सन्तोष दहित
दाङ, मङ्सिर २७ गते । साविक राप्ती क्षेत्रकै पुरानो शिक्षण संस्था महेन्द्र बहुमुखी क्याम्पस दाङको जीर्ण भवन भत्काउन थालिएको छ ।
भवन जीर्ण भएपछि प्रक्रिया पूरा गरी भत्काउने कार्य सुरु गरिएको क्याम्पस प्रमुख नारायण पन्थीले जानकारी दिनुभयो । ७१ वर्ष पुरानो उक्त भवन निर्माण २०१६ सालमा गरिएको थियो । २०१५ माघ ९ गते स्थापना भएको महेन्द्र बहुमुखी क्याम्पसको प्रारम्भिक संरचनामध्ये उक्त बनाएको थियो ।
लामो इतिहास बोकेको उक्त भवनलाई टेन्डर प्रक्रियामार्फत भत्काउने निर्णय भएको हो । भ्याटबाहेक १९ लाख ८० हजार रुपियाँमा हरिभक्त निर्माण उद्योगले भवन भत्काउने जिम्मा पाएको क्याम्पस प्रशासनले जनाएको छ ।

पुरानो भवन भत्काइँदै गर्दा क्याम्पसमा निर्माणाधीन सुविधा सम्पन्न ३६ कोठे नयाँ भवन अन्तिम चरणमा पुगेको छ । चार तल्लाको सो भवन करिब १० करोड रुपियाँको लागतमा निर्माण भइरहेको क्याम्पसका लेखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७५/०७६ मा सुरु गरिएको भवन निर्माण कार्य चालु आर्थिक वर्ष २०८२/०८३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पनि उहाँले बताउनुभयो ।
क्याम्पसमा हाल करिब ६ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पस प्रशासन प्रमुख मनमन्तर शाहका अनुसार स्नातक तहमा व्यवस्थापन, शिक्षा, विज्ञान र मानविकी सङ्कायमा पठनपाठन भइरहेको छ भने स्नातकोत्तर तहमा राजनीति शास्त्र, नेपाली र अंग्रेजी विषय अध्यापन भइरहेका छन् ।
