• २७ पुस २०८१, शनिबार

सडक किनारबाटै फेरिँदै छ जीवनस्तर

blog

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, माघ १५ गते । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग निर्माणसँगै सिन्धुली जिल्लाको कमलाखुँज र मरिण क्षेत्रका विपन्न किसानको जीवनस्तर फेरिँदै गएको छ ।  राजमार्ग निर्माणसँगै विपन्न किसान व्यवसायमा उन्मुख भएपछि उनीहरूको जीवनस्तरमा सुधार आएको हो । राजमार्ग निर्माणसँगै आसपासका गाउँका विपन्न किसान व्यावसायिक रूपमा तरकारी, फलफूल खेतीमा जुट्नुका साथै होटल, किराना पसललगायतका आयमूलक पेसामा संलग्न हुँदै आएका स्थानीयले बताएका छन् ।

दुधौली नगरपालिका–१० निवासी चहाना श्रेष्ठ गाउँबाटै मदन भण्डारी राजमार्ग निर्माण भएपछि आफूले पनि सात कट्ठा जमिनमा तरकारी खेती सुरु गरेको बताउनुहुन्छ । एक वर्षअघि पाँचदिने मौसमी तथा बेमौसमी तरकारी खेतीको तालिम सिकेर सोही ठाउँका २५ जना महिलाले व्यावसायिक रूपमा तरकारी खेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सात कट्ठा जमिनमा गरेको बन्दा, काउली, खुर्सानी र गोलभेंडा खेतीबाट भर्खरै तीस हजार रुपियाँ आम्दानी लिएँ । मैले यति ठुलो परिमाणमा पहिलो पटक तरकारी खेती गरेको हुँ । सुरुमा मेहनत मात्रै खेर जाने हो कि भनेर आत्तिएकी थिएँ, मेहनत गर्दा नहुने के रहेछ र ?” 

राजमार्ग निर्माणपछि उत्पादित वस्तुले सहज रूपमा बजार पाएपछि विपन्न किसान आयमूलक पेसामा जुटेको उहाँले सुनाउनुभयो । दुधौली नगरपालिका–२, गागनका शम्भु दनुवार पनि घरछेउबाटै मदन भण्डारी राजमार्ग निर्माण भएकाले मौसम अनुसार किसानले उत्पादन गरेको तरकारी, फलफूल बिबाँकी गर्न सहज भएको धारणा राख्नुहुन्छ ।

उहाँका अनुसार राजमार्ग छेउछाउमा किराना पसल र होटलसमेत उत्तिकै फस्टाएका छन् । राजमार्ग छेउमा उत्पादित वस्तु राखेर बिक्री गर्नसमेत सहज भएको छ । “राजमार्ग निर्माण नहुँदा बढी भएर गाईभैँसीलाई खुवाउनुपर्ने तरकारी अहिले सहजै बिक्री वितरण हुन्छ,” उहाँले थप्नुभयो । स्थानीयका अनुसार उक्त राजमार्ग निर्माण वरदान साबित भएको छ । यातायातको सहज पहुँच त छँदै छ, किसानको जीवनस्तरमा पनि परिवर्तन आएको छ । उक्त राजमार्गबाट कमलाखँुज क्षेत्रको दुधौली नगरपालिका, कमलामाई नगरपालिकाको वडा नं. ९, १३, १४ र मरिण क्षेत्रको मरिण गाउँपालिका तथा हरिहरपुरगढी गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । 

राजमार्ग निर्माणसँगै हरिहरपुरगढी गाउँपालिका–२, जखौलीका किसान सुकदेव राईले गत वर्षदेखि खरबुजा खेती थाल्नुभएको छ । कृषि ज्ञान केन्द्रको ‘बगर खेती कार्यक्रम’ अन्तर्गत खरबुजा खेती गरेको र उत्पादित खरबुजा सदरमुकाम सिन्धुलीमाढी पु-याएर बिक्री गरेको उहाँले सुनाउनुभयो । किसान राईले भन्नुभयो, “चार जना किसान मिलेर चार बिघा जति बगरमा खरबुजा खेती ग-यौँ । २८ क्विन्टल उत्पादन भयो । प्रतिकिलो ५० रुपियाँका दरले बिक्री ग-यौँ । पहिलो पटक गरेको खरबुजा खेतीबाट आम्दानी राम्रो लिन पाएपछि खेतीमा संलग्न किसान हौसिएका छौँ ।”

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाको भित्री भागलाई जोड्ने २५० किलोमिटर लामो मदन भण्डारी (धरान–चतरा–सिन्धुली–हेटौँडा) राजमार्गलाई दुई खण्डमा विभाजन गरी २०७३ सालदेखि निर्माण सुरु गरेको र अहिले निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ  । 

सरकारको प्राथमिकतामा परेको यस राजमार्गलाई उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानसम्म १३५ किलोमिटर लम्बाइ सडकलाई पूर्वी खण्ड र भिमानदेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म ११५ किलोमिटर लम्बाइ सडकलाई पश्चिम खण्डमा विभाजन गरिएको छ ।

उक्त राजमार्गको विभिन्न खोलामा निर्माण गर्नुपर्ने ९६ वटा पक्की पुलमध्ये ९५ वटाको निर्माण सम्पन्न भइसकेको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीस्थित ग्वाङ खोलामा भने विवादका कारण पुल निर्माण सुरु गर्न नै बाँकी छ ।