‘स्वतन्त्रता सेनानीकी जीवनसङ्गिनीले पति हुँदाहुँदै पनि विधवाको जीवन बाँच्नुपर्ने हुन्छ ।’ विश्वव्यापी रोल मोडल छवि बनाएका नेल्सन मन्डेलाको कृतिबाट लिइएको यो प्रसङ्गबाट द्रौपदा शर्मा पोखरेल आमाबारे छोटो चर्चा गर्न सान्दर्भिक लाग्यो । तनहुँ जिल्लाको म्याग्देका तेजप्रसाद र चेतकुमारी पण्डितकी छोरी द्रौपदाको विवाह तनहुँकै क्रान्ति योद्धा गोवर्धन शर्मा पोखरेलसँग भयो । विसं २००७ सालको परिवर्तनसँगै पतना देवी र द्रौपदा आमाहरूले महिलालाई सङ्गठित गरे । गाउँमा परिवर्तनकारी गतिविधिमा संलग्न भएर समाजमा विद्यमान सबै प्रकारका भेदभावको जरै उखेल्ने अभियानको थालनी गरे । १०२ वर्षको उमेरमा दिवङ्गत पहिलो पुस्ताकी द्रौपदा आमाको बाह्रौँ पुण्य तिथिका दिन उनीप्रति श्रद्धाका फूल शब्दमार्फत चढाउने प्रयास गरेको हुँ ।
गण्डकी प्रदेश, व्यास नगरपालिका–११, तनहुँको अर्चलचौरस्थित राधाराम पोखरेलको परिवारको पुख्र्यौली थलोमा सङ्घर्षै सङ्घर्षले हुर्केका क्रान्तियोद्धा गोवर्धन शर्मा पोखरेलसँग द्रौपदा विवाह बन्धनमा बाधिँनु पनि त्यतिबेलाका लागि चुनौतीपूर्ण सम्झौता थियो । आफूलाई पूरै रूपान्तरण गरेर क्रान्तिमा होमिएको मान्छेले ठुला ठुला जोखिम उठाउनु पर्छ । पुरुषले उठाएको जोखिमको असरले सर्वाधिक असर महिलामाथि पर्छ । २००७ सालको जनक्रन्तिमा अर्चलचौर र त्यस वरपरका दलित समुदायका युवा पनि समावेश थिए । बन्दीपुरमा भएको नारा जुलुसमा उनीहरूले आफूहरू पनि सबैसरह पूर्ण मानव भएर बाँच्न पाउनु पर्छ भनेर नारा घन्काएका थिए । यसको प्रमुख श्रेय गोवर्धन पोखरेललाई जान्छ । परम्परामा मात्र बाँचेको समुदायमा समतामूलक गतिविधिले ठुलै ‘भूकम्प’ ल्याउँछ । त्यही भूकम्पको परकम्पले महिलालाई बहिष्कृतसमेत बनाउँछ । त्यसबाट उनी र उनका सहकर्मीले धेरै असजिला क्षण बिताए । धेरै अप्ठ्यासँग उनीहरू निरन्तर जुधिरहे । संवैधानिक भनिएका तर तत्कालीन तानासाह राजा महेन्द्रले लोकतन्त्रको गला निमोठेपछिको पहिलो सशस्त्र सङ्घर्षमा ठुला नेताहरू जेलमा पुर्याइए । केही अवसरवादीबाहेक कांग्रेसी सिपाही भूमिगत भए । यिनै भूमिगत हुनेहरूमध्ये गोवर्धन पनि एक थिए, तनहुँबाट १६ जना सर्वस्व हरणमा परेका थिए । तिनका परिवारले आफ्नो जग्गा खनजोत गरेर खान पनि नपाउने अवस्था आयो । गाउँ समाजले लुकीछिपी सहयोग गर्ने गर्थे । अघोषित रूपमा यस्ता परिवारले दुःखसाथ बाँच्नु पर्यो । यो नियति पोखरेल परिवारले पनि भोग्नै पर्यो ।
चार छोरा र दुई छोरीलाई द्रौपदाले नै पालनपोषण गर्नु पर्यो । केही समयपछि ठुलो छोरा किशोर रामचन्द्र पोखरेल पोखरा जेल चलान भए । मर्न मार्न भूमिगत भएका गोवर्धनलाई परिवारभन्दा सशस्त्र सङ्घर्ष नै पहिलो रोजाइ भयो । अभाव र तनावमा बाँच्न अभिशप्त द्रौपदालाई घरमा आएका सुरक्षाकर्मीले उनको सधवा पहिरनलाई हाँसोको विषय बनाउँथे । कतिपय मान्छेले उनलाई विधवा भनेर लज्जित बनाउने कोसिससमेत गर्थे । २०१८ सालको फागुन महिना हुनु पर्छ, छोराहरू कृष्णचन्द्र र जगदीशचन्द्रको व्रतबन्धको सबै तयारी सकिएको बेलामा आएका सरकारी सुरक्षाकर्मीले जग्गे भत्काउने काम गरे । दुःखले जम्मा गरिएको खाद्य पदार्थ छरपस्ट पारिदिएको इतिहास पढेर थाहा भयो । यो घटनामा ती दुई बटुक हुन लागेका बालकको मनोदशा कस्तो भयो होला ?
