• २३ वैशाख २०८१, आइतबार

दुप्चेश्वरको यात्रा

blog

रजनी न्यौपाने 

कक्षाः १०, कालिका हिमालय मावि

कालिका–२, रसुवा 

नुवाकोटको दुप्चेश्वर मेला जाने हाम्रो योजना बन्यो । सानैमा एक पटक दुप्चेश्वर दर्शन गर्न गएको तर धेरै याद छैन । मङ्सिर १६ गते शनिबार बिहानै सबेरै नुहाएर स्कार्पियो गाडी रिजर्भ गरेर हाम्रो परिवार, काका, काकी र छिमेकी सरिता फुपू र सविना दिदीसमेत यात्रामा लागियो । मनमा धेरै उत्सुकता थियो । नयाँ ठाउँ कहाँ के के देखिने हो । बेत्रावती, त्रिशूली, बट्टार त नयाँ थिएन किन कि मामाघर (नलगाउँ) जाने बाटो पनि यही नै हो । बट्टारबाट अब कता जान्छ गाडी भनेर हेर्दा अघि बढ्यौँ । हाम्रो मोटर गङ्गटे, सेरा, ढिकुरे हुँदै पूर्वी नुवाकोटतर्फ लाग्यो । ढिकुरे बजार हुस्सुले ढाकेको थियो । 

शिखरबँसी महादेव मन्दिर हुँदै हामी ( दुप्चेश्वर) पुग्यौँ । पूजा सकेर फर्र्केर वरिपरिको रमाइलो वातावरण हेरेर हामी निकै रमायौँ । केही सामान किनमेल गरेर यात्रा सकेर रमाउँदै घरतर्फ लाग्यौँ । यो शनिबारको मजाले दुप्चेश्वर घुमेर बित्यो । यो धार्मिक तथा पर्यटकीय क्षेत्रमा प्रत्येक वर्ष मङ्सिर पूर्णिमा (धान्य पूर्णिमा) को दिने भव्य मेला हुने गर्छ । पशुपतिनाथको दोस्रो रूपको मान्यता रहेछ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा पर्छ । मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनको बिक्रीवितरणसमेत हुने गरेको छ ।