• १६ भदौ २०८१, आइतबार

नेपाली कविता/काव्यमा ‘हिमाल’

blog

नेपाली कवितामा विम्ब, प्रतीकहरूको प्रयोग यथेष्ट मात्रामा हुँदै आएको पाइन्छ । विशेषतः आधुनिक कालखण्डमा नेपाली कविताको पदार्पण भए यता विम्ब, प्रतीकहरूको प्रयोगको क्रममा अझै गतिशीलता एवं व्यापकता आउँदै गरेको अनुभव हुन्छ । केही नेपाली साहित्यिक द्रष्टा/समालोचकद्वारा कवितामा प्रयुक्त विम्ब/प्रतीकहरूको अलग्गै अध्ययन एवं विश्लेषण गर्ने क्रमलाई पनि सँगसँगै अघि बढाइएको पाइन्छ । त्यसका निम्ति समालोचकद्वारा आआफ्ना सैद्धान्तिक अध्ययनका आधारमा तय गरिएका विषय वा सैद्धान्तिक अवधारणा अनुसार कवितामा प्रयुक्त विम्ब÷प्रतीकको खोजी/अवलोकन गरी तिनको भावपरकता वा कवितात्मक उपादेयता एवं सापेक्षतालाई प्रस्ट्याउने प्रयास गरिँदै आएको पाइन्छ । 

नेपाली कविता/काव्य जगत्मा इतिहासदेखि नै स्रष्टाहरूद्वारा अनवरत रूपमा प्रयोग गरिँदै आएका केही त्यस्ता विम्बात्मक सन्दर्भ वा विम्बमूलक कविता/काव्यात्मक आधारभूमिहरू छन् तिनका बारेमा भने सघन रूपमा समालोचकहरूको पर्याप्त ध्यानाकर्षण हुन बाँकी नै रहेको पनि प्रतीत हुन्छ । सिद्धान्ततः प्राकृतिक विम्ब अन्तर्गत समाविष्ट गरेर अध्ययन गर्न सकिने भए पनि नेपाली कविता÷काव्य जगतमा ‘हिमाल’ ले ओगटेको विम्बात्मकतालाई लिएर अझै विस्तृत अध्ययन, चिन्तन गर्न सकिने देखिन्छ । यस आलेखमा केही प्रतिनिधि कवितामा अंशतः प्रयोग गरिएका ‘हिमाल’ को विम्बात्मक उपस्थितिका सम्बन्धमा सङ्क्षिप्ततः चियाउने प्रयत्न गरिएको छ । 

अवधारणाः भूगोलको भिन्न भिन्न स्थानमा भिन्न भिन्न जीवनशैली वा संस्कृतिको उदय हुन्छ । संसार विविधतायुक्त हुनुको प्रथम मूल कारण पनि भौगोलिक विविधता नै हो । मानव जीवनको भौतिक वा शारीरिक अस्तित्व जसरी भूगोलसँग एकाकार भएर आरम्भ, विकास र विस्तारित हुँदै जान्छ उसरी नै उसको मानसिक विकास र विस्तार पनि भइरहेको हुन्छ । घरको झ्यालबाट हिमाललाई सधैँ हेरिरहने च्याङ्वाले उसकी आमा वा हजुरआमाले हिमाललाई पूजा गरेको देख्छ । ऊ त्यहीँको सपना देख्छ । मधेशको रामरिझन दौँतरीहरूसँग होली र माघीमा नाच्दै, रमाउँदै हुर्कन्छ । उसले त्यतैको सपना पनि देख्छ । हिमालदेखि अविरल बहिरहने नदीनालाले तिनलाई जोडेका छन् । सबैतिरको नेपाली मानव जीवनको भौतिक गतिशीलता र अस्तित्वको आधार हिमाल बनेको अनुभव हुन्छ । नेपालभन्दा बाहिरको पनि ठुलो भूभागसँग हिमाल जोडिएको छ । विभिन्न भौगोलिक खण्डहरूमा अनेकौँ मानव बस्तीको आरम्भ हुँदै आएपछि त्यहीँ त्यहीँका भौगोलिकता, स्थानीयता र पर्यावरणीयता अनुसारका चालचलनले निरन्तरता पाउँदै गएर तिनले संस्कृतिको रूप लिँदै आए । पृथ्वीनारायण शाहद्वारा भौगोलिक एकीकरणको आरम्भ गरिएपछि हिमाली, पहाडी वा तराई सबै भूखण्ड नेपाल राज्यभित्रका भौगोलिक इलाका बने ।

आजको नेपाल हिमालयको देश भनेर विश्वमा चिनिएको छ । हिमाली छहारीमा नेपाली जाति बाँचेका छाँै । हिमाल धर्तीको शिर मात्र नभई नेपाली जातिकै शिर हो । हिमाल नेपालीको निम्ति जीवनको अस्तित्वको आधार हो । हिमालले छिमेकी मुलुकलाई समेत जीवनदान दिएको छ । 

प्राकृतिक रूपमा हिमाल भूगोलको अलङ्कार त हुँदै हो, साहित्यमा पनि हिमाल उच्चता, सौन्दर्य, आशावादिता, जागरण, शान्ति, ऐकान्तितता, साहस, अटलता र चुनौतीको प्रतीक र विम्ब पनि बन्दै आएको छ । नेपाली स्रष्टा साधकलाई हिमालले कल्पना र चिन्तनको अन्त्यहीन पियूषधारा बगाउँदै आएको छ । असङ्ख्य स्रष्टाद्वारा अतीतदेखि नै साहित्यमा ‘हिमाल’ बारे चिन्तन गरिँदै आएको छ । यसो पनि अनुभूत गर्न सकिन्छ कि हिमालले स्रष्टालाई प्रेरणा दिँदै आएको छ । 

