• १३ असोज २०८१, आइतबार

योजना कार्यान्वयनको समस्या खोज्न आयोग पदाधिकारीलाई उपप्रधानमन्त्री खड्काको सुझाव

blog

१६ औँ आवधिक योजनाको विषयमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्नुहुँदै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का ।

काठमाडौँ, माघ ९ गते। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औँ आवधिक योजनाका बारेमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ।

मङ्गलबार रक्षा मन्त्रालयमा  उपप्रधानमन्त्री खड्काले योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवालयका अधिकारीसँग आगामी आवधिक योजना १६ औँ आवधिक योजनाका बारेमा छलफल गर्नुभएको हो।

उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् ? तिनको समस्या पत्ता लगाई समाधानका उपायसहित १६ औँ योजना तर्जुमा गर्न सुझाव दिनुभएको हो।

१६ औँ आवधिक योजना बनाउँदा विभिन्न कारणले विकास निमार्णमा पछि परेका प्रदेशलाई क्षतिपूर्ति सहितको योजना बनाउने विषयमा पनि योजना आयोगका पदाधिकारीको उहाँले ध्यानाकर्षण गराउनु भएको छ।यसरी योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा  लागु हुने गरी बनाउनुपर्ने उपप्रधानमन्त्री खड्काको सुझाव थियो।

छलफलमा उहाँले आगामी योजना तर्जुमा गर्दा देशको भूगोल र मौसमअनुसार कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र  किसानको उत्पादनले बजार पाउने सुनिश्चितता गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभएको छ।

अहिले विकास निमार्ण गर्दा देखा परेका धेरै जसो समस्या र तिनको समाधानसहित नयाँ योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री खड्काले अहिले विकास निमार्ण गर्दा देखा परिरहेका लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ति र रुख कटानीको झन्झटिलो व्यवस्थाको विकल्प पहिचान गरी  योजना तर्जुमा गर्न योजना आयोगलाई आग्रह गर्नुभयो ।

कुनै पनि योजना बनाउँदा जनताले दैनिक रूपमा भोगिरहेका समस्याको समाधान हुने र जनताले पाउने सेवा सुविधालाई थप सहज बनाउने गरी समग्रतामा उल्लेख गरी कार्यान्वयन योग्य लक्ष्य प्राप्तिको सुनिश्चितता  गर्न उपप्रधानमन्त्री खड्काले आग्रह गर्नुभयो ।

छलफलको सुरुमा  आयोगका उपाध्यक्ष र पदाधिकारीले   १६ औँ आवधिक योजनाको तयारीबारे  उपप्रधानमन्त्री खड्कालाई जानकारी  गराउनुभएको थियो।

उपप्रधानमन्त्री खड्कासँगको छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य डा. अनिता शाह ढुङ्गाना, सदस्य सचिव डा. तोयानारायण ज्ञवाली, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव ज्ञानेन्द्र पौडेललगायतको सहभागिता थियो।