• २७ पुस २०८१, शनिबार

अधिकार क्षेत्र बाहिर काम गरेकाे आरोपमा सम्पन्न आयुर्वेदमा सिल

blog

सिल गरिएको आयुर्वेद पसल । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, माघ १५ गते । गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसल जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ । अधिकार क्षेत्रभन्दा बाहिर रहेर काम गरेको गुनासो आएपछि आयुर्वेद सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

आयुर्वेदले गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधी वितरण गर्ने र प्रयोगशाला सञ्चालन गरेको गुनासो आएपछि आयुर्वेद बन्द गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनु्भयो ।

सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद सिल गरेको हो । उक्त आयुर्वेद पसलले आठ कोठामा औषधी, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको छ ।

 रेसुङ्गा नगरपालिका ८ का वडाध्यक्ष निरञ्जन काउछाको रोहबर, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरीसमेतले आयुर्वेद सिल गरेको हो । आयुर्वेद शिलपछि टोलीले थप अनुसन्धान समेत गरिरहेको छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जनगुनासो आएपछि आयुर्वेद बन्द गरेको बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा अधिकार क्षेत्रभन्दा बाहिर रहेर सञ्चालन गरेको पाइएकाले हाललाई आयुर्वेद सिल गरेको थप अनुसन्धान जारी रहेको शर्माले बताउनुभयो ।

अधिकार क्षेत्रभन्दा बाहिर रहेर काम गर्ने अधिकार कसैलाई नभएको भन्दै अनुसन्धानपछि के कारबाही गर्ने भन्ने बारेमा निर्णय लिइने शर्माले बताउनुभयो । जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको र सबै प्रमाणित भएमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने प्रशासनले चेतावनी दिएको छ  ।