धर्तीले चेतना दिन्छ, दिँदै आएको छ । हिमाल कसरी स्रष्टाका लागि प्रेरणादायी रहँदै आएको छ त भन्ने कुरा त्यसले उत्पन्न गराउने अनुभूतिसँग सम्बन्धित छ । विश्वास एवं पराविश्वासको स्रोत बनेर हिमालय क्षेत्र प्राचीन कालदेखि नै शास्त्रहरूमा सजिँदै आयो । यस विश्वासलाई अझै हिमालय क्षेत्रले मेटिन दिएको छैन । 

वेदका अन्वेषक डा. स्वामी प्रपन्नाचार्यका अनुसार वैदिक कालदेखि नै हिमालय साहित्यमा अङ्कित हुन थाल्यो । आर्यहरू हिमालय पार्वत्य क्षेत्रकै बासिन्दा थिए र अन्यत्र फैलिँदै गए । ऋग्वेदमा हिमालयको चर्चा गरिएको पाइन्छ । आर्यहरूको जन्मस्थल सुमेरु पर्वतीय क्षेत्र रहेको भन्ने महाभारतमा वर्णित सत्यलाई प्रपन्नाचार्यले उल्लेख गरेका छन् ।

पूर्ववैदिक कालदेखि नै मानव चैतन्यद्वारा निर्मित सांस्कृतिक सामाजिक उपलब्धि र तदनुसारका चिन्तनहरूलाई प्रारम्भमा ऋग्वेद र पछि अन्य वेदहरूमा अभिलेखन गरियो । पुराण वा उपनिषद्हरू अझ पछि अभिलिखित हुँदै आए । आर्यहरू अर्वाचिन हिमशैलीय प्रदेशबाट अन्यत्र फैलिए पनि छातिभित्र हिमालकै मुटु लिएर गए । संस्कृत भाषालाई विश्वकै सबैभन्दा प्राचीन भाषा मानिएको छ । संस्कृत मूल भाषाबाटै दक्षिण एसियाली महाद्वीपका धेरै अन्य भाषाको व्युत्पत्ति भएको कुरा भाषाशास्त्रीहरूले बताउँदै आएका छन् । नेपाली भाषाको एक प्रमुख जन्नि पनि संस्कृत रहेको विद्वान्हरू बताउँछन् ।

हिमालय प्रदेश नेपाली वाङ्मयको आदि स्रोतका रूपमा रहेको कुरा अन्वेषकहरूको बताउँदै आएका छन् । समस्त वैदिक संस्कृति र सभ्यताकै उद्भव वर्तमान नेपालको सरहद र त्यसभन्दा पश्चिम र पूर्व समेत विस्तारित हिमालयकै प्रभाव क्षेत्रमा भएको मानिन्छ । नेपाली भाषाले आफ्नो प्रथम अस्तित्वको आधार वर्तमानको पश्चिमोत्तर हिमाच्छादित पर्वतीय काखमा निर्माण गरेर समयान्तरमा अन्यत्र फैलिँदै आएको विद्वान्हरूको मत रहेको पाइन्छ । हिमाली वा पार्वत्य संस्कृतिको अरुणोदय वैदिक कालभन्दा पहिल्यै भएको समेत मानिन्छ । सामाजिक चेतना विस्तार हुँदै जाने व्रmममा समाज व्यवस्थित पनि हुँदै आयो । त्यसको प्रभाव मानवीय संस्कृति र व्यवहारमा पर्दै जानु स्वाभाविक थियो । यस सन्दर्भमा हिमाली धरा निर्मित चैतन्यको उपजका रूपमा उत्तरवैदिककालीन समाजले साहित्यमय चिन्तनको अङ्कुरण गराउन थालेको आशय अन्वेषक पूर्णप्रकाश नेपाल ‘यात्री’ को रहेको बुझ्न सकिन्छ; “विशाल हिमदृश्यको शान्त, सुरम्य अवलोकन र त्यसतर्फ नतमस्तक हुन हुन खोजेको अवस्थामा उभिएका गगनस्पर्शी पर्वत शिखर यस संस्कृतिका प्राणदाता हुन् भन्नमा सन्देह छैन । स्पष्टगतः यिनै पर्वत शिखरका भावाविभूत छविको प्रभूत योगदान पाएर नै यो पार्वत्य संस्कृति अनादिकालदेखि जीवन्तता ग्रहण गर्दै आएको छ । अनादिकालदेखि अनन्तसम्म अविनाशी जस्ता बनिरहेका यी गन्धमादनको प्रेरणा प्राप्त गरेर उत्तरवैदिककालीन समाजले आफ्ना दिनचर्याहरू व्यवस्थित गर्दै ल्यायो अनि साहित्यमय धारणा पनि तदनुरूप स्थिर गर्दै ल्यायो ।” (सिंजाको ऐतिहासिक रूपरेखा, २०४२, पृ. ७०)

नेपाली भाषाका प्राचीन अभिलेखहरू कर्णाली क्षेत्रबाटै प्राप्त भएका मानिन्छन् जुन समग्र नेपाली वाङ्मयकै पनि स्रोत हुन् । वाङ्मय भन्नाले भाषा, कला, साहित्य, संस्कृति एवं ज्ञान विज्ञान तथा अन्यान्य चैतन्यदायी लिखित÷अलिखित अभिलेखन र अभिज्ञानको समुच्चय हो भन्न सकिन्छ । ‘नेपाल मण्डल’ का अतिरिक्त कर्णालीको सिंजा प्रदेश वा प्राचीन सिंजा राज्य नेपाली वाङ्मयको अर्को उत्तिकै प्रमुख आधारशीला रहेको विद्वान्हरूको राय पाइन्छ । 

