• २३ वैशाख २०८१, आइतबार

जलविद्युत्को सेयर लगानीकर्ताको आकर्षण

blog

काठमाडौँ, माघ १ गते । जलविद्युत्मा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ । सुधारलाई निरन्तरता दिएको सेयर बजारमा साताको पहिलो दिन लगानीकर्ता जलविद्युत्को सेयरमा झुम्मिएका हुन् । आइतबार जलविद्युत् उपसमूहको उपसूचक सर्वाधिक ४.५८ प्रतिशतले उकालो लागेको छ । 

पहिलो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल तथा पर्यटन र व्यापारबाहेक बाँकी ११ उपसमूहको उपसूचक उकालो लागेको छ । जलविद्युत् उपसमूहको उपसूचक सर्वाधिक ४.५८ प्रतिशतले उकालो लागेको पहिलो दिन अन्य २.७७ प्रतिशत, लघुवित्त १.९६ प्रतिशत, वित्त १.५५ प्रतिशतले उकालो लागेको छ । यता होटल तथा पर्यटन ०.०१ प्रतिशत र व्यापार ०.९४ प्रतिशतले ओरालो लागेको छ ।

पुस मसान्तको दबाब कम हुँदै गएपछि र बैङ्कहरूले माघ महिनाका लागि पनि ब्याजदर घटाउँदा सेयर बजारले सुधारकै व्रmमलाई निरन्तरता दिएको छ । पुस महिनाकै अन्तिम दिनको कारोबारमा परिसूचक ३२ अङ्कले उकालो लागेको छ भने कारोबार रकम पनि साढे पाँच अर्ब नजिक पुगेको छ ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक ३१.६२ अङ्कले उकालो लागेर २१२०.६२ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अङ्कले उकालो लागेर ३८८.१७ को बिन्दुमा पुगेर रोकिएको छ । 

समग्रमा साताको पहिलो दिनको नेप्से १.५१ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.०४ प्रतिशतले उकालो लागेको छ । लगातार उकालो लागिरहेको बजार अघिल्लो साताको अन्तिम दिन भने झिनो अङ्कले ओरालो लागेको थियो ।