• १३ साउन २०८१, आइतबार

पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री आउनुहुँदै

blog

पर्यटन प्रवर्द्धन कार्यक्रमको पूर्वसन्ध्यामा आज निकालिएको प्रभावतफेरी । तस्बिर : राधा नेपाली

राधा नेपाली 

सन्धिखर्क, पुस २९ गते । माघे सङ्क्रान्तिको अवसरमा यहाँ आयोजना हुन गइरहेको पर्यटन  प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने हुनुभएको छ । 

पर्यटन प्रवर्धन कार्यक्रम २०८० को पूर्वसन्ध्यामा प्रभातफेरी र मोटरसाइकल र्‍याली निकालिएको छ । आइतबार दिउँसो मोटरसाइकल र्‍याली आयोजना गरी सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । 

उद्घाटन कार्यक्रम तयारीको अन्तिम चरणमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटनको सम्भावनालाई अवसरमा बदल्न पर्यटन कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डले सोमबार अर्घाखाँचीको टुँडिखेलबाट पर्यटन प्रवर्धन कार्यक्रम २०८० को उद्घाटन गर्नुहुनेछ ।’ 

पर्यटनको विकासविना आर्थिक समृद्धि अधुरो हुने चर्चा गर्दै राज्यमन्त्री ठकुरीले भन्नुभयो, “अर्घाखाँची पर्यटनको प्रचुर सम्भावनालाई गुरुयोजना बनाएर समृद्ध जिल्ला बनाउने गरी पर्यटन प्रवर्धन कार्यक्रम गर्न लागिएको हो । कृषि, पर्यटन, शिक्षा र विकासका सबै क्षेत्रमा उदाहरणीय काम गर्नु छ, यसमा सबै राजनीतिक दलहरू लागेका छन् ।”

मन्त्री ठकुरीका अनुसार सोमबार उद्घाटन भएपछि पर्यटन प्रवर्द्धनसम्बन्धी अभियान र कार्यक्रम सञ्चालन हुनेछ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीको आयोजनामा आर्थिक विकास र स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्धन कार्यक्रम गर्न लागिएको छ । कार्यक्रमको तयारी पूरा भएको महासङ्घका अध्यक्ष अशोक खनालले जानकारी दिनुभयो । 

कार्यक्रम अन्तर्गत पर्यटनसम्बन्धी अध्ययन अनुसन्धान गर्ने, जिल्लास्तरीय पर्यटन प्रचारप्रसार समिति निर्माण गर्ने, जिल्लाका करिब ७० जना पत्रकारलाई पर्यटनसम्बन्धी तालिम प्रदान गरिने भएको छ । जिल्लाका पर्यटकीय गन्तव्यको वृत्तचित्र निर्माण गरिने भएको छ ।