सांस्कृतिक भौगोलिकताका दृष्टिले प्राचीन शास्त्रहरूमा हिमालयको उल्लेखसँगै ‘नेपाल’ पनि जोडिएर आएको कुरा संस्कृतिविद्हरूले बताएका छन् । हिमवत्खण्ड पुराण, पशुपति पुराण, महाभारत आदि ग्रन्थहरूमा नेपाल र हिमालयको अवस्थिति र महत्ताका सम्बन्धमा चर्चा गरिएको सन्दर्भबारे विवेचना गर्दै संस्कृतिविद् प्राडा जगमान गुरुङले नेपालको वाङ््मय विकासमा हिमवत्खण्डले विशेष योगदान पु¥याएको बताएका छन्; “नेपाल हिमवत्खण्डमा अवस्थित छ । त्यस कारण हिमवत्खण्ड पुराणमा नेपाललाई हिमवत्सानु सुन्दरम् अर्थात् हिमालय जस्तै सुन्दर भनेर वर्णन गरिएको छ । हिमवत्खण्डले अतीतकालदेखि नै भाषा, साहित्य, कला, सभ्यता, संस्कृति र ज्ञान–विज्ञानको विकासमा विशेष योगदान दिएको छ ।” (नेपाली राष्ट्रियता, सम्पाः २०७०, पृ. १५)

प्राचीनकालदेखि नै यस क्षेत्रको वाङ्मयको उन्नतिका लागि हिमालयको दिव्यता र सौन्दर्यले यथेष्ट योगदान पु¥याउँदै आएको कुरा डा. गुरुङको भनाइबाट बुझ्न सकिन्छ । 

अर्कातिर आधुनिक वैज्ञानिकहरूका दृष्टिमा मानिस स्वयं नै प्राकृतिक तवरमा विकसित हुँदै जाने प्राणी हो । प्राकृतिक तवरमै उसको शारीरिक विकास र चेतनाले आकार प्राप्त गर्दै गएर ऊ पूर्ण मानव बन्दछ । यसरी मानिस प्राकृतिक उद्विकासशीलताको उपज भएको हुँदा जे जस्तो प्राकृतिक सन्निकटतामा ऊ जन्मिन्छ, हुर्किन्छ, उसले त्यस्तै शारीरिक–मानसिक अनुकूलता अनुरूपका गुण वा क्षमताहरूलाई ग्रहण गर्दै जान्छ । हिमाली निकटता वा हिमाली पर्यावरणीय प्रभाव क्षेत्रमा जन्मेका मानिसमा त्यसको उच्चता, विशालता र पवित्रताको प्रभाव स्वतः सम्मिलित रहन्छ । यसैले समस्त हिमाली पार्वत्य भू–सामाजिक पर्यावरणीय प्रभावद्वारा आर्य वाङ्मयजगत अभिसिञ्चित रहँदै आएको चिन्तन साहित्यकार एवं इतिहासकार बालचन्द्र शर्माले गरेका छन्; “...डार्बिनले बताएका छन् कि प्राणीहरूको शारीरिक र मानसिक विकासमा परिस्थितिको असर पर्दछ अथवा भनौँ प्राकृतिक परिस्थितिले नै प्राणीको भौतिक र मानसिक गुणहरूको विकास गर्दछ । यस दृष्टिले हाम्रो राष्ट्र विशेष अनुकूलतामा छ । सौन्दर्य र सम्पन्नताको महान् स्रोततुल्य हिमालय हाम्रो देशको पृष्ठभूमिमा छ । यसका शुभ्र र आकाशचुम्बी शिखरहरू दर्शकको मनमा उच्चता, विशालता र पवित्रताको भावना भर्दछन् । 

केवल हाम्रो स्थानीय साहित्य मात्र होइन, वरन् सम्पूर्ण आर्यवर्तीय साहित्य र कलामा हिमालय महत्तम प्रेरक शक्तिका रूपमा विद्यमान छ ।” (नेपाली साहित्यको इतिहास, २०३९, पृ. ५) 

हिमालयको शुभ्रता, विशालता एवं सौन्दर्यले मानिसलाई चेतना दिन्छ, दिँदै आएको छ । यस्तो धरातलीय सौन्दर्यशाली उच्च हिमालयले आसपासको प्रदेशमा मात्र नभई समग्र आर्यवर्तीय वाङ्मयका लागि सामाजिक, मानसिक आधारशीलाको निर्माण गर्न प्रेरणा प्रदान गर्दै आइरहेको कुरा शर्माले औँल्याएका छन् । हिमालयको विस्तिर्ण सूरम्य सेरोफेरोमा रहेकोे वानस्पतिक व्यापकता, जैविक विविधता एवं सुन्दर नदीनाला र प्राकृतिक सौजन्ययुक्त अपरिमित अलौकिक उच्चताभाषद्वारा सर्जकहरूलाई काव्यरचनाका लागि स्वतः आह्वान भइरहने र हिमाली सौन्दर्य आफैँमा मनोहर काव्यरचना झैँ रहेको चिन्तन शर्माले गरेका छन् । 

काव्यिक विचरणः साहित्यलाई वाङ्मयको एउटा शीर्ष आयामका रूपमा बुझ्न सकिन्छ । इसापूर्वका संस्कृत साहित्यका महाकवि कालीदासले आफ्ना काव्य वा नाटकमा हिमालयको प्रचुर वर्णन गरेको कुरा संस्कृत भाषा साहित्यका विद्वान्हरूले बताउँदै आएका छन् । कवि एवं वाङ्मयसाधक कुलचन्द्र कोइरालाले कालीदासकृत मेघदूत काव्यको नेपाली भाषामा अनुवाद गरेका छन् । अनूदित कृतिको भूमिकामा कोइरालाले महाकवि कालीदासद्वारा लिखित साहित्यमा हिमालयको यथेष्ट वर्णन गरिएको जनाएका छन्; “नेपाल उच्च हिमगिरिका काखमा रहेको सुन्दर देश हो । महाकवि कालीदासका कृतिमा हिमालयको सरस वर्णन प्रशस्त पाइन्छ । ‘कुमारसम्भव’ मा हिमालयको गरिमायुक्त गाथा भरिएको छ भने ‘रघुवंश’ का दिलीप वशिष्टको गाई चराउन हिमालयको काखमा पुग्छन् । अमर कृति ‘मेघदूत’ मा हिमाली क्षेत्रको अलकामा बस्ने प्रेयसी यक्षिणीलाई मेघद्वारा अमर प्रेमको सन्देश पठाउँछन्... ।” (मेघदूत भूमिका, २०६८, पृ.घ)

