• १२ साउन २०८१, शनिबार

पुरानै ढर्राको कथा ‘दयारानी’

blog

काठमाडौँ, माघ २७ गते । निःसन्तान हुनु पाप होइन तर हाम्रो समाजमा निःसन्तान दम्पतीलाई घोचपेच दिने चलन नयाँ भने होइन । यही सामाजिक घोचपेचलाई चलचित्रमा समेटिएको छ । चलचित्र ‘दयारानी’ ले सोही कथा समेट्ने प्रयास गरेको छ । निःसन्तान हुने दम्पतीमध्ये पुरुष आफूमा कुनै दोष छैन भन्ने मानसिकता बोकेर हिँडिरहेका हुन्छन् भने महिला सबै दोष आफूमाथि बोकिरहेकी हुन्छिन् । समाजले सन्तान नहुँदा महिलालाई नै दबाब दिन्छ । त्यस्तो अवस्थामा पुरुष चुपचाप बस्छ तर महिलाले चौतर्फी दबाब झेल्नु पर्छ । 

माझी गाउँपालिकाको याङ्जाकोट गाउँमा सरल जीवन बिताइरहेका चित्रजङ्ग (दयाहाङ राई) र दयारानी (दिया पुन) निःसन्तान दम्पती हुन् । अनेक उपाय अपनाउँदा पनि उनीहरूको सन्तान  हुँदैन । समाजले दुवै दम्पतीमाथि आरोपप्रत्यारोप लगाउन थाल्छ । उनीहरू निःसन्तान हुनुको कारण के हो ? सन्तान नहुनुमा कसको कमजोरी देखिन्छ । आखिरमा दयारानीमाथि नै खोट देखाउँछ समाजले ।  दयारानीको कथा यतिमै सीमित हुँदैन । 

चित्रजङ्ग पात्रमा विकसित मनोविज्ञान र पुरुषार्थलाई लिएर समाजमा हुने टीकाटिप्पणीबाट जोगिन उनले लिएको झुटको सहारासँगै दयारानीको कथा अघि बढ्छ । चिकित्सकले सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि आफूलाई मर्दका रूपमा देखाउन उक्त पुरुष पात्र सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउन पुग्छन् । आफ्ना कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई उनी न श्रीमतीसामु खुलेर राख्न सक्छन्, न त समाजसामु नै देखाउन सक्छन् । श्रीमती र घरपरिवारका अन्य सदस्यको दबाबमा उनी अर्को विवाह गर्नसमेत तयार रहन्छन् तर सत्यताबाट भाग्दै आफ्नो कमजोरी कसैसामु देखाउन चाहन्नन् । 

सन्तान प्राप्तिको चाहनाले कसरी महिला प्रताडित हुनु पर्छ भन्ने कथावस्तु यसमा चित्रण गरिएको छ । पुरुष आफूमा कुनै दोष छैन भन्ने मानसिकता बोकेर हिँड्ने र सत्यबाट भाग्दै आफ्नो इज्जत जोगाउन कसरी लागिपर्छन् भन्ने सामाजिक परिवेश चलचित्रले बोल्छ । आफ्नो कमजोरी लुकाउन पुरुषले कतिसम्म गर्न सक्छन् भनेर देखाउन चलचित्र सफल भएको छ । चित्रजङ्गलाई अर्को विवाह गर्न दिइने दबाबदेखि उनका मितज्यू (विजय) बरालले उनीमाथि रचेको षड्यन्त्रसम्मका कुरा चलचित्रभित्र छन् । यसले दर्शकलाई साढे दुई घण्टासम्म अल्झाइरहन्छ ।  

निर्देशक माओत्से गुरुङको डेब्यु निर्देशनमा बनेको चलचित्रले समाजमा निःसन्तान दम्पतीलाई हेर्ने सामाजिक दृष्टिकोण र मनोविज्ञान उजागर गर्ने प्रयास गरेको छ । पुरुषप्रधान समाजले वंशपरम्परा धान्ने नाममा बहुविवाहलाई कसरी सहजै स्विकार्दै आएको छ भन्ने कुरा चलचित्र हेरेपछि छर्लङ्ङ हुन्छ । गुरुङले नै लेख्नुभएको चलचित्रको कथा नयाँ होइन तर उठान गर्न खोजेको शैली गहकिलो हो । यस्तो विषयमा धेरै चलचित्र बनिसकेका छन्, त्यसैले पनि चलचित्रभित्र पुरानै ढर्राको कथा दोहोरिएको जस्तो लाग्छ । निर्देशक गुरुङले अन्त्यमा चलचित्रको अर्को भाग पनि आउँछ भन्ने सङ्केतले भने दर्शकको मनलाई कौतूहल बनाउने काम गर्छ ।  

अन्य चलचित्रमा जस्तै यसमा पनि दयाहाङको अभिनय पुरानै शैलीको छ । उहाँको सधैँजसो देखिने गाउँले परिवेशको अभिनयले दर्शक नै वाक्कदिक्क भइसकेका छन् । दयारानीको भूमिका दियालाई सुहाएको छ । चलचित्र उहाँमाथि नै निर्भर छ । मितज्यूको भूमिकामा देखिएका विजयले पनि आफ्नो अभिनयबाट चलचित्रमा खासै ठुलो छाप छाड्न सक्नुभएको छैन । सधैँ दयाहाङसँगै अभिनयमा देखिने उहाँले दयाहाङकै बाटो औँल्याइरहनुभएको छ; जसले उहाँलाई पनि गाउँले परिवेशको चरित्रबाट माथि उठ्न दिएको छैन ।