• ७ जेठ २०८१, सोमबार

बुहारीको हत्या, श्रीमान् र ससुरा फरार, सासू पक्राउ

blog

जनार्जन खत्री

सर्लाही, माघ १७ गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ । बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो। 

पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले मृतकको शरीरमा चोटपटक रहेको बताएपनि थप विवरण भने खुलाएको छैन। 

सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले मृतक पूजादेवीकी सासू बनारसी देवी सहनीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक धितालले बताउनुभयो । 

पूजादेवी मङ्गलबार बेलुका नै मृत अवस्थामा फेला परेकी थिइन् । मृतकको शव रातभर घटनास्थलमै राखेर बुधबार बिहान घटनास्थलको प्रकृति मुचुल्का गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको सर्लाही प्रहरीले जनाएको छ ।