• ९ मंसिर २०८१, आइतबार

त्रिविको उपकुलपति छनौटको प्रक्रिया कानुनसम्मत छ : शिक्षा राज्यमन्त्री

blog

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारी ।

काठमाडौं, माघ २९ गते । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानुनसम्मत रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्नुहुँदै राज्यमन्त्री कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानुनसम्मत रहेको दाबी गर्नुभएको हो ।

‘‘अख्तियारले प्रश्न गरेको व्यक्ति अहिले युनिभर्सिटी ग्रान्ट काउन्सिल (क्युएए, काउन्सिल)मा पदाधिकारीको रूपमा छ । र सर्टलिस्टेडमा उहाँको नाम पनि छ । अहिलेको पदाधिकारीमा उहाँ हुनुहुन्छ नि नेपाल सरकारको । र सिफारिस समितिमा त्यो निवेदकको विरुद्ध कुनै उजुरी पनि परेको छैन । त्यसैले त्यो प्रोसेसमा छ ।,’’ राज्यमन्त्री कुमारीले भन्नुभयो,‘‘बौद्धिक चोरी पछि, भिसी भएर समय समाप्त भएपछि यसपालि भिसी लिस्टमा रहेको अब कसैमाथि आरोप लागेको छ बौद्धिक चोरी गरेको छ भनेर, त्यो समय समाप्त भएपछि पनि त उहाँ भिसी पदमा बस्नुभएको थियो । र उहाँको सम्बन्धमा पनि कुनै उजुरी सिफारिस समितिमा परेको छैन । त्यसैले उहाँ सर्टलिष्टमा पर्नुभएको छ ।’’

उहाँले छनौटको सर्टलिस्टमा परेका व्यक्तिहरू विरुद्ध सिफारिस समितिमा कुनैपनि उजुरी नआएकाले उनीहरूको छनौट प्रक्रिया अगाडि बढेको बताउनु भयो । उहाँले आरोपित व्यक्तिहरू विगतमा आरोपपछि पनि सरकारी नियुक्तिमा रहेर काम गरिसकेको भन्दै तिनै व्यक्ति अहिले सर्टलिस्टमा पर्नु स्वाभाविक भएको बताउनुभयो ।

राज्यमन्त्री कुमारीले भन्नुभयो,‘‘सूचना लुकाएको जुन आरोप लागेको छ, त्यो व्यक्ति हाल टियूको निमित्त भिसीमा हुनुहुन्छ । जसलाई आरोप लाग्यो तर उहाँ अहिले त निमित्त भिसी त हुनुहुन्छ । अहिले नेपाल सरकारको एउटा पदमा हुनुहुन्छ उहाँ । र उहाँपनि सर्टलिस्टमा पर्नुभएको छ । किनकि सिफारिस समितिमा उहाँको विरुद्धमा कुनैपनि उजुरी परेको छैन । त्यसैले उहाँपनि सर्टलिस्टमा पर्नुभएको छ । त्यसैले मलाई पूर्ण विश्वास छ, सिफारिस समितिले जुन प्रोसेस अगाडि बढाएको छ भिसी सेलेक्सन सम्बन्धमा । त्यो प्रोसेस एकदम कानुनसम्मत छ ।’’

राज्यमन्त्री कुमारीले सर्टलिस्टेड भएका १४ व्यक्तिहरूको सोमबार(आज) देखि नै छनौटका लागि प्रस्तुति र अन्तर्वार्ताको प्रक्रिया अगाडि बढेको जानकारी पनि दिनुभयो ।