• २३ वैशाख २०८१, आइतबार

निर्णय फिर्ता लिन व्यवसायीको माग

‘व्यक्तिगत स्वार्थका लागि सडक कब्जा गर्न दिन्नौं’

blog

काठमाडौं, माघ १० गते। काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले व्यक्तिगत स्वार्थका लागि सडक कब्जा गर्न नदिने बताउनुभएको छ। गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले पार्किङ हटाइएको विरोध गर्नुको कुनै औचित्यसमेत नरहेको भनाइ राख्नुभयो।

उहाँले भन्नुभयो, “सडक कब्जा गर्न दिदैनौं। पेटी पैदल यात्रु हिड्ने ठाउँ हो। तपाईंले देख्नुभाछ, विकासलाई छोडेर व्यक्तिगत स्वार्थका लागि अस्तव्यस्त गर्न पाइँदैन। महानगरको सुव्यवस्था, नगर सुविधाका लागि पार्किङ हटाइएको हो।”

उहाँले न्युरोड क्षेत्र मौलिकता बोकेको सहर भएको तर विगतदेखि नै ठाउँ कब्जा गरेर पार्किङ गरिएको अवस्था रहेको बताउनुभयो। सवारी साधन आवतजावत र पैदल यात्रुलाई हिँड्न सहज गर्नका लागि महानगरभित्रका अनावश्यक पार्किङ हटाइएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “संसारभर अभ्यास के छ भने, पार्क एण्ड वाक। हामीले विकल्प दिएको त्यहाँ विभिन्न किसिमका मललहरु पनि छन्। अर्को थप विकल्प भनेको काठमाडौं भ्यु टावरलाई दिएका छौं। त्यहाँबाट दुई, तीन सय मिटरको फरक छ।” उहाँले सडक साझा सम्पत्ति भएकोले यसमा पार्किङ गर्न नमिल्ने बताउनुभयो।

 

उहाँले भन्नुभयो, “न्युरोडमा संसारभरका हजार थरीका मान्छे छिर्छन्। त्यहाँको भीडको अवस्था, फोहोर, पार्किङ कसरी राखिएको छ ? आधा सडक ढाकेर पार्किङ गरेर मेरो व्यापार गर्छु भन्ने कुरा जायज छैन। त्यो नाजायज हो। सडक सबैको साझा सम्पत्ति हो। साझा अधिकार छ। सबैले हिँड्न पाउनुपर्छ।”

उहाँले विकल्पको रुपमा भ्यु टावरमा झण्डै तीन, चार सय चार पाङ्ग्रे सवारीसाधन अटाउने तथा करिब डेढ लाख स्क्वायर मिटरको धरहराको पार्किङ पनि छिट्टै खुल्ने बताउनुभयो।

निर्णय फिर्ता लिन व्यवसायीको माग

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरेको पार्किङ निषेधको निर्णय फिर्ता लिन व्यवसायीले माग गरेका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यावसायिक भविष्य सङ्कटमा पर्ने दाबी गर्नुभयो। उहाँले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायी व्यवसायबाट पलायन हुने अवस्था आउने बताउनुभयो।

कटुवालले भन्नुभयो, “अनावश्यक रूपमा न्युरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम महानगरले गरेको छ। विकल्पसहितको योजना लिएर महानगरपालिका नआएसम्म व्यवसायीको विरोध जारी रहन्छ। काठमाडौं महानगरपालिकाका प्रमुखले हात हाल्न नहुने क्षेत्रमा हात हाल्नुभयो। दरबारमार्ग थोरै व्यवसायीहरू भएको क्षेत्र थियो तर न्युरोड देशकै व्यापारको मुटु हो।”



आन्दोलनरत नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताउनुभयो। उहाँले व्यापारीले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरूलाई के जवाफ दिने भन्ने समस्या भएको बताउनुभयो। उहाँले महानगरले सवारी साधनको उचित हिसाबले पार्किङको व्यवस्था गरेर मात्रै पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो।

यस्तै, संयुक्त सङ्घर्ष समितिका संयोजक अमृत मानन्धरले पार्किङ हटाएको विरोधमा बुधबार सबै ठुला पसल बन्द गरेर विरोधमा उत्रिएको बताउनुभयो।

मानन्धरले भन्नुभयो, “जुन किसिमले महानगरले बन्द कोठाभित्र बसेर गरेको निर्णयले परापूर्व कालदेखि, जङ्गबहादुरको पालादेखि सबै चलिआएको बजारलाई विस्थापित गर्न भूमिका खेल्नुभयो। यसको घोर विरोध गर्दछौँ।”

सम्पदा क्षेत्रमा पार्किङ हटाएर व्यवस्थित गर्नु त ठिकै होला नि भन्ने जिज्ञासामा उहाँले सम्पदा क्षेत्रभित्र सवारी निषेध गरिएको महानगरको निर्णयलाई समर्थन रहेपनि व्यापारिक केन्द्रमा पार्किङ हटाइनु व्यवहारिक नभएको उहाँको भनाइ छ।



उहाँले भन्नुभयो, “आन्तरिक रूपमा धेरै समस्या छ। वैकल्पिक रूपमा पार्किङ भ्यु टावरमा दिएको छ। मान्छे व्यापारिक केन्द्रमा गाडी रोकेर आउने अवस्था देखिँदैन। किनभने, जहाँ ग्राहकलाई सुविधा हुन्छ, त्यही ग्राहक आउने हो।”

उहाँले भन्नुभयो, “करोडौं, अरबौं लगानी गरेर ७७ वटै जिल्लाबाट आएर व्यवसाय गरेका छौं। पार्किङ हटाएपछि मान्छे निकै कम भएको छ। कोरोनाको प्रभावले मार्केट त्यतिकै शून्य थियो। देशको आर्थिक स्थिति कलि कमजोर हुँदैछ। त्यो हुँदा–हुँदै पनि महानगरपालिकाले एकलौटी ढङ्गले व्यापारलाई धराशायी गर्ने गरी गरेको निर्णयको घोर विरोध गर्दछौँ।”

महानगरपालिकाले मङ्गलबारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो।  गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीकेशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्रीः 


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।