ज्ञानु पंगेनी
मध्यविन्दु, मङ्सिर २७ गते । नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ देखि १६ गतेसम्म पहिलो पटक गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
सनलाइट सामुदायिक विकास केन्द्र, कावासोती–१६ को आयोजना, कावासोती नगरपालिकाको प्रवर्धन र कावासोती नगरपालिका वडा नम्बर १६ र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको तयारी स्वरुप अहिले डण्डास्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानको व्यवस्थापन लगायतका काम चलिरहेको सनलाइट सामुदायिक विकास केन्द्रका अध्यक्ष तेजनारायण अर्यालले जानकारी दिनुभयो । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहने अध्यक्ष अर्यालले बताउनुभयो । कावासोती नगरपालिकाको दुई वटा टिमसहित देश र बाहिरबाट समेत गरी १२ टिमको सहभागिता हुने उहाँले जानकारी दिनुभयो । ‘‘कावासोतीको दुई वटा टिम हुन्छ, भारतको एउटा र अफ्रिकाको एउटा टोलीसँग कुरा भएको छ । आइतबारसम्म अन्तिम टङ्गो लाग्नेछ ।’’ अर्यालले भन्नुभयो ।
कावासोती नगरपालिकाले खेल क्षेत्रको विकास र प्रवर्धन गर्न यसरी पहिलो पटक ठुलो धनराशिको प्रतियोगिता आयोजना गर्न लागेको कावासोती १२ का वडा अध्यक्ष तथा नगर खेलकुल विकास समितिका अध्यक्ष ध्रुव खनाल (दिपेशले) बताउनुभयो ।
नयाँ खेलाडी उत्पादन गर्ने र पालिकाभित्रका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको क्षमता विकासमा समेत टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ । यसै प्रतियोगिताका लागि नगका १७ वटै वडाबाट खेलाडीहरू छनोट भएका छन् । उनीहरूका लागि अहिले पनि प्रतेक दिन तालिम प्रदान गरिएको छ ।
‘‘निकै प्रतिभाशाली खेलाडीहरू छनोट भइ प्रतिस्पर्धाका लागि तयार हुँदै हुनुहुन्छ, उहाँहरूले निकै राम्रो खेल्नुहुनेछ भन्ने विश्वास पनि हामीले लिएका छौँ ।’’ अध्यक्ष खनालले भन्नुभयो ।
कावासोती आठमा रहेको टुबोर्ग ग्राउण्डमा प्रत्येक दिन ४० जना खेलाडीलाई तालिम दिइएको छ । उनीहरु कावासोतीको तर्फबाट दुई टिम भइ खेल्ने छन् । अखिल नेपाल फुटबल संघ जिल्लाका प्रशिक्षकद्वारा तालिम प्रदान गरिएको खनालले बताउनुभयो ।
प्रतियोगिताको विजेता हुने टिमले तीन लाख एक रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुने टिमले नगद एक लाख ५० हजार एक रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसैगरी, प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टिमले २५/२५ हजार रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।