• ९ असार २०८२, सोमबार

घाम पावरलाई ५० हजार डलरको जलवायु पुरस्कार

blog

घामको शक्तिबाट पम्प सञ्चालन गरिँदै ।

काठमाडौँ, असार ९ गते । नेपालको सौर्य ऊर्जा प्रवर्धनमा सक्रिय संस्था घाम पावरले ५० हजार अमेरिकी डलर राशिकाे सन् २०२५ को ‘किलिङ  प्राइज’ प्राप्त गर्न सफल भएको छ । 

जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रभावकारी समाधान प्रस्तुत गर्ने संस्था मानिँदै आएको घाम पावरलाई ऊर्जा क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै उक्त अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

उक्त घोषणा हालै केन्याको नैरोबीमा सम्पन्न ‘टेड काउन्टडाउन समिट’ मा गरिएको हो । सो सम्मिटमा विश्वभरिका अग्रणी व्यक्तित्व र जलवायु क्षेत्रका नवप्रवर्तनकर्ता सहभागी भएका थिए । कार्यक्रममा घाम पावरलाई ऊर्जा वर्ग ‘इनर्जी क्याटोरी’ अन्तर्गत छनोट गरिएको हो ।

सौर्य ऊर्जामार्फत ग्रामीण विकास र जलवायु सहनशीलता निर्माणको पहललाई मान्यता

पुरस्कारस्वरूप घाम पावरलाई ५० हजार अमेरिकी डलर प्रदान गरिएको छ, जसको प्रयोग कम्पनीले नेपालको दुर्गम तथा सेवा वञ्चित क्षेत्रहरूमा सौर्य ऊर्जाको पहुँच विस्तार गर्न, प्रदूषणकारी डिजेलजस्ता इन्धनको सट्टा स्वच्छ ऊर्जाको प्रवर्धन गर्न तथा कार्बन उत्सर्जन घटाउन गर्ने छ ।

विश्वका दुई हजार पाँच सयभन्दा बढी प्रतिस्पर्धी संस्थाबिच घाम पावर उत्कृष्ट १० संस्थामा पर्दै विजेता बन्न सफल भएको हो । वित्तीय संयन्त्र र प्रविधिको संयोजनमार्फत ग्रामीण समुदाय तथा उद्योगलाई स्वच्छ ऊर्जा उपयोगमा सशक्त बनाएको घाम पावरको अभियानलाई निर्णायकहरूले उच्च मूल्याङ्कन गरेका थिए ।

हालसम्म कम्पनीले नेपालका विभिन्न भूगोलमा चार हजाभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू सम्पन्न गरिसकेको छ । 

ती परियोजनामार्फत घाम पावरले न केवल घरायसी तथा व्यावसायिक विद्युतीकरणमा योगदान पुर्‍याएको छ, तर स्वास्थ्य सेवा, कृषि प्रणाली र जलवायु सहनशीलता प्रवर्धनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

घाम पावरका कार्यकारी निर्देशक अन्जल निरौलाले भन्नुभयो, “जलवायु जोखिमहरू तीव्र रूपमा बढिरहेका बेला समुदाय(केन्द्रित र नवीनतम समाधानहरूको खाँचो अत्यावश्यक छ । हामी स्वच्छ ऊर्जा प्रवर्धनका माध्यमबाट जलवायु सङ्कट समाधानतर्फ अघि बढ्ने आफ्नो प्रतिबद्धतामा दृढ छौँ ।”

यो पुरस्कारले नेपालको स्वच्छ ऊर्जा यात्रा तथा दिगो विकास अभियानलाई थप बल दिएको बताइएको छ ।

संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘यो सफलता नेपालको स्वच्छ ऊर्जा यात्राको गर्वको उपलब्धि हो र यसले घाम पावरले विश्वव्यापी रूपमा जलवायु सहनशीलता र दिगो समाधानका क्षेत्रमा देखाएको नेतृत्वलाई उजागर गर्दछ।’’

जलवायु सङ्कट तीव्र बन्दै गइरहेका बेला, घाम पावरले समुदाय–केन्द्रित र नवप्रवर्तनमा आधारित र दिगो भविष्य निर्माणको यात्रामा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।