विनय कर्ण
कल्याणपुर (सप्तरी), असार २६ गते । सप्तरीको राजविराज नगरपालिका ९ स्थित मलेठ टोलमा बिहीबार आगलागी हुँदा दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय पुलकित खंगको घरमा आगलागी भई तीनवटा घर सहित अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद सहित जलेर नष्ट हुँदा सो क्षति भएको हो ।
घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो। उहाँले आगलागीबाट घर र घरभित्र रहेको भाडा वर्तन, कपडा लाता, अन्नपात, नगद ४० हजार रुपैयाँ, र काठ समेत गरी दुई लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको बताउनुभयो ।
विहान १० बजे भएको आगलागी प्रहरी उपरीक्षक गौतमकुमार केसीको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोली, स्थानियबासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।