• १२ साउन २०८१, शनिबार

सामुदायिक विद्यालयका विद्यार्थीको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

blog

चापाकोट नगरपालिकाको १४ औँ नगर सभा । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, माघ १ गते ।
 स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।

पालिकाको १४ औँ नगर सभाले पालिका भित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने प्रस्ताव अनुमोदन गरेको हो । सभाले यससम्बन्धी कार्यविधि तयार गर्ने र वडा कार्यालयको सिफारिसमा निःशुल्क स्वास्थ्य बिमा गर्ने गरी निर्णय गरेको नगरप्रमुख देव बहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीलाई आकर्षण बढाउन निःशुल्क स्वास्थ्य बिमाको अवधारणा अघि बढाएको प्रमुख खाँणको भनाइ छ ।

नगरपालिकाभित्र रहेका १६ माविसहित ४५ वटै सामुदायिक विद्यालयमा यस्तो नीति लागू गरिने पालिकाले जनाएको छ । जसबाट विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार बालबालिकाका परिवारका सदस्यहरूलाई फाइदा पुग्ने छ ।

पालिकाले सामुदायिक विद्यालयका सबै विद्यार्थी र तिनका परिवारका लागि स्वास्थ्य बिमा निःशुल्क गर्ने योजना बनाएको थियो । नगर सभामा भएको छलफलका आधारमा तत्कालका लागि निश्चित समूहका विद्यार्थीका परिवारका लागि यो व्यवस्था गर्न लागिएको पालिकाले जनाएको छ ।