हिमाली सौन्दर्यको काव्यिक बयान गर्ने महाकवि कालीदासलाई कोइरालाले नेपाली काव्य जगतका निकटका प्रतिभा रहेको बताएका छन् । मेघदूतमा हिमालयको अनेकबार वर्णन गरिएको पाइन्छ । 

प्राचीन आर्यवर्तीय वाङ्मय वा साहित्यलाई भौगोलिक रूपमा देशीयता या क्षेत्रीयताको परिधिमा सङ्कुचन गरिएको पाइँदैन । प्राचीन हिमवत्खण्डको भौगोलिक सीमा ज्यादै विस्तृत रहेकोे बताइन्छ । विद्वान्हरूका अनुसार हिमालयका पाँच खण्ड अन्तर्गत नेपाल, कुमाउँ, केदार, जलन्धर र काश्मीर रहेको ज्ञात हुन्छ । कुमाउँ पूर्वतर्फको सम्पूर्ण हिमालय क्षेत्र प्राचीन नेपाल अन्तर्गत रहेको कुरा इतिहासकारहरूले बताएका छन् । कालीदासीय साहित्यमा वर्णित हिमालयको गौरवशाली उपस्थिति प्राचीन नेपाल अन्तर्गत पनि रहेको बोध गर्न सकिन्छ । उनको काव्यिक कल्पनाशीलता समस्त हिमाली सौन्दर्यशाली धराद्वारा अभिसिञ्चित ऊर्जाद्वारा निर्देशित देखिन्छ । अनूदित काव्यांश यस्तो छ; 

“हेर्दै जाउ धवलगिरिका काखमा क्यै शिलामा

स्पष्टै होलान शिवचरणका छाप तेही थलामा

जम्मा पारी फलफूल तथा धूप–नैवेद्यसाथ

पूजा गर्छन् विविध दिनहुँ सिद्ध राखेर माथ ।” (मेघदूत, २०६८, पृ.३०)

उच्च गण्डकी प्रशवण क्षेत्रप्रतिको सनातन आस्था र विश्वासलाई यस पद्यांशमा बडो सुन्दर ढङ्गमा चित्रण गरिएको पाइन्छ । यता घिमिरेले ‘कालीगण्डकी’ मा शालिग्रामको आस्तिक महìव दर्साएका छन् । कालीदासीय काव्यमा त्यहाँ प्राप्त हुने शिलामा शिवचरणका निशानको दर्शन पाइने हुँदा ती पूजनीय÷दर्शनीय रहेको विश्वास प्रकट गरिएको पाइन्छ । कालीदास हिमाच्छादित गिरिका निकटवर्ती देवधामका माथि माथि भएर सकल सौन्दर्यवेष्टित भू–दृश्यहरूको व्योममार्गीय अवलोकन गर्दै दक्षिणावर्ततिर लाग्न जलधर (मेघ) लाई निर्देश गर्दछन् । कालीदासीय वाङ्मयमा सजिएको हिमाली प्राकृतिक सौन्दर्यगाथा आर्यवर्तीय साहित्यिक वाङ्मयकै साझा खजाना हो । नेपाली भाषामा अनूदित ‘मेघदूत’ नेपाली भाषा–वाङ्मयको पनि एक अंश बनेको बुझ्न सकिन्छ । नेपाली भाषामा मेघदूतको रूपान्तरण कवि कुलचन्द्र कोइरालाका अतिरिक्त अन्य नेपाली स्रष्टाहरूद्वारा पनि भएको ज्ञात हुन आउँछ । 

त्यसो त अनेकौँ ऋषिमुनिद्वारा संस्कृत भाषामा रचित काव्य कवितालाई नेपालीमा भावानुवाद गर्ने स्रष्टाहरू निकै रहेका छन् । संस्कृति भाषाका काव्य रचयिता धेरैले हिमालयको सचित्र सौन्दर्य गाथालाई काव्यानुभूतिका चास्नीमा घोलेर अन्त्यहीन आस्वादन गराएका छन् भन्ने कुरा नेपाली काव्य रचयिताहरूद्वारा गरिएका अनुवादको सामान्य अवलोकनबाट पनि महसुस गर्न सकिन्छ । यस सन्दर्भमा ‘पृथ्वी सूक्त’ को नेपाली भाषामा अनुवाद गरी कविवर÷राष्ट्रकवि माधव घिमिरेले ‘धर्ती माता’ काव्य प्रकाशन गराएका छन् । अथर्वा ऋषिद्वारा ‘पृथ्वी सुक्त’ को रचना गरिएको कुरा घिमिरेले बताएका छन् । ‘पृथ्वी सुक्त’ मा वर्णित धर्तीलाई नेपाली धर्तीको सादृश्यतामा काव्यिक सम्मिलन÷अन्तरघुलन गराउँदै घिमिरेद्वारा गरिएको अनुवादमा हिमाल र हिमाली पर्यावरणीय सौन्दर्यधारा कल्कलाएको अनुभूत गर्न सकिन्छ; 

“छन् शैलमाला हिमवन्त तिम्रा

छन् शान्तिदायी वनपात तिम्रा

थलाथलामा घुमी घाम छायाँ

पलापला चित्र विचित्र काया...।” (राष्ट्र निर्माताः धर्तीमाता सर्ग ७, पृ. ५१)

यहाँ हिमाली प्राकृतिक सौन्दर्य चित्रण बडो प्रभावकारी छ । हिमाली सौन्दर्यको चित्रणबिना पृथ्वीगानले पूर्णता नपाउने ठानेर नै ऋषिले हिमशैलमालाको वर्णन गरेका थिए । कालीदासभन्दा शताब्दीऔँ पहिले नै ‘पृथ्वी सूक्त’ लेखिएको अनुमान गर्न सकिन्छ जसमा हिमाली सौन्दर्यले काव्यकारलाई प्रेरित ग¥यो । स्रष्टा घिमिरेद्वारा नेपाली भाषामा अनुवाद गरिएसँगै ‘पृथ्वी सुक्त’ को नेपाली काव्यिकरण भएको स्वतः अनुभूत हुन्छ । 

