्ला जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको गरीले बताउनुभयो ।
उहाँले भन्नुभयो स्थानीय बाट घटनाको जानकारी पाएपछि तत्काल प्रहरी चौकी माँझचौर र इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको हो।
हाल घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सरोज गरीले जानकारी दिनुभयो।