• ९ असार २०८२, सोमबार

आठराई त्रिवेणीले सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने

blog

आठराई त्रिवेणी गाउँपालिकाको कार्यालय ।

साहारा लिम्बू 

फुङ्लिङ, असार ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भएको छ । गाउँपालिकाले पालिका भित्रका २९ परिवारलाई जग्गा उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाको २१औं गाउँ सभामार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि जग्गा उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ । पालिकाका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले सोमबार बजेट प्रस्तुत गर्नुहुँदै सुकुम्वासीका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ। 

त्यस्तै पालिकाले कृषिलाई विशेष प्राथमिकतामा राखेको छ । अध्यक्षसँग किसान कार्यक्रमका लागि ४० लाख बजेट ल्याएको छ । सोही कार्यक्रम मार्फत कफीलाई ब्रान्डिङ गरिने गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले बताउनुभयो । यो वर्ष पालिकामा १० हजार कफीको बिरुवा रोप्ने लक्ष्य रहेको अध्यक्ष पोमुको भनाइ छ ।

आर्थिक वर्ष २०८२–८३ का लागि कृषिका लागि करिब एक करोड बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।