• ९ असार २०८२, सोमबार

वृन्दावनको नगर अधिवेशन रोक्न उच्च अदालतको अन्तरिम आदेश

blog

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), असार ९ गते ।
रौतहटको वृन्दावन नगरपालिकाको नगरसभा स्थगित गर्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत जनकपुरको अस्याथी इजलास वीरगन्जका न्यायाधीश हरिप्रसाद जोशीको एकल इजलासले यही असार १० गते गर्न भनिएको वृन्दावन नगरपालिकाको नवौँ बजेट अधिवेशन तत्कालका लागि यथास्थितिमा राख्न आन्तरिक आदेश जारी गरेको हो ।

वृन्दावन नगर उपप्रमुख सङ्गीतादेवी रामले नगरसभा तत्काल स्थगित गर्न अदालतमा उत्प्रेषणयुक्त परमादेशको माग गरेपछि अदालतले वृन्दावन नगरपालिकाको कार्यालय रौतहटलाई विपक्षी बनाउँदै पालिका कार्यालयको नाममा नगरसभा नगर्न अन्तरिम आदेश दिएको हो ।

नगरसभाको सन्दर्भमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएको भन्दै यो मुद्दाको पेसी अदालतले यही असार १३ गरेका लागि तोकेको छ ।

नगरसभाको विषयमा छलफल गर्न अदालतले असार १३ गते नगर उपप्रमुख राम र विपक्षी दुवैलाई अदालतमा बोलाएको छ ।
असार १३ गते छलफल भई कुनै निष्कर्ष न निस्केसम्मका लागि नगरपालिका द्वारा असार १० गते बोलाइएको नगरसभा नगर्नु, नगराउनु भनी अन्तरिम आदेश दिएको अदालतको पत्रमा उल्लेख छ ।

अदालतले असार १३ गतेसम्मका लागि नगर अधिवेशन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै अब वृन्दावन नगरपालिकाले असार १३ गतेसम्म नगर अधिवेशन गर्न नपाउने भएको छ ।

नगर प्रमुख विनोद प्रसाद कुर्मीले आफूसँग कुनै राय सल्लाह नै नगरी एकलौटी ढङ्गले नगरसभा गर्न लागेपछि आफूले अदालत गएर नगरसभा स्थगित गर्न मुद्दा हालेको उप–प्रमुख सङ्गीता देवी रामले बताउनुभएको छ ।