गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ९ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ठुलो योगदान गर्ने कृषिक्षेत्रको सर्वाङ्गीण विकासबिना राष्ट्रिय समृद्धि असम्भव भएको बताउनुभएको छ ।
उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रमको स्थापना कार्यशालालाई आइतबार सम्बोधन गर्दै मन्त्री अधिकारीले राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारी सिर्जना र गरिबी निवारणमा कृषिक्षेत्रबाट विगतका दशकदेखि नै महत्वपूर्ण योगदान रहँदै आएकाले यस कार्यक्रमले कृषिक्षेत्रको दिगो विकासमा थप सहयोग गर्ने
अपेक्षा गर्नुभयो । मन्त्री अधिकारीले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० वटा पालिकामा सञ्चालनमा आएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमले कृषि पारस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवर्धनमार्फत उच्च मूल्य कृषि वस्तुको प्रवर्धन गर्दै बजारीकरणमार्फत साना कृषकको आयआर्जन र गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ छ ।
विगतदेखि नै परम्परागत खेती प्रणालीबाट उत्पादन भइरहेका बालीको व्यवसायीकरण गरी मूल्य शृङ्खलाको विकासमार्फत निर्यात प्रवर्धन गर्न सके कृषकको जीवनस्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा समेत ठुलो टेवा पुग्ने मन्त्री अधिकारीको भनाइ छ ।
आठ वर्ष अवधिका लागि लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेश अन्तर्गत २० जिल्लाका ८० पालिकामा लागु हुने यस कार्यक्रमले नाफामूलक, समावेशी र पर्यावरणीय दिगो खाद्य प्रणालीको अवलम्बनमार्फत युवा, महिला, जनजाति र आदिवासीको सशक्तीकरण गर्दै गरिबी निवारण र साना कृषकको उत्थानशीलता सुधार गर्ने लक्ष्य लिएको छ ।
मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस कार्यक्रममार्फत बुटवल उपमहानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको कृषि बजार निर्माण गरी सञ्चालन गरिने जानकारी दिनुभयो ।