• २७ पुस २०८१, शनिबार

स्याङ्जा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

blog

स्याङ्जा उद्योग वाणिज्य सङ्घको ३८ औँ साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका महादेव श्रेष्ठ । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, माघ १७ गते ।
स्याङ्जा उद्योग वाणिज्य संघको ३८ औँ साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा महादेव श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

श्रेष्ठले निकटतम प्रतिस्पर्धी हिक्मत कुमार श्रेष्ठलाई आठ मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो । जिल्लाको पहिलो उद्योग वाणिज्य सङ्घको माघ ५ गते अधिवेशनको उद्घाटन र ६ गते मनोनयन भएकोमा ११ दिनपछि निर्वाचन भएको थियो ।

निर्वाचनमा ५८६ सदस्य रहेको वाणिज्य सङ्घको निर्वाचनमा ४७५ मत खसेकोमा १४९ मत पाउनुभएको थियो । अध्यक्षको निर्वाचनमा चार जना प्रतिस्पर्धी रहनुभएको थियो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा भीमकुमार श्रेष्ठले प्रतिस्पर्धी अर्जुन थापालाई २० मतले पराजित गर्नुभएको हो । थापाले २१९ मत पाउनुभएको थियो ।

अधिवेशनमा उपााध्यक्षमा गङ्गा प्रधान (महिला उद्यमीतर्फ), शाखाँलित मियाँ (वाणिज्य तर्फ) र दीपककुमार श्रेष्ठ (उद्योग तर्फ) निर्विरोध निर्वाचित हुनुभएको हो ।

यस्तै महासचिवमा रविन्द्र केसीले आशिष लम्साललाई ३५ मतले पराजित गर्नुभएको हो । लम्सालले १९९ मत ल्याउनुभएको थियो । सचिवमा रामप्रसाद लम्सालले प्रकाश डोटेललाई ८७ मतले पराजित गर्दा कोषाध्यक्षमा दीपेन्द्रकुमार श्रेष्ठले लक्ष्मण प्रधानलाई १३ मतले पराजित गर्नुभएको हो ।

समितिको सदस्यहरुमा हिटलर पौडेल (२५२), अमृत लामिछाने (२४७), मीनाकुमारी सुवेदी (२३६), सुदर्शन रेग्मी (२२५), छायाँदत्त सापकोटा (२१७), सूर्यप्रसाद शर्मा लामिछाने (२१४), कौशिला पौडेल क्षेत्री (२१३) र राजेन्द्र श्रेष्ठ (२१०) निर्वाचित हुनुभएको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

निर्वाचनमा गोपालमान श्रेष्ठको समर्थन पाउनुभएका हिक्मत श्रेष्ठको पराजय हुँदा जिल्ला सभापति राजु थापाको साथ पाउनुभएका महादेवले जित निकाल्नुभएको हो । प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएकोमा अन्य पदमा भने मिश्रित नतिजा निक्लेको छ ।

स्याङ्जा उद्योग वाणिज्य सङ्घमा दुई चार जना बाहेक सबै नेपाली कांग्रेसका सदस्य छन् भने वामपन्थीहरुले चेम्बर अफ कमर्स बनाएर काम गरिरहेका छन् ।