अनिल पराजुली
हेटौँडा, असार ९ गते । मकवानपुरमा ट्रकले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिका– २ फाँटबजारमा ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्री घाइते भएका हुन् । आइतबार साँझ ट्रकले ठक्कर दिँदा थाहा नगरपालिका फाँटबजार बस्ने ८० वर्षीय पद्मकुमारी बस्नेत घाइते हुनुभएको हो ।
भित्री सडक खण्डमा फाँटबजारबाट पालुङतर्फ तरकारी लोड गरी आएको बा.प्र.०१–००४ क ४१३६ नं.को ट्रकले सडक छेउमा हिँडिरहनुभएकी बस्नेतलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
ट्रकले ठक्कर दिँदा बस्नेतको दाहिने पाखुरामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका लागि ल्याएकोमा थप उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिका–५ पिप्लेमा मोटरसाइकलले ठक्कर दिँदा एक जना बालिका घाइते हुनुभएको छ । बारा कोल्वि नगरपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–५ पिप्ले डेरा गरी बस्ने भूपेन्द्र चौधरीको छोरी चार वर्षीय प्रियङ्का चौधरी मोटरसाइकलको ठक्करबाट घाइते हुनुभएको हो ।
हेटौँडा बजारबाट क्याम्प डाँडातर्फ जाँदै गरेको ना.५६ प.९९३३ नम्बरको मोटरसाइकलले भित्री रोडमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा टाउकोमा चोट लागेको र उपचारका लागि हेटौँडा अस्पतालमा लगिएको थियो । मोटरसाइकल चालक मकवानपुर बकैया गाउँपालिका–२ झल्ला बस्ने ३२ वर्षीय निरबहादुर थोकर र मोटरसाइकललाई नियन्त्रणमा लिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता संजय सिंह थापाले जानकारी दिनुभयो ।