• ११ कात्तिक २०८२, मङ्गलबार

झोलुङ्गे पुल निर्माण भएपछि आवजावतमा सहज

blog

साधन घर्ती
म्याग्दी (दरबाङ) ,कात्तिक ११ गते ।
भौगोलिक रुपमा विकट म्याग्दीको मङ्गला गाउँपालिका–४,बरंजास्थित न्यू खोलामाथि बुकेनी र धापुङ गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि आवातजावतमा सहज भएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक तथा साम्रगी, मङ्गला गाउँपालिकाको लागत साझेदारी तथा स्थानीयवासीको श्रमदानबाट निर्माण भएको उक्त पुलको सोमबार एक कार्यक्रममका बिच निवर्तमान उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ ले उद्घाटन गर्नुभयो ।

पुल निर्माण उपभोक्ता समितिकी अध्यक्ष समिना रोकाका अनुसार, कुल ५७ लाख दश हजार८६० रुपियाँ लागतमा ९२ दशमलव ५ मिटर लामो झोलुङ्गे  पुल निर्माण गरिएको हो । यसअघि स्थानीयहरु न्यूखोला माथिको जिर्ण पुलमा जोखिमपुर्ण यात्रा गर्न बाध्य थिए ।निवर्तमान राज्यमन्त्री गर्बुजाले दुई बस्तीका जनताको भौगोलिक दुरी घटाउन लामो झोलुङ्गे पुलको सर्वे तथा बरंजा क्षेत्रमा जोड्ने सडक सञ्जाल लगायत केही योजनाहरूलाई स्रोत जुटाउने काम भइरहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी अधिकारीले सिमित स्रोतसाधनका बिच पनि बस्तीस्तरमा योजना विनियोजन तथा लागत साझेदारीमा धेरै योजनाहरु सम्पन्न भएको बताउनुभयो । अध्यक्ष लालबहादुर रोकाले पुल निर्माण भएपछि बालबालिका, वृद्धवृद्धाका साथै घाँसदाउरा सङ्कलन गर्न जाने स्थानीयलाई धेरै सहज भएको बताउनुभयो । यसअघि जिर्ण पुलको प्रयोग गर्न बाध्य थिए । पुल निर्माण भएपछि वारपार गर्न यात्रा अवधि पनि छोटिएको छ ।

‘‘पहिले खोला वारपार गर्न करिब २० मिनेटको यात्रा गर्नुपर्दथ्यो भने अहिले पुल बनेपछि छोटिएर ५ मिनेटको समय लाग्छ,’’ स्थानीय ओमप्रसाद रोकाले भन्नुभयो । पुल बनेपछि नौ सय ६५ जनसङ्ख्या लाभान्वित भएका छन् ।