• २७ मङ्सिर २०८२, शनिबार

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

blog

श्रीमती सरस्वती देवि कुशवाहा सामुदायिक आधारभूत विद्यालयमा आयोजित कार्यक्रमका सहभागी । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा
रौतहट, मङ्सिर २७ गते ।
सर्लाहीको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर), टोपी, मोजा तथा विद्यालयलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरिएको छ । नारी स्रष्टा समाज नेपालका अध्यक्ष एवम् साहित्यकार ममता मृदुलले विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबिच विद्यार्थीहरुलाई न्यायो कपडा तथा विद्यालयलाई खेलकुद र शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

समाजका अध्यक्ष साहित्यकार मृदुलले सर्लाही गोडैता नगरपालिका –५ रामबनस्थित श्रीमती सरस्वती देवि कुशवाहा सामुदायिक आधारभूत विद्यालय तथा त्यहाँ अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गर्नुभएको हो । कक्षा एकदेखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब २५ जना विद्यार्थीलाई न्यानो कपडाका साथै विद्यालयलाई भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन लगायतका खेलकुद सामग्री र विभिन्न किता बवितरण गरेको साहित्यकार मृदुलले बताउनुभयो ।

उहाँका अनुसार विद्यार्थीलाई एक–एक वटा न्यानो स्विटर, टोपी र मोजा वितरण गरिएको छ । सामुदायिक विद्यालयका अति विपन्न विद्यार्थीलाई जाडोको समयमा नयमित विद्यालय आउने वातावरण बनाउन साथै उनीहरूको पढाइलाई सुधार तथा गुणस्तरीय बनाउनमा सहयोग पु¥याउने उद्देश्यले विद्यालयलाई  शैक्षिक र खेलकुद सामग्री वितरण गरेको उहाँको भनाइ छ ।

समाजका अध्यक्ष साहित्यकार मृदुलले वितरण गर्नुभएको स्विटर, टोपी, मोजा, खेलकुद र शैक्षिक सामग्रीले विद्यार्थीका साथै विद्यालयलाई राहत मिलेको विद्यालयका संरक्षक तथा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतोले बताउनुभयो । अहिलेको जाडो मौसममा न्यानो स्विटर, टोपि, मोजा पाएपछि विद्यार्थी हर्षित भएका छन् ।

साहित्यकार मृदुलको सहयोगको विद्यालयका तर्फबाट कदर गर्दै उहाँलाई मायाको चिनोद्वारा सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रामप्रकाश महतोले बताउनुभयो । सामग्री वितरण कार्यक्रममा विश्व नेपाली साहित्य समाज ललितपुरका अध्यक्ष निता श्रेष्ठ, बज्जिका साहित्य समाज सर्लाहिका सचिव मुकेश मिश्र लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।