• २६ पुस २०८१, शुक्रबार

माओवादी केन्द्रको विधान अधिवेशन : सुझाव सङ्कलन सकियो

blog

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को काठमाडौंमा जारी ऐतिहासिक प्रथम विधान अधिवेशनको दोस्रो दिन बुधबार अधिवेशनमा सहभागी माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । अधिवेशन भोलिसम्म चल्ने छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, फागुन २ गते। नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्नेक्रम आजका लागि सकिएको छ। विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ।

सुझाव पेश गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, वेबत्ता र घाइतेका सदस्याका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिनुभयो। उहाँले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समूदायलाई समेटेर लैजानुपर्ने बताउनुभयो।

सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताउनुभयो। उहाँले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गर्नुभयो।

युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेश गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने बताउनुभयो। उहाँले पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेश गर्नुभयो। 

मङ्गलबारदेखि काठमाडौँको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो। भोलि ७ समूहले सुझाव पेश गर्ने कार्यक्रम रहेको छ। बैठक बिहीबार बिहान ११ बजे पुनः बस्नेछ। 



यो पनि पढ्नुहोस

विधानमाथि सामूहिक छलफल जारी, २ बजे निष्कर्ष पेस गरिने