• ९ असार २०८२, सोमबार

कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध

blog

कोरिडोरमा गएको पहिरो । फाइल तस्बिर

तिलाचन पाण्डे

तम्घास(गुल्मी), असार ९ गते । पहिरोका करण शुक्रबादेखि बन्द रहेको कालीगण्डकी कोरिडोर एक तर्फी सञ्चालनमा आएको १२ घण्टा नपुग्दै पुनः अवरुद्ध भएको छ  ।

कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियोे । शुक्रबार बिहान सडक माथिबाट ठुलो ढुङुगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको र आइतबार राती एकतर्फी रूपमा सञ्चालनमा आएको भए पनि सोमबार दिउँसोबाट पुनः अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिनुभयो । 

आइतबार राति र सोमबार बिहान ठुलो पानी परेका कारण सोही स्थानमा माथिबाट पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको उहाँको भनाइ छ । 

कालीगण्डकी काेरिडोर गैँडाकोट राम्दी मालढुङ्गा सडक योजना कार्यालयका प्रमुख कल्पना अधिकारीका अनुसार निरन्तर माथिबाट पहिरो खसिराखेका कारण सडक खुलाउन समस्या भएको र समय लाग्ने बताउनुभयो । आइतबार रातिबाट एकतर्फी रूपमा सडक खुलाए पनि सोमबारबाट सडक पुनः अवरुद्ध रहेको उहाँले बताउनुभयो ।  

उक्त स्थानको नजिकै एक्साभेटर र चालक रहेकाले पहिरो झर्ने क्रम रोकिएपछि सडक खुलाउन लाग्ने उहाँले बताउनुभयो । तत्कालका लागि एक्साभेटहरु तयारी अवस्थामा राखी सडक खुलाउने र दीर्घकालीन रूपमा उक्त स्थानमा पहिरो रोकथामका लागि अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जसका लागि आफूहरूले सम्बन्धित निकायमा लेखि पठाएकाले अध्ययन हुनेमा आफू ढुक्क रहेको उहाँको भनाइ छ ।

वर्षातको समयमा जोखिम बढी हुने भएकाले सर्तकता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खबर गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।