काठमाडौँ, असार ९ गते । आफूले बिर्सिसकेको मनभित्रको घाउ फेरि बल्झिँदा एउटी नारीको जीवनमा अनेक पीडा थपिन्छ । उनीभित्र सहन गर्न सक्ने कुनै बाटो हुँदैन । चर्चित नाटक ‘डेथ एन्ड दी मेडन’ मा आधारित ‘मञ्जिरा : दी म्युटेड मेलोडी’ ले एउटी पीडा बोकेकी नारीको सङ्घर्षको कथा बताउँछ ।
पीडा नै पीडा भरिएको मञ्जिरा (सरस्वती चौधरी) को जीवनको त्यो याद निकै भयानक छ । उनले भुलिसकेको त्यो एउटा धुनको कारणले फेरि उनलाई क्रोधित बनाउने काम गर्छ । करिब २० वर्षपछि सुनेको त्यो धुनले उनलाई फेरि अतीतमा फर्काउँछ । जब उनको सामना आफूलाई चकनाचुर बनाउनेसँग हुन्छ, त्यसपछि उनीभित्र बदलाको भाव बढ्दै जान्छ । मञ्जिरा र उनी जस्तै द्वन्द्वपीडित नारीका लागि राज्यले उच्चस्तरीय सत्य निरूपण छानबिन आयोग गठन गरेको छ । आयोगका अध्यक्ष गोपाल (सरोज खनाल) पीडित र पीडक कवीन्द्र (अनुप न्यौपाने) दुवै आमनेसामने हुँदा पनि अनभिज्ञ देखिन्छन् । उनी पीडक कवीन्द्रकै पक्षमा हुन् कि भन्ने भान हुन्छ । यता वकिल श्रीमती शान्ति (सरिता गिरी) मा आफूले छाडिसकेको वकिल पेसा जागृत हुन्छ । उनी मञ्जिरा र उनको श्रीमान् प्रेम (सुशाङ्क मैनाली) को पक्षमा उभिन्छिन् ।
पीडितले न्याय पाउँछिन् वा पाउँदिनन् । न्याय पाउनका लागि उनी के कस्तो समस्याबाट गुज्रनु पर्छ ? कि सधैँ पीडितले यस्ता कुरा सहेर मात्र बस्नपर्ने हो । यी सबै कुरा निर्योल नाटकले दिन खोजेको छ । द्वन्द्वमा महिलाले भोग्नु परेको पीडा, यौन हिंसा र सामाजिक दबाबका कुरासँगै नाटक अघि बढ्छ । नाटकले द्वन्द्वको समयमा देखिएको पीडा, क्रुरता र भयावहलाई प्रस्तुत गरेको छ । न्याय भन्नेबित्तिकै मौन बस्ने समाज, न्याय प्रणाली र राज्यबाट मञ्जिराले न्याय पाउँछिन् कि पाउँदिनन् भनेर प्रश्न गरिएको छ ।
मञ्जिराको भूमिकामा देखिनुभएकी चौधरीको अभिनय तारिफयोग्य छ । उहाँले मानसिक यातनाबाट गुज्रिएकी, पीडा बोध भएकी नारीको भूमिकालाई जीवन्त रूपमा नाटकमा उतार्नुभएको छ । उहाँको अनुहारमा देखिएको आक्रोश र आँसुले दर्शकलाई रुवाउँदैन भन्न सकिन्न । वकिलको भूमिकामा गिरीको अभियन सशक्त छ । उहाँले दुःखको समयमा हास्यरस पनि ल्याउने काम गर्नुभएको छ । लामो समयपछि नाटकमा देखिनुभएका अभिनेता खनालको अभिनय जीवन्त लाग्छ । उहाँले बेला बेलामा बोल्नुभएका संवादले दर्शकलाई झस्काउने काम गर्छ । उहाँ संवादमा खरो रूपमा उत्रनुभएको छ । न्यौपाने र मैनालीको अभिनयलाई पनि बिर्सन मिल्दैन ।
सोमनाथ खनालको परिकल्पना तथा निर्देशन रहेको नाटकको लखन खनाल र सन्देश घिमिरेको रहेको छ । नाटकको कथाले द्वन्द्वको भयावहमा मौन बसेको समाज, न्याय प्रणाली र राज्यसँग एउटी नारीले आफूभित्र पोखिएको पीडालाई कतिसम्म लुकाएर बस्न सक्छिन् भन्ने कुरा दर्साउन खोजेको छ । नाटकले पीडकमाथि पनि प्रश्नको बर्सा गरेको छ । नाटकको सुरुवात पट्यारलाग्दो भए पनि अन्त्यसम्म भने दर्शकलाई बाँधेर राखेको छ । निर्देशक खनालले संवाददेखि लिएर कलाकारको अभिनयमा विशेष ध्यान दिनुभएको छ ।