राष्ट्र–निर्माता खण्डकाव्यमा पनि घिमिरेले हिमालसँग उत्तिकै काव्यिक आत्मीयता राखेका छन् । 

वर्तमान नेपाली स्रष्टा साधकहरूका लागि हिमाल अनवरत सिर्जना स्रोत बनेर अग्लिने र चम्किने गरेको भएपनि माध्यमिक कालीन कविहरूमा हिमाली सौन्दर्यले त्यति काव्यिक आकर्षण जगाउन सकेको पाइँदैन । हिमाली परिवेश र त्यहाँको सौन्दर्यद्वारा अभिप्रेरित भएर त्यसतर्फ खिचिने आधुनिक नेपाली कविता–काव्य जगत्का अग्रज स्रष्टा हुन् कवि शिरोमणि लेखनाथ पौड्याल । पौड्यालका फुटकर कवितामा हिमालको यथेष्ट प्रशास्ती वा अर्चना गरिएको पाइन्छ । उनीद्वारा लिखित ‘हिमाल’ शिर्षक कवितामा हिमालय पर्वत शृङ्खला–प्रदत्त प्राकृतिक र आध्यात्मिक भावानुभूतिलाई सुन्दर ढङ्गले अभिव्यक्त गरिएको पाइन्छ । सारा सृष्टिको अवलोकन गरिरहेको सिद्धात्मा झैँ लाग्ने हिमाल नेपाली मात्रको अटल सौभाग्य स्तम्भ बनेर उभिएकोमा कवि गौरवान्वित हुन्छन् । सनातन धार्मिक विश्वासका सर्वोच्च देवादिदेव शिव र गौरीको सुन्दरतम् लीलाधाम र पावन विश्रामस्थलका रूपमा अनुभूत गर्दै गराउँदै पौड्यालले हिमाललाई सकल हिन्दु आस्थाको अटल प्रतीकका रूपमा समेत चित्रण गरेका छन्; 

“गङ्गाको जन्म धर्ती शुचितम शिवको शान्त विश्रान्ति धाम

गौरीको मञ्जु लीला–महल चहकिलो रत्नशोभाभिराम

पस्नै सक्दैन जसमा सितिमित कहिल्यै काल कालो कराल

त्यो दीव्य स्तम्भ जस्तो अति अटल अहा धन्य हाम्रो हिमाल ।” (नेपाली कविता सङ्ग्रह–१, सम्पाः २०३०, हिमाल, पृ.१५)

हिमाली प्रदेश भन्नेबित्तिकै नेपालको उत्तरीय गगनचुम्बी श्वेत शैलादीहरू आँखासामु उभिन्छन् र तिनले नेपालीका मन मस्तिष्कमा उच्चता, शान्ति र गर्वको भाव उमार्दछन् । ऋतुविचारमा पौड्याल हिमाललाई तपस्वीको उपमा दिन्छन्; 

“हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम ।

देखिन्छन् आत्म–विद्याका सिद्धान्त सरि दुर्गम ।।

बिहानै शिरमा पर्दा सूर्यको किरणावली ।

मूर्ति धारी तपस्वी झैँ झल्कन्छन् हिमका चुली ।।” (ऋतुविचार, २०६२, पृ. ४२) 

हिमालद्वारा उत्पन्न दार्शनिक भावलाई पौड्यालले ऋतु विचारमा अनेकाँै पटक फरक फरक भावानुभूतिका साथ अभिव्यक्त गरेका छन् । आधुनिक नेपाली कवितामा पौड्याललाई प्रथम हिमाली सौन्दर्योपासक कविका रूपमा पनि स्मरण गर्न सकिएला । पौड्यालको ऋतु विचार काव्य वि.सं. १९७३ सालमा प्रथम पटक प्रकाशन भएको बुझिन्छ । 

महाकवि लक्ष्मीप्रसाद देवकोटा स्वच्छन्तावादी प्रकृतिवादी कवि हुन् । उनीद्वारा सिर्जित अधिकांश कविता, खण्डकाव्य, महाकाव्यहरूमा यत्रतत्र प्रकृति छङ्छङाएर बोल्दछ, खिल्दछ । तिनमा प्रकृतिकै अनन्तता र रहस्यहरूको स्वच्छन्द काव्यिक अन्वेषण र रहस्योद्घाटन गरिएको पाइन्छ । देवकोटीय कतिपय फुटकर कविता हिमाली प्राकृतिक, सामाजिक एवं आध्यात्मिक सौन्दर्य चिन्तनद्वारा परिपोषित छन् । 

देवकोटाद्वारा हिमाली सौन्दर्यको सजीव चित्रण गरिएको यस्तै एउटा सुन्दर कविता हो– पोखरा । यस कवितामा देवकोटाले हिमशिखर माछापुच्छ«ेलाई पोखराको ‘बादसा’ का रूपमा अलङ्कृत गरेका छन् । निकटका सबै अन्य चुचुरा एवं भू–दृश्य सबैको ‘श्रीपेच’ भएर माछापुच्छ«े उभिन्छ । कवितामा माछापुच्छ«े र अन्नपूर्ण हिमाल प्राकृतिक राजारानीका रूपमा आशीन छन् । देवकोटा तिनले जगतकै लागि सभ्यता, शुभ्रता र सत्यको सन्देश दिइरहेको देख्छन्; 

“माछापुच्छ«े ! यस जगतको सभ्यता शुभ्र क्रन्ति !

शिल्पै मिठो ! युवती सुकला ! दिव्य सन्देश शान्ति !

चट्टानै छन् युवक महिमा ! छन् नदी काव्य–दान !

