नेपाल संस्थापक सदस्य राष्ट्र भएका अन्तर्राष्ट्रिय मञ्चमा सीमित मात्र सङ्घसङ्गठनहरू छन् । यस्ता सङ्घसङ्गठनमध्ये पनि करिब ७० वर्षअघि बीजारोपण भएको र ६३ वर्षअघिदेखि क्रियाशील अभियान ‘असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम)’ विश्वमा संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा धेरै र प्रतिनिधिमूलक सदस्य राष्ट्र भएको विश्व संस्था बन्न सफल हुनु संस्थापकका हैसियतले नेपालका निम्ति गौरवको विषय हो । यतिबेला यसै गौरवपूर्ण अभियानको १९ औँ शिखर सम्मेलन पूर्वी अफ्रिकी भूपरिवेष्टित मुलुक युगान्डाको राजधानी कम्पालामा चलिरहेको छ । विश्वका १२० देशको सहभागिता रहेको सम्मेलनमा पर्यवेक्षकका रूपमा अन्य १८ मुलुक र संयुक्त राष्ट्रसङ्घसहितका १० वटा संस्थाले पर्यवेक्षकका रूपमा भाग लिएका छन् ।
असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र भएको हैसियतले नेपालले यसका शिखर बैठकलाई उच्च प्राथमिकता दिँदै आएको स्पष्ट हुन्छ । यस पटक दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरूका सीमित मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रह्यो । त्यस क्रममा नेपालका तर्फबाट भने सरकार प्रमुखको सहभागिता रहनुलाई कूटनीतिक क्षेत्रमा सकारात्मक मानिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शिखर सम्मेलनमा सहभागिता जनाउनुभएको छ । उहाँले सम्मेलनमा सम्बोधनका क्रममा विश्व शान्ति र साझा समृद्धिका महत्वपूर्ण मुद्दाहरू उठाउनु भएर विश्वका नेताहरूको ध्यानाकर्षण गराउन सफल हुनुभएको छ । खास गरी पछिल्लो समयमा विश्वमञ्चमा नेपालको गर्बिलो उपस्थिति अनुभव गराउनुका साथै उठाइएका मुद्दाले विश्वको ध्यानाकृष्ट गराउन सफल हुनुलाई राजनीतिक वृत्तमा सकारात्मक रूपमा अनुभव हुन्छ ।
प्रधानमन्त्री प्रचण्डले असंलग्न आन्दोलनको सिद्धान्त र उद्देश्य अनुरूपका साझा अवधारणामा केन्द्रित रहेर शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमिको सन्देशसहित विश्व शान्तिको कामना गर्नुभएको छ । उहाँले विश्वमा बढ्दो सैन्य खर्च र हातहतियारको होडबाजीप्रति चिन्ता प्रकट सबैको साझा चासो हो । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ मूल ध्येयका साथ सुरु भएको सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले आपसी सहयोग र सहकार्यबाट मात्रै सबैभन्दा उच्च कोटिको मानवता प्राप्त गर्न सकिने भन्दै असंलग्न आन्दोलनलाई यसको उद्देश्य अनुरूप मानव कल्याण अझै बलियो बनाउन आवश्यक भएको औँल्याउनु भएको छ । असंलग्न आन्दोलनको प्रारम्भ कुनै पनि शक्ति गुटमा नलागी तटस्थ रहेर आर्थिक विकास र विश्व शान्तिमा योगदान पु¥याउने उद्देश्यले भएको विदित छ ।
एक अर्काबिच अहस्तक्षेप, सार्वभौमसत्ताको सम्मान, अनाक्रमण, पारस्परिक सहयोग तथा शान्तिपूर्ण सहअस्तित्व (पञ्चशील) का मूलभूत सिद्धान्तमा आधारित असंलग्न आन्दोलन शान्तिकामी देशहरूको समूह भएकोले विश्वको सामूहिक समृद्धिका केन्द्रित हुन प्रचण्डले आह्वान गर्नुभएको छ ।
असंलग्न आन्दोलनले विश्वका धेरै देशको राजनीतिक स्वतन्त्रता र सार्वभौमसत्ता प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुहुँदै प्रचण्डले यो खालको गरिमा, ऐक्यबद्धता र सहयोगलाई अझ उचाइमा पु¥याउनु पर्नेमा जोड दिनुभयो । उहाँले कोरोना महामारीपछिको पुनरुत्थानप्रति विश्वले खेलेको
भूमिका प्रति असन्तुष्टि व्यक्त गर्नुहुँदै महामारीले सबैभन्दा कमजोर वर्गलाई प्रहार गरेकोले थुप्रै बहुआयामिक सङ्कट निम्त्याएको औँल्याउनु भयो । नेपाल जस्ता विशेष परिस्थितिमा रहेका देशलाई आफ्नो विकास दृष्टिकोण र लक्ष्य प्राप्तिमा वित्तीय सुरक्षामा सघाउन विश्वको वित्तीय संरचनालाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । धेरै सहयात्री ‘नाम’ का सदस्य मुलुकको दिगो विकासका लागि साधन र स्रोतको साझा उपयोगसहित दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्न आह्वान गर्नुभयो ।
वर्तमान विश्वमा ‘गेम चेन्जर’ का रूपमा देखा परेको ‘विज्ञान, प्रविधि र नवप्रवर्तन’ मा विकासशील र अल्पविकसित देशले सामना गरिरहेका कठिनाइलाई सम्बोधन गर्न ‘नाम’ ले उच्च प्राथमिकता दिनुका साथै संयुक्त राष्ट्रसङ्घको पुनर्संरचनामा महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक भएको समकालीन विश्वको आवाजसमेत हो । शान्ति र विकासका लागि सहकार्य आवश्यक भएको भन्दै विश्वमा केही देशबिच चलिरहेको युद्धप्रति प्रम प्रचण्डले चिन्ता प्रकट गर्नुभएको छ । सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्नु आह्वान गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा आफूले उठाएका मुद्दाको स्मरण गर्दै जलवायु परिवर्तनबाट परेको असरप्रति विश्वको पुनः ध्यानाकृष्ट गराउनुभएको छ । जलवायु परिवर्तनको विनाशकारी प्रभावबाट विश्वलाई जोगाउन यस क्षेत्रको पारिस्थितिक प्रणालीको संरक्षण गर्न ‘हाम्रो आह्वान, हिमालयको आह्वान’ लाई ‘नाम’ ले समर्थन गर्न आह्वान गर्नुलाई सहभागीद्वारा प्रशंसा गरिएको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने यस किसिमको उपस्थितिले सबल कूटनीतिमा थप बल पुग्ने छ भने सहकार्यबाटै विश्व मानव समुदायको साझा भविष्य सुरक्षित हुने मार्गचित्र अगाडि बढ्ने छ ।