टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), मङ्सिर २७ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आबद्ध कार्यसमिति, आजिवन सदस्यको उपचारमा २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नप्रसाद पौडेल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष मोहन बस्नेतबिच उपचार सहुलियत सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो निर्णयले प्रतिष्ठानका कार्यसमिति सदस्य र आजीवन सदस्यलाई ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
उहाँले उपचारमा रोग र आर्थिक अवस्थामा आधारमा २५ देखि सतप्रतिशत निःशुल्कसम्म उपचार हुने बताउनुभयो । औषधीमा भने १० प्रतिशत छुट हुने सम्झौतामा उल्लेख छ ।
बस्नेतले सबैभन्दा ठुलो कुरा स्वास्थ्य भएकाले व्यवसायीक कलाकार तथा प्रतिष्ठानमा आबद्ध व्यक्तिहरूको हितका लागि उपचारमा सहुलियतको माग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कलाकार स्वास्थ्यको जोखिममा रहन्छन् । बाँचौ र नाचौँ भन्ने सोँचेर योजना अगाडि बढाएका हौँ ।”
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आबद्ध १८५ आजीवनसहित कार्यसमिति गरेर २५० जनाले यो सुविधा पाउने छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुम खत्रीले प्रतिष्ठानमा आबद्धहरू सबैको एउटै आर्थिक अवस्था नभएकाले उपचार सुविधा २५ प्रतिशत धेरै राम्रो भएकाले बुटवल हस्पिटल प्रालिलाई धन्यवाद दिनुभयो ।
उहाँले बिगतमा प्रतिष्ठानकै पदाधिकारी दुर्घटनामा परेका बेला धेरै पटक आर्थिक सङ्कलन गर्न परेकाले अहिलेको सम्झौता निकै फलदायी हुने बताउनुभयो । प्रतिष्ठानले केन्द्रीय कार्यसमितिसँगै समन्वय गरेर आर्थिक समस्याका कारण उपचारमा कठिनाई हुनेहरूलाई सहयोग गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पुर्व अध्यक्ष जनक पन्थले बताउनुभयो । उहाँले रगत अभावमा समेत आफुहरूले समन्वय गरेर सहजीकरण गरिरहेको बताउनुभयो ।