नेपालीको रस–मुटु यही, भारतीको मुहान !” (लक्ष्मी कविता सङ्ग्रह, २०७६, पृ. १५४) 

देवकोटा माछापुच्छे« सामुन्नेको धरतीलाई सिर्जना अनुष्ठान स्थलका रूपमा पनि देख्छन् । उनी हिमालका सहस्र चुलीहरूलाई सत्य–नीतिका पालक सम्झन्छन् । देवकोटाभित्र हिमाली शुभ्रता र उच्चताले उत्पन्न गराएको काव्यिक उद्वेगलाई ‘पोखरा’ शीर्षक कविताले अत्यन्त सघन र वेगमय काव्यानुभूतिका साथ अभिव्यक्त गरेको पाइन्छ ।

हिमाली सौन्दर्य धारालाई देवकोटाले ‘मुना मदन’ मा झन् बढी छङ्छङाएका छन् । खण्डकाव्यको कथानक प्रवाहमयतालाई यात्रामार्गसँगैको भौगोलिक एवं प्राकृतिक, पारिवेशिक वर्णनले झन् सरसपूर्ण र रोमाञ्चक बनाएको पाइन्छ । मदनको यात्रापथ उच्च हिमाली चुचुराका निकट भएर अघि बढ्छ जहाँ धरती स्वर्गतुल्य एकान्तको साम्राज्य झैँ लखबत्ती चुलीहरूमा सर्वदा झल्मलाइरहन्छ;

“पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल

काँधमा स्वर्ग बोकेर हेर्थे नीलिम नेपाल,

दिनले लिँदा पहिलो झुल्को सगरमाथामा

उषाले बाल्थिन् लखबत्ती–चुली सुनौला ज्वालामा ।” (मुनामदन, २०७४, पृ.९)

हिमालका दिप्तीमय चुलीलाई देवकोटा ईश्वरीय निवासस्थलका रूपमा देख्छन् । हिमाली सौन्दर्यले उत्पन्न गराउने भावातीत अनुभूतिलाई कवि देवकोटा आध्यात्मिक÷पराभौतिक विश्वासमा जोडेर आत्मिक आनन्द लिँदै आल्हादित रहन्छन् । हिमशिखरका चुचुरामा देवकोटा उमा र शिवको वास रहेको विश्वास गर्दछन्; 

हिमालको सौन्दर्यमा मोहित नहुने स्रष्टा को होलान् र ! हिमालले स्रष्टाको कलमलाई प्रायः जहिले पनि रससिक्त बनाउँदै आएको छ । सामुन्नमा हिमाल छ र त नेपाली कवि हृदयमा त्यसको काव्यिक सम्मोहन प्राप्त छ । 

कवि माधव घिमिरे हिमाललाई हृदयको आँचलमा सजाएर कविताका मन्त्रहरूको सिर्जना गर्दै गाइरहन्छन् । उनले हिमाल र हिमाली परिवेशलाई आधार बनाएर कैयौँ कविता लेखेका छन् । ‘अन्नपूर्ण’, ‘दुलही हिमाल कञ्चनजङ्घा’, ‘गौरी र शङ्कर’ लगायत शिर्षकमा सुन्दर कविता लेखेर घिमिरेले हिमाललाई काव्यिक अवतार गराएका छन् । हिमाली परिवेशलाई काव्यमय बनाएर लेखिएका उनका कवितामध्ये ‘कालीगण्डकी’ लाई एक उत्कृष्ट कविता मानिन्छ; 

“माछापुच्छ«े गिरिशिखरको पारमा मुक्तिक्षेत्र

बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र

तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम

कालीगङ्गा भनन कसरी कुँद्दछ्यौ शालिग्राम ।” (चैत–वैशाख, २०६०, पृ. ३७)

अन्नपूर्ण, गौरी शङ्कर आदि पर्वतलाई देवताकै प्रतिरूप मानेर पूजा गरिन्छ । त्यसो त कतिपय हिमालका नामकरण पनि आराध्य देवदेवीकै नामबाट गरिएका छन् । गौरी र शङ्कर पार्वती शिवका आराध्य प्रतीक मानिन्छन्; 

“ह्युँका कणा किरणका रङ्गमा मुछूँ कि

त्यै अक्षता छरिवरि म पनि पुजूँ कि 

यो देवभूमितिर अर्चित मूर्ति जस्ता

गौरी र शङ्कर मनोहर हेर, कस्ता ।” (चैत–वैशाख, २०६०, पृ. ७९)

घिमिरे देवचुलीहरूको काव्यात्मक आराधना गर्दछन् कवितामा । प्रकृति पूजनीय छ । हिउँका कणलाई किरणका सुनौला रङ्गमा मुछेर हिउँकै अक्षताले गौरी शङ्करको अर्चना गर्ने कवि, गौरी शङ्कर चुली झैँ भावनामा आकाशिएका छन् । गौरी शङ्कर चुचुराको सौन्दर्यभित्र कवि घिमिरे एकाकार भएर कविता सिर्जन गर्दछन् । हिमाल नेपाली सभ्यता संस्कृति अनि राष्ट्रियताको वाहक, संरक्षक बनेर अग्लिन्छ घिमिरेका कवितामा । कविको राष्ट्रप्रेम, राष्ट्रभक्ति हिमाल झैँ उच्च छ; 

चिन्तक वा दार्शनिकहरूले प्रकृतिभित्र नयाँ नयाँ चिन्तन र दर्शनका स्वर्ण दाना पहिल्याउँछन् र तिनलाई मानव चैतन्योन्नतिका सूत्र बनाउँछन् । कविले आफ्नो चिन्तन र दर्शनकै पृष्ठभूमिमा उभिएर कविता कोर्दछ । हिमालले स्रष्टालाई काल्पनिकी मात्र दिएको छैन, चिन्तन र दर्शनका नयाँ सूक्त फेला पार्न पनि गहकिलो आधार दिएको छ । 

