• २८ पुस २०८१, आइतबार

आँधीखोला गाउँपालिकाको फरक शैली

blog

वालिङ समाचारदाता 

वालिङ, माघ २२ गते ।  स्याङ्जाको आँधीखोला गाउँपालिकाले समग्र विकासका लागि फरक शैली अपनाएको छ । पालिकाले नागरिकका गुनासो सुन्ने, समस्या देख्ने र समाधानका लागि सहकार्य गर्ने रणनीति अपनाउन थालेको हो । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले विकासमा नागरिकलाई जोड्न र दिगो विकास गर्न फरक शैली अपनाएको पालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामी नागरिकका कुरा सुन्छौँ, समस्या देख्छौँ अनि सामथ्र्य र प्राथमिकताका आधारमा सम्बोधन गर्दै जान्छौँ ।” ‘हाम्रो आँधीखोला राम्रो आँधीखोला’ बनाउन प्रदेश र सङ्घ सरकार, नागरिक, जनप्रतिनिधि, विभिन्न सङ्घ संस्थासँग हातेमालो गरिरहेको उहाँको भनाइ छ । 

पालिकाको समग्र विकासका लागि सबैले सकारात्मक सोच्नुपर्ने भन्दै अध्यक्ष पौडेलले थप्नुभयो, “हामीलाई जनताले नै निर्वाचित गरेका हुन्, हामी पनि सिक्दै छौँ, कमजोरी भए सच्याउने छौँ ।”

गाउँपालिकाले सङ्घ र प्रदेशका साथै विभिन्न सङ्घ संस्थासँगको सहकार्यलाई प्रभावकारी बनाउँदै लगेको छ । जल, जमिन र जङ्गलका साथै सम्भावना बोकेका पयर्टकीय क्षेत्र रहेको पालिकाले सहकार्यले मात्रै दिगो विकास सम्भव रहेको निष्कर्ष निकालेको हो । गाउँपालिकाका अध्यक्ष पौडेलले सबै पक्षको सहकार्यले मात्रै पालिकाको विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग स्रोतसाधनको कमी छ, त्यसैले आर्थिक विकासका लागि सहकार्य अपरिहार्य छ ।”

पालिकाले स्थानीय सरकारको एकल तथा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको उपभोग र प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको अस्तित्व स्वीकार गर्नुपर्ने भन्दै सहकार्य गर्न सुरु गरेको जनाएको छ । 

आफ्नो पालिका संस्थागत सुशासन, लिजा, आरआरए जस्ता पालिकाको मापनमा उत्कृष्ट हुँदै आएको अध्यक्ष पौडेलको भनाइ छ । 

पालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने सबै योजना पुस १५ भित्र नै सम्झौता भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय पालिकामा असारसम्म नै योजना सम्झौता गरिन्छन् तर हाम्रो पालिकामा सम्झौता गरेर काम सुरु भइसकेको छ ।” योजनाको काम प्रभावकारी हुनेमा अधिकारी विश्वस्त हुनुहुन्छ । 

गाउँपालिकाको आयोजना सञ्चालनसम्बन्धी कार्यविधि अनुसार चैत मसान्तभित्र सबै योजनाको काम गर्ने पालिकाको लक्ष्य छ । अघिल्लो वर्षमा १८४ योजनामा शतप्रतिशत आयोजना सोही अवधिमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । ससर्त, समपूरक र विशेष अनुदानबाहेकका सबै योजना समयमा नै सम्पन्न हुने उहाँको भनाइ छ । समयमा योजनाको काम हुँदा गुणस्तरीय हुने र सेवाग्राही पनि लाभान्वित हुने उहाँको बुझाइ छ । 

पालिकाले निजी संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था र नियोगको सहकार्यमा सामाजिक न्याय, क्षमता विकास, सामुदायिक संस्थागत विकास र परामर्शलगायतका अतिरिक्त कार्य पनि गरिरहेको अध्यक्ष पौडेलले बताउनुभयो । चालु आवमा मात्रै १० भन्दा धेरै सङ्घ संस्था तथा निकायको सहकार्यमा पालिकाको आर्थिक विकासका लागि काम गरिरहेको अध्यक्ष पौडेलको भनाइ छ ।