गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ११ गते । कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि त्रिदेशीय अन्तर्राष्ट्रियमैत्री फुटबलमा नेपालले सोमबार परम्परागत प्रतिद्वन्द्वी भारतलाई उसकै मैदानमा २–१ ले हराएको छ । फिफा विन्डो अन्तर्गत यो प्रतियोगिता भएको हो ।
भारतको सिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालामा भएको खेलको दोस्रो मिनेटमै साम्बाले गोल गरी नेपाललाई स्वप्निल अग्रता दिलाउनुभएको हो । डिफेन्डर बिमला विकेको पासमा साम्बाले उत्कृष्ट रन बनाएर भारतकी गोलकिपर पानमथोई छानूसँगको ‘वान भर्सेज वान’ मा गोल गर्नुभयो । खेलको ६३ औँ मिनेटमा साम्बाले करिब २५ गजमा प्राप्त फ्री किकमा गोल गरी नेपालको अग्रता दोब्बर बनाउनुभयो । प्रीति राईलाई लडाइएपछि नेपालले फ्री किक अवसर पाएको थियो । भारतविरुद्धको दुई गोलसँगै साम्बाको अन्तर्राष्ट्रिय गोल खेलमा ६८ पुगेको छ । सावित्राले भारतविरुद्ध मात्र नौ गोल गर्नुभएको छ ।
निर्धारित समय सकिन नौ मिनेट बाँकी छँदा भारतकी स्थानापन्न खेलाडी करिश्मा श्रीरभोइकरले गोल गर्नुभयो । किरण पिस्डाको फ्री किक सदुपयोग गर्दै करिश्माले नेपालकी गोलकिपर अञ्जना रानामगरलाई ‘बिट’ गर्दै गोल गर्नुभएको हो । सो गोलले नेपाल दबाबमा आएको थियो । तर नेपालले भारतलाई बराबरी गोल गर्न दिएन । भारतविरुद्ध नेपालको यो मात्र चौथो जित हो । नेपाल र भारतबिच अहिलेसम्म समग्रमा १९ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ । चार खेल बराबरीमा सकिएको थियो । तर सन् २०१९ पछि भारतले नेपाललाई हराउन सकेको छैन । भारतविरुद्धको पछिल्ला पाँच खेलमा नेपाल अपराजित छ ।
आजको नतिजासँगै त्रिदेशीय प्रतियोगितामा भारत दुवै खेल हारेर पुछारमा रह्यो । नेपाल उपविजेता बन्यो । नेपाल र भारत दुवैलाई हराएको इरान च्याम्पियन बनेको छ । नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो । यसअघि इरानले भारतलाई पनि २–० ले हराएको थियो । अब नेपालले भारतसँग सिक्किममा मैत्री खेल खेल्ने छ ।
मीनाको पदार्पण
भारतविरुद्ध खेलेर सोमबार नेपालकी युवा स्ट्राइकर मीना देउवाले राष्ट्रिय टिमबाट पदार्पण गर्नुभएको छ । मीनाले साफ यु–२० महिला च्याम्पियनसिप र एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालका लागि शानदार प्रदर्शन गरेपछि सिनियर राष्ट्रिय टिममा स्थान बनाउनुभएको हो । खेलको ७६ औँ मिनेटमा रेखा पौडेलको स्थानमा मैदान छिरेपछि मीना पहिलो सिनियर अन्तर्राष्ट्रिय खेल खेल्न सफल हुनुभयो ।
यस जितसँगै महिला टिमको प्रशिक्षकका रूपमा नवीन न्यौपानेले पनि पहिलो जित प्राप्त गर्नुभएको छ ।
गल्ती सुधार्न सफल भयौँ : साम्बा
कप्तान साम्बाले पछिल्लो खेलमा गरेका गल्ती सुधार्न सकेकाले नै भारतविरुद्ध जित प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “इरानविरुद्धको खेलमा डिफेन्समा केही गल्ती भए । भारतविरुद्ध सो गल्ती भएन । प्रशिक्षकको रणनीतिमा केन्द्रित भएर खेल्ने योजना मैदानमा कार्यान्वयन भयो । आज पनि खेलाडीबिच संवाद नहुँदा एक गोल बेहो¥यौँ तर समग्रमा यस जितले म खुसी छु ।” साम्बाले भारतलाई उसकै मैदानमा हराउन सफल भए पनि रङ्गशालामा आएका नेपाली समर्थकलाई पनि धन्यवाद दिनुभयो ।