कवि भानुभक्त पोखरेलले ‘हिमवत्खण्ड’ नामक महाकाव्यमा पूर्व वैदिक, वैदिक एवं वैदिकोत्तर पुराण, उपपुराण, उपनिषद् आदि वाङ्मय सामग्रीको आधार लिइएको बताएका छन् । यसमा हिमशैलीय परिवेशमा आवेष्टित अति प्राचीन मानव सभ्यताका निसानहरूलाई पहिल्याउने र अथ्र्याउने प्रयत्न महाकाव्यकारद्वारा गरिएको बुझिन्छ । हिमालयको भौतिक अस्तित्वको सुन्दर वर्णनसँगै महाकाव्य आरम्भ भएको छ । वैदिक वाङ्मयमा उल्लेखित आर्यवर्तीय मिथकीय घटना, परिघटनाका केस्रा केलाउने प्रयत्न महाकाव्यकारले गरेका छन् । यसमा हिमशैलादीको वर्णन पनि बडो प्राञ्जलिक तवरमा गरिएको पाइन्छ;

“लम्बेतान विशाल भूधरधरा वन्यालि नीलाम्बरा

सङ्ला निर्झर दुग्धधार बहने वक्षोजका टाकुरा

हाम्रो आदिम देश–वास हिमवत्खण्डीय भूभागमा

हाम्रा लाखन वर्ष पूर्व पुरखा बस्थे यसै ठाममा ।” (हिमवत्खण्ड, २०६४, पृ. २)

महाकाव्यको कथावस्तुले ओगटेको भौगोलिक क्षेत्र नै विशाल हिमालय क्षेत्र र सन्निकट पार्वत्य क्षेत्र रहेको प्रतीत हुन्छ । पोखरेलले महाकाव्यको रचना वैदिक मन्त्रहरूको सूक्ष्म अन्वेषणका आधारमा गरिएको बताएका छन् । अन्यान्य महाकाव्यकारहरूद्वारा रचित महाकाव्यहरूमा पनि यस प्रकारको हिमाल–वन्दना गरिएको हुन सक्छ । यस्तै कतिपय खण्डकाव्यमा पनि हिमालको वर्णन नगरिएको होला भन्ने छैन । यहाँ केही प्रतिनिधि कविता, काव्यका हिमालप्रति लक्षित सिर्जना–सन्दर्भलाई मात्र उल्लेख गर्ने प्रयत्न गरिएको हो । 

प्रायः नेपाली स्रष्टा मुलुकको जुनसुकै ठाउँमा रहने बस्ने गरेका भए पनि कतै न कतै कुनै न कुनै रचनामा हिमालको सन्दर्भ जोडी नै हाल्छन् । सबैभन्दा बढी स्रष्टाद्वारा लेखिने गरेको विधा कविता नै भएको छ र हिमालको सन्दर्भलाई पनि कवितामा नै बढी जोड्ने गरिएको पाइन्छ । कविता शास्त्रीय वा गद्य शैली जुनमा भए पनि हिमालको सन्दर्भलाई प्रायः अधिकांश कविद्वारा कुनै न कुनै रूपमा र कुनै न कुनै कवितामा छोइएको नै पाइन्छ । यसलाई हिमालले स्रष्टालाई पारेको प्रभावका रूपमा पनि लिन सकिन्छ । राष्ट्रिय गीतहरूमा त झन् हिमालको उल्लेख वा वर्णन धेरैजसोमा गरिएको नै छ । नेपालीको मनमा अखण्डित रूपमा स्वदेश वा विदेश जहाँ बसेका भए पनि हिमाल बसेकै हुन्छ । त्यसैले हिमाल नेपाली राष्ट्रियताको एउटा आधार पनि भएको महसुस हुन्छ, ‘उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ (घिमिरे), ‘हिमगिरि मण्डित, सुगन्ध–शोभित जयजय आमा नेपाल’ (सिद्धिचरण श्रेष्ठ), ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ (कालीप्रसाद रिजाल), ‘हिमाल झैँ अटल यो झुकेन शान हाम्रो’ (गोपालप्रसाद रिमाल), ‘मेरो टोपी कैलासको शिर जस्तो हिमाली भीर जस्तो’ (गोपाल योञ्जन) लगायत यस्ता असङ्ख्य राष्ट्रभक्ति गीतमा हिमाल बोल्छ, उठ्छ र हामीलाई उठाउँछ, जगाउँछ । 

पद्यमा मात्र नभई गद्य कवितामा पनि हिमालको प्रयोग उपमा, विम्ब, प्रतीक वा अलङ्कारका रूपमा निकै गरिएको पाइन्छ । मोहन कोइराला नेपाली गद्य कविताका एक विशिष्ट स्रष्टा हुन् । ‘देशको परिचय’ शीर्षक कवितामा उनले हिमाललाई ‘बेहुली’ को उपमा दिएका छन्; 

“सौभाग्यशाली हिमालको सिउँदोमा

रविले अवीर दलेपछि

वैशाखी लेक सुगन्धमा गम्केर

चराको बाजासित

आँखाले दृश्य चुसिन्छ

हरेक दिन विवाह हुन्छ...” (मोहन कोइरालाका कविता, सम्पाः २०३०, पृ.७) 

यस्तै कोइरालाले हिमाली–लेकाली परिवेशलाई अनेक विम्ब, प्रतीकको प्रयोग गरेर ‘लेक’ कवितामा तत्कालीन समयको चित्र प्रस्तुत गरेका देखिन्छन् । 

कतिपय कविहरूले हिमाललाई दुःख, नैराश्यताको प्रतीकका रूपमा लिएका पाइन्छन् । अर्का सशक्त गद्य कवि वासु शशी हिमाललाई हिउँको सौन्दर्यमा खुलेको देख्दैनन् । हिमाल देशवासीको पीडित अनुहारको प्रतिविम्ब भएको देख्दछन् शशी; 

“यो देशमा अहिले दुई वटा हिमालय छन्

एउटा हिउँको हिमालय,

अर्को, मानवीय दुःख–दरिद्रताको हिमालय

पहिलो हिमालय यो देशवासीहरूलाई

विधवाको सेतो कपडा र फुलेको कपालजस्तै लाग्छ,

किनभने यिनीहरू अहिले भोका र नाङ्गा छन्

दोस्रो हिमालय

यिनीहरूलाई खाइरहेछ...।” (पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ, २०७८, पृ. १०१)