अर्को घटना पनि द्रौपदाले बेहोर्नु पर्यो । २०१८ सालमै पोखरा गोश्वाराबाट गोवर्धन खोज्न सुरक्षाकर्मी उनको गाउँघरमा पुगे । घरपरिवारलाई पुनः आतङ्कित पार्न उनीहरूले कुनै कसर बाँकी राखेनन् । गोवर्धन कहाँ छन् ? हामीलाई बताउनुपर्यो । यथार्थ बताउनै पर्यो । लुकाउन पाइँदैन भनेर उनीहरूले द्रौपदालाई हायलकायल बनाएर पोखरा लिएर गए । एक जना गाउँकी महिलाले यो काममा साथ दिइन् । शारीरिक रूपमा असमर्थ भएको बेलामा पनि दुई दिन लगाएर पोखरा जान उनी विवश भइन् । त्यहाँ लगेर धेरै केरकार गरियो । धेरै थर्काउने काम गरियो ।
महिलालाई मान्छे नगन्ने त्यो बेलामा उनलाई कति मानसिक हिंसा भयो होला ? यसको अनुमान मात्र गर्न सकिन्छ । लिखित प्रतिबद्धतामा हस्ताक्षर गराइयो । श्रीमान् लिएर आउँछु भन्ने बनाइयो तर द्रौपदासँग अरूलाई बचाउन र आफू पनि बाँच्न कसरी सकिन्छ भन्ने राम्रो ज्ञान थियो । उनलाई यो कुरा सिकाउन कसैले पनि पर्दैन थियो । उनी विवेकी र सज्जन थिइन् । वैचारिक रूपमा क्रान्ति वीरङ्गना पनि थिइन् । घरमा सेनाले खानतलासी गर्दा पनि पत्र छ कि छैन भन्ने प्रश्न गर्ने गर्थिन् । त्यो अदम्य साहस उनमा थियो । अनपढ नै भए पनि प्रजातान्त्रिक संस्कार मात्र हैन, आचरण र व्यवहार पनि पूर्ण प्रजातान्त्रिक थियो ।
द्रौपदा मन, वचन र कर्ममा जति अडिग थिइन्, त्यति इमानदार र असल पनि । यो सन्दर्भमा पोखरेल परिवार नेपालका सीमित परिवारभित्र पर्छ । राजनेताका परिवारमा कस्तो संस्कार हुनु पर्छ भन्ने जान्न मन लागे नेपाली कांग्रेसका स्थापित महारथीहरूको घरपरिवार हेरेर धारण बनाउन सकिन्छ । आज त्यो परिवारमा उल्लेख्य सम्पत्ति छैन, सिङ्गो परिवारमा कमाउने मोह पनि छैन । अवसर नपाउँदा त्यहा कुण्ठा पनि छैन । यस परिवारका सदस्य आफ्नै मौलिकतामा बाँचेका छन् । आफ्नै योग्यता र सिपले गरिखाएका छन् । पारिवारिक इतिहास सगर्व शिरोधार्य गरेर बाँचेका छन् । राजनीतिक महत्वाकाङ्क्षा सबैसँग हुन्छ तर उनीहरूसँग पद प्राप्तिका लागि मुलाहिजा गर्ने जाँगर र मन छैन । पार्टीले जजसलाई टिकट दिए पनि पोखरेल परिवारले हार्दिकताका साथ सहयोग पाउँछ । द्रौपदाको व्यवहार बुझेका मान्छेले उनका परिवारका सदस्यलाई नकार्न कहिल्यै सकेन ।
द्रौपदाको १०२ वर्षको जीवनबाट सिक्नुपर्ने पाठ धेरै छन् । पहिलो त परिवर्तनकारीले आफूलाई पूरै परिवर्तन नगरी रूपान्तरण सम्भव छैन भनेर बुझ्नु पर्छ । खास गरी महिलाले धेरै प्रेरणा लिन सक्नु पर्छ । अनुशासन र मर्यादा, त्याग र बलिदान तथा धैर्यता र सहनशीलता द्रौपदाबाट सिक्नुपर्ने विषय हुन् । आज प्रश्न गर्नेभन्दा पहुँच पुर्याउने प्रवृत्ति बढ्दै गएको छ । लोकतन्त्रको आत्मा प्रश्न गर्ने संस्कृतिले मात्र बचाउँछ । यो संस्कृतिको सुरुवात राष्ट्रकै ठुलो राजनीतिक दल नेपाली कांग्रेसले गर्नु पर्छ । त्यसका लागि कहाँनेर कमजोरी भयो भनेर आत्मसमीक्षा गर्नु पर्छ । आफैँलाई फर्केर हेर्न सक्नु पर्छ । द्रौपदा आमाप्रति शब्दमार्फत श्रद्धा सुमन !