‘देश अर्थात्... देश खोई ?’ शीर्षक कवितामा कवि शशी देशवासीको दुःख वेदनालाई आत्मसात् गर्दै नेतृत्व गर्नेहरूद्वारा नै देशको अस्मिता र अस्तित्वप्रति घात गरिरहेको देख्छन् । कवि शशीका लागि हिमालले शान्ति र आनन्द दिन सक्दैन । उनका लागि हिमाल देशवासीको गौरव र आस्थाको प्रतीक बन्न सकेको छैन । 

कवि वासु शशीले ‘हिमाल अग्लो हुँदैमा हामी महान् होइनाँै’ शीर्षक कवितामा पनि देशको पीडा व्यक्त गरेका छन् । 

यस्तै अग्रज कवि भूपिका कवितामा पनि ‘हिमाल’ कतै उपमा, कतै विम्ब र कतै प्रतीक बनेर प्रयोग भएको देखिन्छ । ‘हो–चि–मिन्हलाई चिठी’ कवितामा हिमाल उपमाको रूपमा देखिन्छ; 

“आशीर्वाद जस्तो सिरानीमा उभिएको

माछापुच्छ«े हिमालको छायाँमा उभिएर

म तिमीलाई सलामी दिन्छु 

तिमीलाई पनि एउटा नयाँ हिमाल मानेर ।” (घुम्ने मेचमाथि अन्धो मान्छे, २०४३, पृ. ७१)

आफ्नो आस्थाको धरोहर हो–चि–मिन्हलाई भौगोलिक रूपमा निकटमा उभिएको हिमालसँगै उभिएको देख्दछन् कवि । 

तुलनात्मक रूपमा हेर्ने हो भने पद्य कवितामा हिमाल बढी सौन्दर्यको प्रतीकका रूपमा प्रयोग गरिएको देखिन्छ भने गद्य कवितामा सौन्दर्यका साथै देशको राजनीतिक÷सामाजिक बिडम्बनाहरूको उचाइको प्रतीकका रूपमा प्रयोग हुँदै आएको जस्तो अनुभव हुन्छ ।

स्रष्टाका आआफ्नै अनुभूतिमा हिमालले प्रवेश पाएको हुन्छ । हिमाल कतै दुःखको पहाड भएर अग्लिएको हुन्छ । हिमाल सुखको चुली पनि बनेको हुन्छ । हिमाल राष्ट्रिय गौरव गाथाको प्रतीक पनि बनेको पाइन्छ । 

हिमाल हाम्रा आँखामा छ र हामी कवितामा हिमाल लेख्छाँै । एउटा नेपाली स्रष्टाले सहजतापूर्वक आफ्नै माटोमा उभिएर टाढाको समुद्रलाई सिर्जनामा बोलाउँदैन । समुद्र पनि सुन्दर त देखिन्छ तर त्यो हाम्रो हृदयमा लुकेर बसेको हुँदैन, ल्याएर राखियो भने मात्र त्यो रहने हो । हिमाल त नेपाली स्रष्टा–हृदयको कुनै न कुनै पत्रमा आफैँ बाँचेकै हुन्छ । हामी विदेशलाई पनि आफ्नो कवितामा अटाउँछौँ तर त्यसमा माटोको महक र ध्वनि हुँदैन । लेखेजति सबै कवितामा हिमाल देखिनै पर्छ भन्ने छैन । अदृश्य भएर पनि हिमाल बोल्छ । स्रष्टाका कुनै न कुनै कवितामा हिमालले चियाइरहेको हुन्छ । 

नेपाल बाहिर पनि हिमाल छ तर हामी आफ्नैलाई बढी माया गर्छौं । हिमाल पृथ्वीको एउटा हिमाच्छादित निष्प्राण पहाड मात्र होइन । हिमाल हाम्रो चेतना बन्यो, संस्कृति बन्यो । 

कवि, स्रष्टाहरूले यही सांस्कृतिक–आध्यात्मिक चैतन्य–दृष्टिलाई शब्दमा सिँगार्दै आएका हुन् । हिमालबारे जति लेखे पनि अझै उत्ति नै लेख्न बाँकी नै छ । लेखेर, देखेर कहिल्यै नअघाइने अन्त्यहीन सौन्दर्यधारा हो हिमाल । त्यसैलाई सर्जकहरूले पिउँदै आएका छन् । हिमाललाई आँखाले भन्दा बढी हृदयले छुनु पर्छ, अनि कवितामा हिमाल उठ्दछ । 

उपसंहारः अरू विधामा पनि हिमालयको सौन्दर्य र दिव्यताको वर्णन कमबेसी भएको पाइन्छ तर कविता काव्यमा जति अरू विधामा भएको पाइँदैन । हिमाली क्षेत्रमा पुगेका लेखकहरूले यात्रा संस्मरणहरू एवं यात्रा काव्यहरू पनि लेखेका पाइन्छन् । चित्रकलामा पनि हिमाल धेरै अभिव्यक्त भएको देखिन्छ । 

स्रष्टालाई हिमालले बोलाउँछ, डो-याउँछ अनि अनेकानेक रहस्यहरूतर्फ विचरण गराउँछ । तिनै रहस्यका पत्रहरूभित्र आदि स्रष्टाहरूले शिव–पार्वतीका क्रीडा देखे । त्यही प्रशान्तिमय सौन्दर्य र रहस्यबाट साहित्य, कला, संस्कृतिका जराहरू आर्यवर्तभरि फिँजिए । त्यही पृष्ठभूमिमा नेपाली भाषाको उत्पति र विस्तार हुँदै आयो, अनि कालान्तरमा कविता काव्यहरू लेखिन थाले । नेपाली भाषाका कवितामा हिमालले प्रदान गरेको सौन्दर्यानुभूतिलाई अभिव्यक्त गर्न थालिएको एक शताब्दीभन्दा बढी भइसकेको मान्न सकिन्छ । लेखिँदै छ कवितामा हिमाल, लेखिइरहनु पर्छ । बाँचिरहेको छ कवितामा हिमाल, बाँचिरहनु पर्छ ।